MENU

विचार/अनुभूति

ujyaalo forign call inside

दिल्लीमा मधेसीले लगाएका गुन धोबिघाटमा उभिएर तिर्न पाउँदा

मिलन तिमिल्सिना -

चुनावलगत्तै भारतको हैदरावाद जाने अवसर आयो । काठमाडौंबाट नयाँदिल्लीसम्म एउटा जहाजमा र त्यहाँबाट फेरि अर्को जहाजमा हैदरावाद पुग्नुपर्ने । साथमा अफिसकै साथी विकास थिए । दुवैजनालाई राम्रो अंग्रेजी र हिन्दी भाषा नआउने । विकास मेरो भरमा, म उनको भरमा निस्केका थियौं । 

काठमाडौंबाट जहाज चढ्नेबेला लागेको थियो, दिल्ली विमानस्थलमा ओर्लेपछि सरासर अर्को जहाज चढ्ने ठाउँतिर पुग्न पाइन्छ । तर सोचेजस्तो होइन रैछ । 

यताबाट चढेको जहाजले केही ढिलो गरेर दिल्ली पुर्‍यायो । त्यहाँ पुगेको ४५ मिनेटमा अर्को जहाजमा पुगिसक्नुपर्ने । विमानस्थलबाट बाहिरिने बेला अध्यागमनमा जाँच गर्नुपर्छ भन्ने त थाहा थियो । तर विमानस्थलबाट ओर्लेर भित्रैबाट अर्को जहाज चढ्दा अध्यागमन जाँच गर्नुपर्छ भन्ने लागेको थिएन । 

सोध्दैखोज्दै जाँदा अध्यागमन जाँच गर्नुपर्छ भन्ने थाहा भयो । यति थाहा पाउँदा १५ मिनेट बितिसकेको थियो । बल्लतल्ल अध्यागमन जाँच गर्ने ठाउँमा पुगियो । त्यहाँ यति धेरै लाइन थियो कि, लाइनमा उभिँदा एकघण्टामा पनि पालो आउँदैनथियो । अब के गर्ने भनेर चिटचिट पसिना आउन थाल्यो । नजिकै रहेका विमानस्थलका कर्मचारीलाई हाम्रो जहाज छुट्ने भयो, छिटो जाँच गर्न पाए हुन्थ्यो भनेर अनुरोध गर्‍यौं । तर उनले वास्ता गरेनन् । 

लाइनमा नबसी सुख पाइएन । लाइनमा उभिँदै घडी हेर्दै गर्दा काठमाडौंबाट जहाजमा सँगै आएका एकजना भलाद्मी आइपुगे । झट्ट हेर्दा उनी भारतीय जस्ता देखिन्थे । तर जहाज चढ्ने बेला मैले उनको हातमा नेपाली नागरिकता देखेको थिएँ । नागरिकतामा सिरहा भनेर लेखिएको थियो । जहाजमै मेलै उनलाई तपाईंको घर सिरहा हो भनेर सोध्दा उनले मुसुक्क हाँसेर मुन्टो हल्लाएका थिए । 

जहाजमा भएको त्यही सोधीखोजीले उनीसँग आफूहरुको समस्या सुनाउन बल पुग्यो । उनले हाम्रो टिकट हेरे । लौ लाइनमा बस्दा त तपाईंहरुको जहाज छुट्छ, अध्यागमनका कर्मचारीलाई भनेर छिटो गर्नुहोस् भने । तर हामीले भनेको सुन्दैनन्, त्यसमाथि हामीलाई हिन्दी पनि राम्रोसँग आउँदैन, तपाईंले एकपटक भनिदिनुहोस्  न भनेर अनुरोध गर्‍यौं । उनी पनि कतै जान हतारमा थिए । तर हतार भए पनि हामीलाई सहयोग गर्न तयार भए । उनी हामीलाई लिएर अध्यागमनको कर्मचारी भएको ठाउँमा पुगे । हाम्रो समस्याबारे हिन्दीमा बातचित गरे । 

अघिसम्म हाम्रो समस्यालाई वास्ता नगरेका ती कर्मचारी उनको कुराबाट प्रभावित भए । शायद ती कर्मचारीलाई लागेको थियो, उनी भारतीय हुन् । जसले समस्यामा परेको कुनै विदेशीलाई सहयोगको याचना गर्दैछन् । 

जे होस् भारतीयजस्ता देखिने सिरहाका नेपाली साथीको सहयोगमा हामीले लाइनमै नबसी अध्यागमनको काम सक्यौं । उनलाई धन्यवाद दिएर हतारहतार जहाज भएको ठाउँतिर हिँड्यौं । जहाजको सिटमा बसेपछि लामो सास फेर्‍यौं । हैदरावाद पुगेर काठमाडौं फर्किंदासम्म दिल्लीमा गुन लगाउने ती मधेसी मित्रको अनुहार झलझली याद आइरह्यो । हतारमा भएकाले उनको फोन नम्बर पनि टिपिएन । उनले लगाएको त्यो गुन कसरी तिर्ने होला भन्ने लागिरह्यो ।

हैदरावादबाट फर्किएको एक हप्तापछि दिल्लीमा मधेसी मित्रले आफूलाई गरेको जस्तै सहयोग एकजना मधेसी भाइलाई गर्ने अवसर जुर्‍यो । अफिसको काम सकेर घर फर्किंदै थिएँ । धोबिघाटमा उभिएर कीर्तिपुर जाने बस पर्खिंदै गर्दा एकजना भाइ नजिकै आएर सोधे –दाइ यहाँबाट बयलबास जाने बस कहाँ पाइन्छ ? काठमाडौंमा नौलो ठाउँको नाम सुनेर म एकछिनमा अलमलमा परें ।

बयलबास भनेको कहाँ हो र भाइ ? भनेर सोध्दा उनले एकछिन अकमकिएर सर्लाही भने । सोधीखोजी गर्दा थाहा भो, उनी काठमाडौं घुम्न भनेर अघिल्लो दिन नाइट बस चढेर बिहान काठमाडौं आइपुगेका रहेछन् । बिहानै कोटेश्वरमा ओर्लेछन् । एकछिन वरपर घुमेछन् । एउटा सस्तो होटल खोजेर भात खाएछन् । भात खाएपछि उनलाई काठमाडौं घुम्ने रहर पूरा भएछ । त्यसपछि घर जान भनेर निस्केछन् । कलंकीबाट घर जाने बस पाइन्छ भन्ने सुनेर कोटेश्वरबाट लोकल बस चढेछन् । धोबिघाट पुगेपछि बसवालाले कलंकी यही भनेर ओरालेछन् । 

सबै कुरा थाहा पाएपछि उनलाई एक्लै कलंकी पठाउन मन मानेन । ल हिँड म तिमीलाई गाडी चढाइदिन्छु भनेर बल्खुसम्म लिएर गएँ । बाटोमा घर परिवारबारे सोधीखोजी गरें । घरमा बाआमा र भाइ रहेछन् । काठमाडौं घुम्न जान्छु भन्दा सुरुमा आमाले हुन्न भन्नुभएछ । तर उनले कर गरेपछि पठाउनुभएछ । घरमा सम्पर्क गर्ने फोन पनि रहेनछ । 

बल्खु पुगेपछि बयलबास जाने सुमोमा उनलाई चढाइदिएँ । जानेबेला हात हल्लाउँदै उनले भने–दाइ काठमाडौं हेर्ने रहर पूरा भयो, अब एक्लै कहिल्यै आउँदिन । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया