MENU

मनोरञ्जन

ujyaalo forign call inside

​जब टुहुरेले गाए ‘आमा दिदीबहिनी हो’

काठमाडौं, पुस २१ –जनसांस्कृतिक महासंघको सभाकक्षमा जनवादी गायक जेबी टुहुरेले एकदेव ज्ञवालीको पुरानो ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीत गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाए । 

जनसंगीत मञ्च नेपालले आयोजना गरेको ‘आरोह जनसंगीत यात्रा–२५’मा टुहुरेको एकल गान कार्यक्रममा स्रोेताले पनि गीतमा स्वर मिलाउँदै गाए । करिब १० वटा गीत गाउनुभएका टुहुरेले उक्त गीत अन्तिममा गाउँदा स्रोता झन् उत्साहित हुँदै थिए । पिछडिएका महिलालाई उठाउन गाइएको गीत गाउने क्रममा उहाँले पहिले चुलोचौका गर्ने महिलाहरु अहिले राज्यको प्रमुख स्थानमा पुगेकामा खुशी व्यक्त गर्नु भयो । ‘पहिला उक्त गीत आमा, दिदी बहिनीको वेदना देखेर गाए पनि अहिले भने परिवर्तन आएको छ’, उहाँले भन्नुभयो, ‘अहिले हाम्रा आमा, दिदीबहिनी राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बन्नुभयो ।’ 

कार्यक्रममा मदन भण्डारीको निधन, विदेशमा श्रम गर्दाका समस्या, बसाइँ सर्नेको व्यथा, राष्ट्रिय एकता, छुवाछुतविरुद्ध, गाउँमा उकालीओराली गर्दाको दुःख २०४५ माघ १ मा पञ्चायतले पिस्करमा गरेको दमनजस्ता विषयका १० गीत गाउनुभएको थियो । 

‘साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ, साना साना खोलाखोली मिली ठूलो नदी बन्छ, सागर बन्छ’, ‘पानी चल्दैन रे तर रगत चल्दछ, कहिलेसम्म यस्तो ढोंगी जगत् चल्दछ’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार ’ जस्ता बोलका गीत गाउँदा ७३ वर्षीय टुहुुरेमा तीसको दशककै जस्तो जोश थियो । 

उहाँलाई गायनमा माधव प्रधान, डम्बर पहाडी, आकाश गोर्खाली, भागीरथ सुस्लिङ र वेदनिधि नेपालले संगीतमा साथ दिनुभएको थियो । कार्यक्रममा नेकपा –एमाले०बाट काठमाडाैं क्षेत्र नम्बर ३ मा नवनिर्वाचित कृष्ण राईले मदन भण्डारीलाई आफूहरुको सांस्कृतिक अभियानले नै शुरुमा प्रस्तुत गरेको जानकारी दिनुभयो । 

नेकपा एमाले संस्कृति विभाग प्रमुख तथा महासंघका अध्यक्ष खगेन्द्र राईले जनसंगीत यात्रामा नयाँ पुराना दुवै प्रतिभालाई स्थान दिइने बताउनुभयो । महासंघका महासचिव प्रेमनाथ अधिकारीले टुहुरेका गीतले वास्तविक समाजको चित्रण गर्ने बताउनुभयो । मञ्चले हरेक महिनामा एक जनवादी गायकलाई एकल प्रस्तुति गर्ने अवसर दिँदै आएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया