MENU

साहित्य/ कला

ujyaalo forign call inside

अग्लो बौद्धिक उचाइ

पुस्तक अंश

चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने धरान र इटहरीमा देखिइरहने व्यक्ति हुन् । उनी शारीरिक रूपमा अधिकतर मान्छेभन्दा होचा छन् । तर, उनको बौद्धिक उचाइ उनको शारीरभन्दा हजारौँ गुणा माथि छ । उनको बौद्धिक उचाइका सामु धेरै विद्वानहरू होचा–पुड्का लाग्छन् । 

उनको ‘लु राम्रो’ भन्ने थेगो छ । कुनै कार्यक्रम, कलेज र अन्य ठाउँमा गफिँदा उनी ‘लु राम्रो’ भनिरहन्छन् । कतिले यसलाई हाँसोको विषय बनाउन सक्छन् तर सकारात्मक सोच राख्नेहरू यो ‘लु राम्रो’ थेगोबाट पनि उर्जा पाइरहेका छन् । उनको जीवन भोगाइ हरेक दृष्टिले एउटा विश्वविद्यालय सरह छ ।

कष्टपूर्ण विगतबाट सम्मानित उचाइमा पुगेका टङ्क न्यौपाने धनकुटाको चुङ्माङमा विक्रम संवत् २००५ सालमा बुबा हरिप्रसाद र आमा हर्कमाया न्यौपानेका सन्तानका रूपमा जन्मिएका हुन् । जन्मिदै उनी गरिबीको जालोभित्र जेलिएका थिए । खेतीबारी धेरै थिएन । आफ्नो बारीमा उब्जेको अन्नपातले वर्षभरि खान पुग्दैनथ्यो । बुवा हरिप्रसाद धरानबाट भारी बोकेर पनि केही पैसा कमाउँथे । त्यही पैसा र आफ्नो बारीमा उब्जेको अन्नले परिवार चल्थ्यो । गरिबीका बिच पनि परिवारमा खुसियाली नै थियो । तर, यो खुसी धेरै दिन रहेन । टङ्क एक वर्षको नहँुदै आमाको निधन भयो । दुधको तिर्सनाले बालक टङ्क रोएपछि मावलपट्टिकी छिमेकी हजुरआमा मायादेवी दाहालले आफ्नो छोरा सूर्यको भाग कटाएर दुध चुसाइन् । 

आमाको न्यानो काख र माया सानैमा गुमाएका टङ्कले बुबाको हात दह्रोसँग समाएर उभिने मौका पनि पाएनन् । बुवा हरिप्रसाद टाइफाइडले थलिए । केही समयपछि जाती त भए तर शरीर लुलो भयो, खुट्टा राम्ररी नचल्ने भए । लौरोको सहाराले हिँडडुल गर्नुपर्ने भयो । सानो गाउँमा मागेर जीविका चलाउन पनि गाह्रो भयो । उनी कहिले जेठा दाजु कहिले कान्छा भाइको शरणमा पुगे । यसरी पनि कतिन्जेल चल्नु ? गाउँमा गुजारा हुने नदेखेपछि तीन वर्षका टङ्कलाई लिएर उनी धरान झरे ।

धरान आएर गाँउकै जमिनदार पुष्पलाल घिमिरेको शरण परे । घिमिरेले बस्ने ठाँउ दिए । त्यसपछि हरिप्रसाद लौरोको सहारामा घर–घर पुगेर वेदका श्लोकहरू सुनाउन थाले । श्लोक सुन्नेमध्ये केहीले दिएको अन्न र कपडाले जीविका चल्न थाल्यो । यो क्रम पनि धेरै समय चल्न पाएन । हरिप्रसाद लौरोको सहारामा पनि हिँडडुल गर्न सक्न छाडे । हिँडडुल गर्न नसक्ने हरिप्रसादको हेरचाह र स्याहार–सुसार गर्ने कोही भएनन् । खाने–लाउने केही टुङ्गो नभएपछि मन्दिरमा गएर सहारा लिनेबाहेक अरू विकल्प भएन । उनी पिण्डेश्वर मन्दिर परिसरमा बस्न थाले । त्यहाँ योगी र अपाङ्गलाई खान दिने चलन थियो । उनी त्यहीँ बस्न थाले । त्यतिबेला टङ्क छ वर्षका थिए । उनको पढ्ने–लेख्ने बेला थियो तर उनको बारेमा कसले सोचिदिने ? बेसहारा बनेका टङ्क त्यही मन्दिर परिसरमा खेल्ने, कसैले केही दिए खाने नत्र त्यही मन्दिरको बसाहामा चढाएको चामल टिपेर खाने गर्थे । न्यौपानेको त्यो कन्तबिजोग देख्नेहरू त्यतिबेला भक्कानिए पनि होलान् । कतिले उनको भाग्यलाई दोष दिए होलान् । कतिले उनलाई गाली पनि गरे होलान् । तर, उनीे त्यतिबेला सबै कुरा बुझ्ने भएका थिएनन् । 

पिण्डेश्वर मन्दिर नजिकै संस्कृत विद्यालय थियो । अहिले पनि छ । त्यसबेला त्यहाँ पढ्नेलाई खाने–बस्ने व्यवस्था हुन्थ्यो । तर, कोटामा छानिएकाले मात्रै त्यो सुविधा पाउँथे । न्यौपानेलाई कसले कोटामा पारिदेओस् ? उनलाई त्यो सुविधा थिएन । उनी त्यही विद्यालयमा पढ्न भने जान्थे । दिउँसो स्कुल जानु, बिहान–बेलुका मन्दिरतिरै बस्नु, त्यहीँ चढाएको खानु, बुबा नजिकै गएर रात काट्नु उनको दिनचर्या हुन थाल्यो । त्यसो गर्दागर्दै भुइँको धूलोमा औँलाले अक्षर लेख्न सिके । केही समय यो क्रम चलेपछि उनले पनि विद्यालयमै खाने–बस्ने सुविधासहित पढ्न पाउने भए । अब भने उनले पेट भर्नका लागि मन्दिरमा चढाएको चामल टिपेर खानु परेन । 

त्यतिबेला विद्यालयमा किताबको व्यवस्था विभिन्न दाताको सहयोगमा हुन्थ्यो । उनले तिनै किताब पढ्ने अवसर पाए । अन्ततः न्यौपानेले त्यही पिण्डेश्वरबाट प्रथम श्रेणीमा स्नातक पूरा गरे । त्यसपछि उनी एमए पढ्न कीर्तिपुर गए । त्यहाँ उनले एक सय रुपियाँ छात्रवृत्ति पाएका थिए । यसले गर्दा उनलाई एमए पढ्न कुनै आर्थिक समस्या भएन । 
त्यतिबेला एमए पढ्नेको सङ्ख्या थोरै हुन्थ्यो । जताततै अवसर हुन्थे । कीर्तिपुरमा एमए पढ्दा–पढ्दै उनलाई धरानको बालिका स्कुलमा पढाउने अवसर मिल्यो । उनी काठमाडौँबाट धरान आए । उनी पढ्दै–पढाउँदै गर्न थाले । कहालीलाग्दो विगतबाट उठेका न्यौपाने राम्रै कमाइ गर्ने भए ।

त्यतिबेला शाखा अधिकृतको तलब मासिक दुई सय पचास रुपियाँ थियो । न्यौपाने पनि बालिका स्कुलबाट शाखा अधिकृत सरह दुई सय पचास रुपियाँ नै कमाउँथे । पढाइ राम्रै चलिरहेको, कमाइ पनि राम्रै भएको, उत्साहपूर्ण समय थियो त्यसबेला । एमए पास गरेर, धरानमा घर बनाएर विवाह गर्ने सोच थियो । त्यही उत्साहपूर्ण समयमा पण्डित छविलाल पोख्रेलकी नातिनीसँग उनको विवाह हुने भयो । सोचाइअनुसार धरानमा आफ्नो घर थिएन । डेरामा बेहुली भित्र्याउने ठाउँ थिएन । तर, पनि उनले विवाह गरे । विजयपुरका दुर्गाप्रसादको घरमा बेहुली भित्र्याए ।

न्यौपाने पिण्डेश्वरमा पढ्दैदेखि काङ्ग्रेसको राजनीतिमा लागेका थिए । विवाह भएकै वर्ष बिपि कोइरालाले बनारसबाट सशस्त्र सङ्घर्षको आह्वान गरे । केदारनाथ श्रेष्ठ त्यही खबर लिएर धरान आए । न्यौपाने पनि सशस्त्र सङ्घर्षको वातावरण बनाउने अभियानमा जुटे । न्यौपाने र राजेश्वर आचार्यले पर्चा लेख्ने जिम्मेवारी लिए । दुई जनाले छुट्टाछुट्टै पर्चा बनाए । दुवैको पर्चा लिएर हरिहर दाहाल फारबिसगन्ज गए । न्यौपानेको पर्चा छानियो । छापेर ल्याएपछि हरिहर दाहाल, विश्वराज भण्डारीलगायतले धरानको सिनेमा हलबाहिर पर्चा छरे ।

पर्चा छरेलगत्तै उनीहरू पक्राउ परे । उनीहरू पक्राउ परेको थाहा पाएपछि आफू पनि पक्राउ परिने डरले न्यौपाने लुके । १५ दिन जति लुकेर बस्दा पनि कसैले खोजी गरे जस्तो लागेन । कसैले खोजी नगरेको निश्चित भएपछि उनी विद्यालय गए । विद्यालय गएकै दिन एक जना शिक्षकले धेरै दिन हराउनु भो, कता जानु भएको थियो भन्दै चिया खान लगे । चिया खान गएकै बेला न्यौपानेलाई प्रहरीले समातिहाल्यो । उनी बस्ने कोठामा खानतलासी भयोे । कोठामा बिपिको फोटो, ‘श्री ५ महेन्द्रका एक सय आठ अपराधहरू’ भन्ने भरत शमशेरले लेखेको किताब र तरुण पत्रिका भेटियो । त्यतिबेलाको समयमा यति प्रमाण नै उनलाई कारबाही गर्न प्रहरीलाई पर्याप्त भयो । न्यौपाने हिरासतमा परे । पहिल्यै पक्राउ परेका हरिहर दाहाल र विश्वराज भण्डारीले पर्चा न्यौपानेले लेखेको भनेर यसअघि नै पोलिसकेका रहेछन् । अञ्चलाधीशले न्यौपानेलाई दुई वर्ष कैद र दुई हजार रुपियाँ जरिवानाको फैसला गरिदिए । 

बिहे गरेकै वर्ष न्यौपाने जेल परेपछि न्यौपानेकी श्रीमती माइत बस्न थालिन् । न्यौपाने जेलमै बसेर पढ्न थाले । जेलभित्र रहेका काङ्ग्रेसका नेताहरूसँग सम्बन्ध पनि बढाउन थाले । त्यतिबेला उनी एमए पहिलो वर्ष पास भइसकेका थिए । तर, दोस्रो वर्षको फारम भर्न उनीसँग पैसा भएन । श्रीमती जेलमा भेट्न आएका बेला न्यौपानेले विवाहमा लगाएको सुनको औँठी बेचेर पैसा ल्याउन लगाए । त्यही रकमले फारम भरे । जेलमै बसेर पढिरहेका बेला उनलाई काठमाडौँको मुख्य कारागारमा सारियो । मुख्य कारागारमा कृष्णप्रसाद भट्टराई, रामराजाप्रसाद सिंहलगायत नेता थिए । उनीहरूसँग सङ्गत बढाउँदै, पढ्दै न्यौपानेले जेलबाटै एमए दोस्रो वर्षको परीक्षा दिए । जेलमा हुँदा उनी कविता पनि लेख्थे । उनी हरेक दिन नयाँ–नयाँ कविता लेखेर कृष्णप्रसाद भट्टराईलाई सुनाउँथे । यही क्रमले उनले दुई वर्षको जेल सजाय काटे ।

दुई वर्ष जेल सजाय भुक्तान गरेपछि उनी पुनः धरान आए । पहिले पढाइरहेको विद्यालयले उनलाई जेल बसेको दुई वर्ष बेतलबी बिदा कायम गरी पुनःबहाली ग¥यो । फेरि पुरानै दिनचर्या सुरु भयो । केही दिनपछि नेपालमा नयाँ शिक्षा लागू भयो । सबै विद्यालय राष्ट्रियकरण भए । शिक्षकहरूले पुनः नियुक्ति लिनुपर्ने भयो । पुराना सबैले नियुक्ति पाए । उनले पाएनन् । त्यतिबेला जिल्ला पञ्चायतले नियुक्ति दिन्थ्यो । उनी धेरै जना पञ्चका घर धाए तर काम भएन । जिल्ला पञ्चायतका सभापति अम्बिकाप्रसाद श्रेष्ठ थिए । श्रेष्ठ न्यौपानेकै सानिमा–सासू कमला न्यौपानेको हातबाट टीका लगाउँथे र पनि काम गरिदिएनन् । न्यौपाने भन्छन्, ‘पछि थाहा पाएँ, सानिमा–सासु नै मेरो जागिरको विपक्षमा हुनुहुँदोरहेछ ।’

आफन्तकै कारण जागिर खोसिएपछि न्यौपाने भौँतारिए । तर, केही समयपछि नै इनरुवाको भगवती माविमा काम पाए । हात्तीसार क्याम्पसमा सहायक प्रशासक भएर पनि केही समय काम गरे । तर, सँगै पढेका माधव पोखरेल त्यहाँ प्राध्यापक भएकाले उनलाई सहायक भएर काम गर्न मन लागेन । र, हात्तीसारको जागिर छाडेर काठमाडौँ हानिए । मानविकी सङ्कायका डिन उपेन्द्रमान मल्ललाई भेटेर जागिर मिलाइदिन भने । नभन्दै मल्लले भैरहवामा काम मिलाइदिए । न्यौपाने जागिरका लागि भैरहवा पुगे । पछि घुम्दै–फिर्दै रुम्जाटार भने जस्तो भोजपुर, धनकुटा हुँदै उनी फेरि धरानै आइपुगे ।

आफन्तले देखिसहन नसकेर जागिर गुमाएपछि भविष्य खोज्दै हिँडेका न्यौपानेले जागिरकै क्रममा आठपहरिया राई भाषाको अध्ययन–अनुसन्धान गरी त्यसैमा विद्यावारिधि गरे । लोहरूङ भाषाको व्याकरण लेखे । उनी अहिले पनि वर्णविन्यासको क्षेत्रमा विशिष्ट काम गरिरहेका छन् । सफल प्राध्यापक तथा भाषाविद्का रूपमा स्थापित छन् ।

प्रध्यापन कर्म, भाषाको विज्ञताका लागि मात्र होइन, लेखनमा लागेको नयाँ पुस्ताका लागि उत्प्रेरकका रूपमा पनि उनी विभिन्न क्षेत्रबाट सम्मानित छन् । इटहरी र धरानका नागरिकले २०७३ भदौ दोस्रो साता उनलाई रथारोहणसहित नागरिक अभिनन्दन गरे । उनको कद जत्रै आकारको ताम्रपत्र र अभिनन्दन ग्रन्थ प्रकाशन गरियो । यस कर्मक्षेत्रमा यस किसिमको सम्मान पाउने उनी नै पहिलो व्यक्ति हुन् ।

जीवनमा थुप्रै अप्ठेराहरू भोगेका उनी आफूलाई दुःख दिनेहरूप्रति सकारात्मक छन् । भन्छन्, ‘यदि आफन्तले नै जागिर नखोसिदिएको भए म अहिले त्यही स्कुलको शिक्षक मात्र हुन्थेँ होला, प्राध्यापक हुन्नथेँ होला, किताब पनि लेख्ने थिइनँ होला ।’

न्यौपाने बोलीमा मात्र होइन, व्यवहारमा पनि उस्तै छन् । उनी विगत सम्झेर दुःखी हुनुभन्दा भविष्यप्रति आशावादी हुनु राम्रो ठान्छन् । उनका अनुसार विगतको दुःख भनेको गाडिसकेको सिनो जस्तै हो । त्यसलाई उधिन्न थाल्दा लाभभन्दा हानी धेर हुन्छ । तर, भविष्य सिरूपाते खुकुरी जस्तै हो । जति घोट्यो त्यति धारिलो हुन्छ । 

जन्मेको केही दिनमै आमाको काख र माया गुमाएका, बुबा अपाङ्ग भएकाले दरिलो साथ नपाएका र गरिबीको जालोभित्र जेलिएर बाल्यकाल बिताएका न्यौपाने जस्तोसुकै परिस्थितिमा पनि पढ्न नछाडेका कारण अहिलेको ठाउँमा आइपुगेका हुन् । आजकाल अधिकतर युवाहरू आफूले केही गर्न नसक्नुको दोष समय, भाग्य र अरू मान्छेलाई लगाउँछन् । तर, आफूभित्रको क्षमता पहिचान गर्दैनन् । ‘त्यही भएर युवाहरू समस्यामा पर्छन् र असन्तुष्टि भोग्छन्,’ भन्ने न्यौपानेलाई लाग्छ । 

हामीमध्ये धेरैले उनको जस्तो अवस्था बेहोर्नु परेन तर अनुमान गर्न सकिन्छ, हिजो मन्दिरमा चढाएको चामल टिपेर खाँदाका दिनमा कतिले उनलाई कस्ता शब्द प्रयोग गरे होलान् ! कस्तो व्यवहार गरे होलान् ! हिजोे पेटभरि खानका लागि धेरैलाई नमस्कार गर्दै हिँड्ने न्यौपाने आज तिनीहरूको नमस्कार फर्काउन भ्याउँदैनन् । साँचो अर्थमा पैसाभन्दा इज्जत बढी कमाइयोस्, त्यही हो वास्तविक सफलता ।

‘बाँकी जीवन अब कसरी अघि बढ्छ त डाक्टर साब ?’ नागरिक अभिनन्दनपछि समकालीन जिज्ञासा राख्दा न्यौपानेले भने, ‘लु राम्रो प्रश्न सोध्नुभो । मैले आफ्ना बारेमा के सोचिरहेछु भने जतिले पनि नपुग्ने पैसाको पछि लाग्नुभन्दा जति बाँच्छु, अध्ययन–अनुसन्धानमै लाग्छु, भाषा–साहित्य र समाजकै काममा समर्पित हुन्छु !’

नोट : प्रा.डा. टङ्क न्यौपाने एक बर्षको नहुँदै आमा स्वर्गबास भइन् । टाइफाइडले थलिएर बुवा अपाङ्ग भए । उनी धरानको पिण्डेश्र मन्दिरमा चढाएको चामल खाएर हुर्के । मागेका किताब हेरेर भुइँको धूलोमा औँलाले अक्षर लेख्न सिके । सुन्दै कहालीलाग्दो छ उनको विगत । तर, उनी त्यही विगतबाट उठेर हजारौँलाई उज्यालो भविष्य र बाटो देखाउने भाषाविद् प्राध्यापक डा. टङ्क न्यौपाने बने । उनले भाषा र साहित्यमा पु¥याएको योगदानको कदर गर्दै इटहरी र धरानमा रथारोहणसहित उनको भव्य नागरिक अभिनन्दन भयो । इटहरी र धरानले उनलाई यस्तो सम्मान दियो, जुन यो क्षेत्रमा कसैले पाएको थिएन । 

...

(काठमाडाैंमा शनिबार विमोचन हुने चेतन धमलाले लेखेको पुस्तक पौरखको अंश)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया