MENU

बातावरण-कृषि

ujyaalo forign call inside

प्लाष्टिकजन्य फोहोर बाल्दा उपत्यकाको प्रदूषण बढ्यो

अशोक कोइराला / उज्यालो । 

काठमाडौं, पुस २५ – चिसो बढेसँगै उपत्यकाको प्रदूषण बढेको छ । उपत्यकामा दिउँसोको तुलनामा बिहान र बेलुका धुवाँधुलो बढी हुने गरेको छ । जाडो भएपछि बिहान र बेलुकाको समयमा प्लाष्टिक बाल्ने, दाउरा बाल्ने र आगो ताप्ने गरेपछि प्रदुषणको मात्रा बढेको हो ।  यसअघि विज्ञहरुले पनि उपत्यकामा बिहान बेलुकाको वायु मानव स्वास्थ्यको लागि हानिकारक रहेको बताउँदै आइरहेका छन् । 

उपत्यकामा बिगत चार वर्षयता वायु प्रदूषण डरलाग्दो अवस्थामा छ । सरकारी तथ्यांक अनुसार उपत्यकाको हावामा १० माइक्रोमिटरभन्दा साना धुलोका कण (पीएमटेन) औसतमा प्रतिघनमिटर १ सय २० माइक्रोग्राम भन्दा माथि पुगेको देखिन्छ । जनस्वास्थ्यका दृष्टिले यो अति नै डरलाग्दो अवस्था हो । विश्व स्वास्थ्य संगठनले पीएमटेनको मात्रा प्रतिघनमिटर २० माइक्रोग्रामभन्दा बढी हुन नहुने भनेर तोकेको छ । 

काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सरकारले तोकेको मापदण्डभन्दा धेरै पीएमटेन पाइने गरेको छ । वातावरण मन्त्रालयको वातावरण विभागका अनुसार उपत्यकामा मंसिर, पुस, माघ, फागुन, चैत, महिनामा सबैभन्दा बढी प्रदूषण हुने गरेको छ । यो समयमा हुने प्रदूषण राष्ट्रिय मापदण्डभन्दा धेरै नै बढी हो । यो समयमा पानी नपर्ने र धुँवा धुलो बढी हुनाले पनि प्रदूषण बढ्ने गरेको हो । 

प्रदूषण मापक यन्त्रको तथ्यांकलाई हेर्दा बिहान बेलुका बाहिर निस्कदा सचेत हुनुपर्ने वातावरण विभागकी उप महानिर्देशक सफला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी वायु प्रदूषणको कारण उपत्यकाको सवारी साधन नै हो । विभागले सवारीमा ‘ग्रीन स्टिकर’ चेकजाँचमा कडाई गर्न थालेको छ । अहिले उपत्यकामा धुलोको पनि समस्या छ । यसले पनि केही प्रभाव पारेको छ । यो समस्या समाधानका लागि काम भइरहेको छ । ’

उपत्यकामा प्रदूषणको मात्रा राष्ट्रिय मापदण्ड भन्दा बढी नै छ । वातावरणविद् भुषण तुलाधर भन्नुहुन्छ, ‘कचौरा आकारको भौगोलिक बनावट र गुम्म परेको मौसमका कारण उपत्यकाको आकाशमा जम्मा भएको धुलोका कणहरु सजिलै बाहिर निस्कदैनन् । त्यसकारण पनि उपत्यकामा धेरै प्रदूषण हुने गरेको छ ।’

जाडोको समयमा आगो बाल्दा पनि प्रदूषणको मात्रा बढ्न जान्छ । कतिपय ठाउँमा त प्लाष्टिकजन्य फोहोर बालेरै आगो ताप्ने गर्छन् यसले प्रदूषणको मात्रा झन् धेरै बढ्छ र यसले मानव स्वास्थ्यमा झन् ठूलो असर पुर्याउँछ । प्रदूषणको मुख्यकारण धुलो भन्दा पनि धुवाँ हुने गर्दछ । जाडोमा धेरै आगो बाल्ने गर्छन् । प्लाष्टिक बालेको धुवाँ मानव स्वास्थ्यको लागि सबैभन्दा बढी घातक मानिन्छ । 

दूषित हावाका कारण फोक्सो तथा मुटुको रोग, हृदयाघात, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोग लाग्ने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्रका डाक्टर शेर बहादुर पुनले भन्नुभयो, ‘जाडोको समयमा सामान्य रुघाखोकीका विरामी बढ्नु सामान्य हो, तर चिसो र प्रदूषणका कारण खोकीका विरामी पनि बढ्दै गएका छन् । प्रदूषणका कारण दम, छालाको रोग, श्वासप्रश्वासको समस्या बढी रहेको छ ।’ 

वातावरणविद् तथा चिकित्सकले जति नै चासो र चिन्ता व्यक्त गरे पनि सम्बन्धित निकायले उपत्यकाको वायु प्रदूषण घटाउने उपायबारे ठोस कदम नचाल्दा उपत्यकावासीमा स्वास्थ्य समस्या बढ्दै गएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया