MENU

राजनीति

पूर्व राजा लखनउ गए, युपीका मुख्यमन्त्री योगीलाई भेट्न सक्ने

गोविन्द शर्मा/उज्यालो ।

बाँके, पुस २३ –पारिवारिक भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमल र बुहारी हिमानीसहित गएको पुस १३ गते नेपालगन्ज आउनुभयो । 

यसबीचमा  पूर्व राजाले बर्दिया, कैलाली र दाङमा पनि धार्मिक भेटघाट गर्नुभयो । नेपालगञ्जको राझामा रहेको नवनिर्मित सोल्टी होटलमा टुर मुकाम बनाएका पूर्व राजा झण्डै दुई साता यहाँ बसे पनि पूर्व राजाको भ्रमणको खासै चर्चा भएको छैन् । 

११ दिनसम्म नेपालगञ्जमा रहेका पूर्व राजा आइतबार बिहानै व्यक्तिगत भ्रमणका लागि भन्दै उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउका लागि प्रस्थान गर्नुभएको छ । नेपालगन्जमा पूर्व राजाको भ्रमणको व्यवस्थापन समेत खटिएका राप्रपा नेता ऋषिराज देवकोटाका अनुसार पूर्व राजाले लखनउमा धार्मिकस्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

स्रोतले पूर्व राजाले लखनउमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्ने सम्भावना रहेको जनाएको छ । पूर्व राजा लखनउको भ्रमण सकेर पुनः नेपालगन्ज फर्केर केही दिनको आरामपछि राजधानी फिर्ता हुने स्रोतले जनाएको छ ।  पूर्व राजा ज्ञानेन्द्र गाडीमै लखनउ जानुभएको हो । उहाँलाई उत्तर प्रदेश प्रहरीले स्कर्टिङ गरेर लगेको छ । 

यस्तो छ पूर्व राजाको बसाई

पूर्व राजा पुस १३ गते पत्नी कोमल, बुहारी हिमानीसहित नेपालगञ्ज आउनुभएको हो । पूर्व राजाको स्वागतमा पहिलो दिन सयौं समर्थकहरु विमानस्थल आसपास पुगेका थिए । त्यहाँ उनीहरुले ‘राजा आउ देश बचाउ’ को नारा समेत लगाएका थिए ।

विमानस्थलबाट पूर्व राजपरिवार नजिकै रहेको होटल सोल्टीमा बास बस्न पुग्यो । नवनिर्मित चारतारे होटल सोल्टीमा पूर्व राजपरिवारको समेत लगानी भएको चर्चा छ । होटलमै पूर्व राजाले राप्रपा नेपालका स्थानीय नेता कार्यकर्ता र नेपालगन्जका व्यापारीसँग पनि भेट गर्नुभयो । यसबीचमा पूर्व राजालाई भेट्न राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा पनि सोल्टी होटल पुगिसकेका छन् ।  नयाँ वर्षमा होटलमै बलिउडका कलाकारसहितको न्यू इयर विशेष हुँदा पूर्व राजपरिवार त्यही थियो । पूर्व युवराज्ञी हिमानी भने राजधानी फिर्ता भइसक्नुभएको छ । 

पूर्व राजपरिवारको कार्यक्रम अत्यन्त गोप्य राखिएको छ । सुरक्षा निकायले कार्यक्रम बारे पूर्व जानकारी नपाउँदा सुरक्षा निकायलाई हम्मेहम्मे पर्ने गरेको छ ।एकसाताअघि पूर्व राजा निजी गाडीमा एक्कासी नेपालगन्जतर्फ हिँडेपछि सुरक्षा निकाय निकै तनावमा परेको थियो । होटलबाट पूर्व राजा निस्केपछि बागेश्वरी मन्दिर जाने आशंकामा सुरक्षाकर्मी परिचालन गरिए पनि पूर्व राजा भारतीय सीमा नजिकको जमुनाह पुगेर पुनः गनापुरबाट आफै होटलमा पुगेपछि सुरक्षाकर्मीले शान्तिको अनुभव गर्न पाए । पूर्व राजपरिवारको सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको डिएसपीको कमाण्डमा टोली छ । 

नेपालगञ्जमै टुर मुकाम भए पनि पूर्व राजाले बर्दिया, कैलाली र दाङको भ्रमण सकेपछि शनिबार दिउसो मात्रै बागेश्वरी मन्दिरको दर्शन गर्ने साइत जुराउनुभयो । दिउसो करिब ४ बजे मन्दिर पुगेका राजालाई समर्थकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै स्वागत गरेका थिए । 

भ्रमणको उद्धेश्य

पूर्व राजाको लामो पश्चिम नेपाल भ्रमणलाई लिएर विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् । तर राजावादीहरु भने यसलाई नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण भन्छन् । नेपालगन्जमा पुर्ब राजपरिवारको भ्रमण नितान्त व्यक्तिगत हो, राप्रपा नेता निरञ्जन थापाले भन्नुभयो, पूर्व राजामाथि अहिले आम देशबासीको समर्थन बढेको छ, यो भने सकारात्मक छ ।’ उहाँले पूर्व राज परिवारको भ्रमणका विषयमा अन्यथा बुझन नहुने बताउनुभयो । तर पूर्व राजाको भ्रमण धार्मिक र पारिवारिक भए पनि यसबाट राजावादी शक्तिलाई जनतासँग जोडिन पाउँदा लाभ मिलेको पूर्व राजाका समर्थकहरुको दावी छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया