MENU

राजनीति

Ncell Axiata
NIC Asia

​भाडाका घरमा जनप्रतिनिधि

तेह्रथुम, पुस २३ – नयाँ संरचनाको स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिले भाडाका घरमै काम थालेका छन् ।

हालै गठन भएका जिल्लाका केही स्थानीय तहको आफ्नै भवन नहुँदा घर भाडामा लिएर काम सुरु गरेका हुन् ।  भाडामा लिएका भवनमा समेत पर्याप्त ठाउँ छैन । स्थानीय तह गठन भएपछि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय तहको आफ्नै भवन समेत नहुँदा दैनिक कार्य सञ्चालनमा नै समस्या भएको छ । कतिपय ठाउँमा जनप्रतिनिधिले बस्ने ठाउँ पाउन समेत मुस्किल परेको छ ।

अधिकांश स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नै नअटाउने साँघुरा कोठाबाट कार्यालय सञ्चालन भइरहेका छन् । जिल्लामा साविकका ३२ वटा गाउँ विकास समितिलाई मिलाएर दुई वटा नगरपालिका, चार वटा गाउँपालिका र ४३ वटा वडाहरु बनाइएको थियो ।

जसमध्ये म्याङलुङ्ग नगरपालिकाले आफ्नै भवन निर्माण गरिसकेको छ, भने बाँकी कुनै पनि नगरपालिका÷गाउँपालिकाको आफ्नै भवन छैन । साविकका ३२ गाविसको कार्यालयबाटै अधिकांश वडाहरुका कार्यालय सञ्चालन भइरहेका छन् । अहिले छथर गाउँपालिकाको कार्यालय साविकको कृषि भवनमा सञ्चालित छ, भने बाँकी लालीगुराँस नगरपालिका तथा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका कार्यालयहरु भाडाका घरमा सञ्चालित छन् ।

भाडामा घर लिएर कार्यालय सन्चालन गरेका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाले साँघुरो भवनबाटै काम कारवाही गरिरहेका छन् । मेन्छ्यायेम गाउँपालिकामा उपाध्यक्षलगायत प्रशासकीय अधिकृत, अन्य शाखाका कर्मचारी सबैका लागि एउटा मात्रै कोठा छ । बैठक बस्न पनि कोठा नभएर अध्यक्षको कोठामै गाउँ कार्यपालिकाको बैठक बस्ने गरिएको छ ।

आफ्नै भवन नभएकाले भाडाको घरमा साँघुरै भए पनि काम चलाइराखेको अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो । ‘आफ्नै भवन छैन, निर्माणको प्रक्रिया थाल्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘आफ्नो नबनुञ्जेल दुःखै हुने भयो ।’ उहाँका अनुसार मेन्छ्यायेम गाउँपालिकाले एक वर्षका लागि करिब पाँच लाख रुपैयाँ खर्चिएर कार्यालय र कर्मचारी आवासको व्यवस्था गरेको छ ।

उता फेदाप गाउँपालिकाले पनि कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको प्रशाशकीय अधिकृत सुमन लिङ्देनले बताउनुभयो । ‘स्थानीय तह गठन भए, तर पुर्वाधार त धेरै नै अपुग छ,’ उहाँले भन्नुभयो, ‘अझै चार–पाँच वर्ष त गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माणमै अलमल हुन्छ ।’ फेदाप गाउँपालिकाले पनि वर्षमा पाँच लाख रुपैयाँ भन्दा बढी रकम कार्यालयको घर भाडामै बुझाउने भएको छ ।

गाउँपालिका र नगरपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरे पनि वडाध्यक्षहरुले बस्ने ठाउँ समेत पाएका छैनन् । एउटा गाविसको कार्यालय सञ्चालन भएको भवनमा दुईदेखि तीनवटा सम्म वडाको कार्यालय राख्नुपर्दा वडाध्यक्षले बस्ने ठाउँसमेत पाएका छैनन् ।

साँघुरो दुई कोठे भवनमा एक–एक कोठा बाँडेर कार्यालय सन्चालन गरिरहेको वडा नम्बर –५, का अध्यक्ष शिवनाथ खापुङले बताउनुभयो । त्यही गाउँपालिकाको वडा नम्बर १ र २ को कार्यालय पनि साविकको पौठाक गाविसको कार्यालयमा राखिएको छ । अब वडाका नागरिकको माग बमोजिम अन्यत्रै सारेर भाडामा कोठा लिई कार्यालय राख्ने तयारी रहेको वडा नम्बर १ का वडाध्यक्ष शहरमान लिम्बूले बताउनुभयो ।

जिल्लाका धेरै जसो वडाहरुमा पहिलो वर्षको बजेट भवन निर्माणमा खर्चिने तयारी गरेका छन् । गाउँपालिका तथा नगरपालिकालाई भने सरकारले भवन निर्माणका लागि छ करोड रुपैयाँ घोषणा गरेकाले सहज हुने आशा गरिएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दका कारण दाङको जनजीवन प्रभावित

    दाङ, माघ ६ – पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा नतोकिएको बिरोधमा चार दिनदेखि जारी अनिश्तिकालीन दाङ बन्दले जनजीवन कष्टपूर्ण बन्दै गएको छ । बन्दका कारण दाङको यातायात, बजार, उद्योग तथा शैक्षिक संस्था सबै बन्द रहेका छन् ।

  • क्षयरोगबाट हरेक वर्ष सात हजारको मृत्यु

    रमेश गिरी/उज्यालो । भक्तपुर, माघ ६ – नेपालमा झण्डै ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्याङ्ग राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।

  • अबको कानुनी र राजनीतिक बाटो के ?

    प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्दा हुँदै आएको राजनीतिक गतिरोध अन्त्य भएको छ । यसले राष्ट्रियसभाको चुनाव हुँदै प्रतिनिधिसभाको पूर्णता र नयाँ सरकार गठनको लागि बाटो खुलेको छ । अब कसरी अघि बढ्छ त राजनीतिक र कानुनी प्रक्रिया ?

  • प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु

    काठमाडौं, माघ ६ – नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ । प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउनेगरी प्रदेश प्रमुखहरु शनिबार आआफ्नो कार्यस्थल पुग्दैछन् ।

  • एमाले–माओवादी एकता : आज पनि छलफल हुँदै

    काठमाडौं, माघ ६ – पार्टी एकतालाई अन्तिम रुप दिने गृहकार्यमा जुटेका एमाले र माओवादी केन्द्रबिच शनिबार पनि छलफल हुँदैछ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया