MENU

राजनीति

ujyaalo forign call inside

​कहाँ अड्कियो वाम एकताको हलो ?

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, पुस २१ – सबैलाई चकित पार्दै ‘पार्टी एकता गर्नेगरी’ चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रबिच चुनाव लगत्तै खटपट सुरु भएको छ ।

चुनाव सकिएको लामो समय हुँदा पनि एकता हुन त परको कुरा एकताको खाकाबारे छलफल समेत हुन नसक्नुे यो पुष्टि गरेको छ । दुवै दलका नेता एकतालाई कसैले रोक्न नसक्ने खालका अभिव्यक्ति मै सिमित छन् । शीर्षस्थ नेताबीचको छलफल सामान्य मात्र भइरहेको छ भने एकताको खाका बनाउनुपर्ने दोश्रो तहका नेताहरुपनि खाकाको काममा ध्यान दिन आवश्यक ठानिरहेका छैनन् ।  

बरु उनीहरुबीचका फरक अभिव्यक्तिले आम कार्यकर्तामा एकता होला त भन्ने आशंका जन्माएको छ । चुनाव लगत्तै पार्टी एकता गर्ने बताएका यी दुई दलका बीचमा पार्टी एकता समन्वय समितिको बैठक एकपटक पनि बस्न सकेको छैन् ।

दुई पार्टीका अध्यक्षको बीचमा धेरैपटक भेटघाट र पार्टी एकताको विषयमा छलफल भए पनि एकता समन्वय समितिको बैठक एक पटक पनि बस्न नसक्दा अन्यौल बढेको हो । सामाजिक संजालमा दुवै दलका शुभेच्छुकले पार्टी एकताबाट पछि नहटन खबरदारी गरिरहेका छन् ।

नेता भन्छन् विवाद छैन

चुनावमा बहुमत ल्याएको वाम गठबन्धनका शीर्ष नेताले मिलेर सरकार बनाउन र पार्टी एकता गर्न समस्या छैन भन्ने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा नै पटक–पटक अबको सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने र कांग्रेसको समर्थनमा आफू यसपटक प्रधानमन्त्री नबन्ने बताउने गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएका छलफलमा पनि पार्टी एकताबाट पछाडि नहटने र थप छलफल अघि बढाउने सहमति भएको छ । नेकपा एमाले तथा माओवादीका अन्य शीर्ष नेता पनि पार्टी एकतामा एकमत देखिएका छन् ।

एमाले नेता माधवकुमार नेपालले सार्वजनिक रुपमा नै पार्टी एकता गर्दा माओवादीले गरेको संघर्षलाई भल्न नहुने बताउनुभएको छ । यसबाट एकताका लागि माओवादीलाई सम्मानजनक स्थान दिन एमाले तयार रहेको झल्को मिल्छ । भलै, एमालेको डाडुपन्यू नेता नेपालको नभई अध्यक्ष ओलीको हातमा धेरै छ । 

नेकपा एमालेका नेता प्रदिप ज्ञवाली भन्नुहुन्छ, ‘पार्टी एकतामा कुनै विवाद छैन, निर्विवाद पार्टी एकताको कुरा अगाडि बढिरहेको छ । पार्टी एकता हुन नदिन विभिन्न पक्षबाट षड्यन्त्र भइरहेका छन्, यस्ता कुराले पार्टी एकतामा कुनै असर गर्दैन । एमाले पार्टी एकताको विषयमा स्पष्ट छ ।’

माओवादी नेता दिनानाथ शर्माका अनुसार माओवादीमा पनि पार्टी एकताको विषयमा कुनै विवाद छैन् । उहाँ भन्नुहुन्छ, ‘पार्टी एकता अब छिट्टै टुंगिन्छ, दुई दलका बीचमा भएको ६ बुँदे सहमति अनुसार नै एकता हुन्छ ।’ माओवादी बैठकले पनि पार्टी एकताको कुरामा एमालेसँग बृहत छलफल गरेर पार्टी एकता छिट्टै टुंग्याउने र यसमा जिम्मेवार हुन एमाले अध्यक्ष ओलीलाई समेत आग्रह गरेको छ । 

ढिलाईको कारण 

चुनावको समयमा बृहत छलफल नगरी एकता गर्ने गरीको चुनावी गठबन्धन घोषणा गरेका माओवादी र एमाले बीचको एकता सजिलो छैन । पार्टीभित्रका गुट र फरक मत, दोश्रो तहका नेताको समायोजन, भागबण्डा र नेतृत्वको विषय एकताका मुख्य र पेचिला मुद्दा हुन् । यीनै कारणबाट पार्टी एकतामा ढिलाइ भइरहेको हो । खासगरी माओवादी केन्द्र र उसका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली भएपछि पार्टीको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ ।

उसो त पार्टी र सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माओवादीका अध्यक्ष प्रचण्डले बताइसक्नुभएको छ । तर एमाले त्यसो गरिहाल्न तयार देखिंदैन । महासचिव इश्वर पोखरेलले भने अनुसार सरकार र पार्टीको नेतृत्व एकैजनाले गर्नुपर्ने उसको अडान छ । सरकार गठन गर्न केही दिन लाग्ने देखिएसँगै यो समयलाई पार्टी एकताको खाका बनाउनुपर्ने भएपनि दुवै दलले त्यसो गर्न सकिरहेका छैनन् । 

एमाले नेता प्रदीप ज्ञवाली पार्टी एकतामा ढिलाइ भएको मान्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘दुई ठूला पार्टी एक हुने सामान्य कुरा होइन, दुवै पार्टीको तर्फबाट एकताका लागि अभ्यास भइरहेको छ । चुनावको व्यस्तताका कारण पार्टी एकताका विषयमा गहन छलफल नभएका कारण तत्कालै एकताको घोषणा नभएको हो । अहिले पार्टी एकता सहि दिशामा अगाडी बढीरहेको छ । समानुपातिकतर्फको मतगणनाका कारण केही सुस्त देखिएको छलफल अब व्यापक हुन्छ र पार्टी एकता छिट्टै हुन्छ ।’ एमालेमा पदीय जिम्मेवारीको कुनै विवाद नभएको उहाँले दाबी पार्नुभयो । 

माओवादी केन्द्रमा भने पार्टी एकताको बिषयमा केही विवाद देखिएको छ । पार्टीका केही नेताले एकता प्रकृयामा असहमति जनाउँदै पार्टी नै छाडेका छन् । माओवादीका केही नेता एकतापछि माओवादीले लिएको सिद्धान्त नै सकिने हो कि भन्नेमा आशंका जनाइरहेका छन् । माओवादीले एमालेबाट सम्मानजनक रुपमा पदीय जिम्मेवारीसहित आफ्नो पार्टीले लिएको माओवादको सिद्धान्तमा एमालेले सहमति जनाउनुपर्ने बताएको छ ।

एकताको सवालमा माओवादी स्पष्ट छ, तर एकतापछि पार्टीमा सम्मानजनक पदीय जिम्मेवारी र कार्यकर्ताको उपयुक्त व्यवस्थापनमा सहमति आवश्यक हुन्छ, यसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको मुख्य भूमिका हुन्छ । –दिनानाथ शर्मा, माओवादी नेता

एमाले नेता ज्ञवालीले माओवादीलाई सम्मानजनक स्थान दिने विषयमा एमाले जहिले पनि लचिलो हुने बताउनुहुन्छ । चुनावमा पनि माओवादीसँग सम्मानजनक सिट बाँडफाड गरेकै हो । एकताको विषयमा पनि एमाले हदैसम्म लचिलो हुने उहाँले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया