MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

‘पिंजडा’का कलाकार – कोही शारीरिक अशक्त, कोही भए दिवंगत

काठमाडौं, पुस २७ –आजभन्दा १९ वर्ष अगाडिको सफल सिनेमा ‘पिंजडा’को सिक्वेल ‘पिंजडा ब्याक अगेन’ यही माघ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 

सिक्वेलले पनि प्रिक्वेलको जस्तै सफलता पाउनेमा निर्माण पक्ष ढुक्क भएको देखिन्छ । ‘पिंजडा’मा द्वन्द निर्देशकको रुपमा काम गरेका हिमाल केसीले ‘पिंजडा ब्याक अगेन’लाई निर्देशन गरेका छन् । 

‘पिंजडा’मा टिका भण्डारीको संगीत, शान्ता नेपालीको कोरियोग्राफी,  दीर्घ गुरुङको छायाकंन, पवन मैनालीको कथा रहेको छ । यस सिनेमालाई पवन मैनाली, सुशीला रायमामाझी, मुकुन्द कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा पटकथा, सम्वाद र निर्देशन भने देशभक्त खनालको छ ।

सिनेमामा निखिल उप्रेती,निरुता सिंह, सुरेश मरहठ्ठा, सुशीला  रायमाझी, नारद खतिवडा,  सारिका खड्का, राजेन्द्र केसी, मनोज उप्रेती, कृष्ण थापा, सृजना भुषाल, रमेश रोक्का, उद्धव खड्का, रमेश बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । आज हामीले यस सामग्रीमा ‘पिंजडा’का मुख्य कलाकारहरु अहिले को के गर्दैछन् ?त्यसको बारेमा जानकारी दिँदै छौँ ।

निखिल उप्रेती

अहिले पनि सिनेमामा सक्रिय रहेका निखिलको ‘पिंजडा’ डेब्यु सिनेमा हो । उनलाई यही सिनेमाले नै एक्सन अभिनेताको रुपमा परिचित गरायो । उप्रेतीले यस सिनेमामा सुरेश मरहठ्ठा अर्थात ठूलेको भाई सानेको भूमिका निर्वाह गरेका छन् । चाखलाग्दो कुरा के छ भने यस सिनेमामा निखिलको वास्तविक आवाजलाई स्थान दिइएको छैन । उनको ठाउँमा अरु कसैको आवाज हालिएको छ ।

निखिल पछिल्लो समयमा निर्माता निर्देशक र अभिनेताको रुपमा अघि बढेका छन् । उनले सिनेमा ‘भैरव’ निर्देशन गरिसकेका छन् भने हाल  उनीअर्को सिनेमा ‘कटिमेन्ट सिक्स्टी आवर्स’को छायांकनमा छन् । ‘कटिमेन्ट सिक्स्टी आवर्स’लाई पनि निखिलले नै निर्देशन र निर्माण गर्दैछन् ।

निरुता सिंह

‘पिंजडा’मा गीताको भूमिका निर्वाह गरेकी अभिनेत्री निरुता सिंह अहिले नेपाली सिनेमामा सक्रिय छैनन् । दार्जीलिङकी निरुता नेपाली सिनेमामा  कामपाउन छाडेपछि मुम्बईमा बस्दै आएकी छिन् । मुम्बईमा रहेर उनले इन्टेरिअर डिजाइनिङको काम गरिरहेको जानकारी छ । यसका साथै उनले केही हिन्दी सिरियल र विज्ञापनहरुमा पनि काम गरेकी छिन् ।

 

निरुताले राम्रो कथा भएको सिनेमामा प्रस्ताव आएको खण्डमा आफू फेरि नेपाली सिनेमामा फर्किने बताउँदै आएकी छिन् । उनी विदेशमा आयोजना हुने विभिन्न नेपाली अवार्ड शोहरुमा पनि सहभागी हुँदै आएकी छिन् ।

सुरेश मरहठ्ठा

अभिनेता सुरेश मरहठ्ठाले यस सिनेमामा प्रशान्त अर्थात ठूलेको भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय उनी रेश मरहठ्ठाको नामबाट चर्चित छन् । उनले अहिले रेश मरहठ्ठाका नामले सिनेमा र म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

 

प्रसिद्धिका रायमाझी

यसै सिनेमामार्फत अभिनेत्री सुशीला रायमाझीले छोरी प्रसिद्धिका रायमाझीलाई पनि सिनेमामा प्रवेश गराइन् । तर प्रसिद्धिकाले सिनेमा क्षेत्रमा लामो समय बिताइनन् । सिनेमामा सफलता नपाएकी उनी हाल अमेरिकामा बस्दै आएकी छिन् । उनी यस सिनेमामा निकिताको भूमिकामा छिन् ।

 

पवन मैनाली

सिनेमाका निर्माता तथा कलाकार पवन मैनाली यस सिनेमामा भिलेनको भूमिका निर्वाह गरेका छन् । दुःखको कुरा भिलेनको रुपमा राम्रो छाप बनाइसकेका पवन पछिल्लो केही वर्ष यता राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । सिनेमा ‘दिदीबहिनी’को छायाकंनको क्रममा मोटरसाइकल दुर्घटनामा परेर उनी अस्वस्थ भएका हुन् । केही समयअघि समाजसेवी दिक्षा चापागाईँको पवित्र समाज नामक आश्रममा रहेका उनी त्यही छँदा विवाह गरेर श्रीमतीसँगै कपनस्थित घर फर्किएका छन् । उनले दोलखाकी लक्ष्मी सिवकोटीसँग मागी विवाह गरेका हुन् ।


सुशीला रायमाझी

‘पिंजडा’मा दिवंगत अभिनेत्री सुशीला रायमाझीले कलाकार सुरेश मरहठ्ठा अर्थात ड्राइभर प्रशान्त र निखिल अर्थात सानेको आमाको भूमिका निर्वाह गरेकी छिन् । खासमा सुरेश र निखिलको आमाको हत्यापछि उनी ती दुईको आमा बन्छिन् । ठूलेलाई उनले सानैदेखि हेरचाह गरेकी हुन्छिन् भने साने १८ वर्षपछि भेट हुन्छ । सुशिलाको केही वर्षअघि ५५ वर्षको उमेरमा पाठे घरको क्यान्सरका कारण निधन भइसकेको छ ।

सलोन बस्नेत

अहिले व्यस्त कलाकारको रुपमा छाएका सलोन बस्नेतले यस सिनेमामा बालकलाकार सुबोधको भूमिका निर्वाह गरेका छन् । उनको यो भूमिकालाई दर्शकले खुबै रुचाएका थिए । सलोन पछिल्लो समयमा सिनेमाका कमेडी पात्रको रुपमा एकपछि अर्को सिनेमामा व्यस्त भएका छन् । केही समयअघि ‘मेला’ र ‘ए मेरो हजुर २’ माकाम गरेका उनी ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्धित भइसकेका छन् भने अन्य केही सिनेमाको तयारी पनि उनले गरिरहेका छन् ।

 

-उज्यालोगफगाफ डट कमको सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया