MENU

समाज

Ncell Axiata

वैदेशिक रोजगारीले मेरा श्रीमानलाई मर्न बाध्य बनायो

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, पुस २८ – हातमा हरियो पासपोर्ट, मनभरी कमाउँछु भन्ने सपना । परिवारको उज्वल भविष्य बनाउने सपनाको आँधीले उडाएर सिन्धुलीका जगत आलेमगरलाई साउदी पुर्‍यायो । 

पराई देशमा भएपनि कमाउने मान्छे हुँदा घरमा हुनेले पनि सपना बुनेका हुन्छन् । कमाउन परदेशिने र घरमा बस्नेका सबैको सपना पूरा हुन दिँदैन वैदेशिक रोजगारीले ।

सोचेजस्तो नहुँदा धेरैले ज्यानै गुमाउँछन् । नियतीले जगतले पनि त्यही ठाउँमा पुर्‍यायो । श्रीमानले किन आत्महत्या गरे भन्ने जगतकी श्रीमती बुद्धमायाले अहिलेसम्म पत्तो पाउनु भएको छैन । जगतले साउदीमा के काम गर्थे, कति कमाउँथे, त्यो पनि उहाँलाई थाहा छैन । 

‘पाँच जना छोराछोरी र घरव्यवहारको जिम्मेवारी सुम्पिएर हिँडेका श्रीमानले किन आत्महत्या गरे ?’ बुद्धमायाको मनमा प्रश्नै प्रश्न छन् । कारण भने अनुमान लगाउनु बाहेक अरु केही छैन । 

उनीहरुको बिचमा न नराम्रो नै थियो न पैसा कमाइनस् भने उहाँले कचकच नै गर्नुभयो । पाँच महिनादेखि कम्पनीको काम सकिएर यतिकै बसेका थिए जगत ।विदेशमा कमाइहुन्छ भनेर हिडेका श्रीमानलाई विदेशले नै मर्न बाध्य बनायो जस्तो लाग्छ उहाँलाई । ६ जनाको एक्लो साहारा जगतले आत्महत्या गरेपछि बुद्धमायाको जीवनमा आपत आइलाग्यो ।

बुद्धमायाका व्यथा उहाँकै शब्दमा

२०७३ माघको कुरा हो । गाउँमा बिहे थियो । म बिहेमा जानका लागि सेलरोटी पकाउँदै थिएँ । छोरीको मोवाइलमा घण्टी बज्यो । फोन रहेछ साउदीमै भएका साईंला देवरको ।

 देवरले त्यती धेरै फोन गर्दैन थिए । छोरीले काकाको फोन उठाइन् । फोनमा देवरको आवाज रोएको जस्तो लाग्यो । आनाकानी गर्दै बोलिरहेका थिए । मसँग पनि बोल्नुभयो । 

‘भाउजु दाइसँग झगडा भएको थियो त ?’ देवरले सोध्नुभयो । मैले छैन भनेँ । मेरो श्रीमान् (जगतबहादुर आलेमगर) पनि साउदी बस्न थालेको ८ वर्ष भइसकेको थियो । हाम्रो फोनमा त्यती धेरै गफ त हुँदैन थियो । त्यही पनि त्यस्तो झगडा हाम्रो कहिले पनि पर्दैन थियो ।

देवरले किन यस्तो कुरा सोधे भनेर मन झस्कियो । एकैछिन बोलेपछि देवरले दिएको खबरले भने न मैले पत्याउन सकेँ न होइन भनेर नकार्न । खबर थियो, ‘मेरो श्रीमानले साउदीमा आत्महत्या गरेको ।’ 

 असोजदेखि कम्पनीको काम सकियो भन्दै क्याम्पमा बसेको छु भन्नुहुन्थ्यो । झण्डै पाँच महिनादेखि काम नगरी बसेकाले उहाँ तनावमा हुनुहन्थ्यो । तर त्यस्तो गर्नुहोला भनेर हामीले सोचेका पनि थिएनौ । 

पाँच जना छोराछोरी र घर व्यवहार मेरो काँधमा थामेर कमाउन गएको मान्छेले किन हार खाए म त छक्क परे । झण्डै १ वर्ष बित्न लाग्यो उहाँले आत्माहत्या गर्नुभएको । मैले किन उहाँले आत्माहत्या गर्नुभयो भन्ने जवाफ पाउन सकेको छुइन । 

बिहे गरेको २१ वर्ष भयो । हामीबीचमा कहिले नराम्रो भएन । कहिले उहाँले मलाई गाली पनि गर्नुभएन । त्यस्तो मान्छेले अर्काको देशमा आत्माहत्या गरे भनेको खबर सुन्दा मलाई त विश्वास नै लागेको थिएन ।

सत्य विश्वास नगरेर के हुन्थ्यो र । तीन महिनापछि लाश आयो । काठमाडौंमै सदगत गरियो । त्यतीबेला मैले त जाने आँट गरिन । तब मात्रै हो कि जस्तो लाग्थ्यो ।अहिलेपनि एक मनले त केही भएको छैन होला । फर्किएर आउनुहुन्छ होला जस्तो लागिरहन्छ ।

उहाँले पो आफ्नो ज्यान फालिदिनुभयो । त्यो पनि काम नगरी बस्नुपर्‍यो भनेर । तर उहाँले आत्महत्या गरेपछि म माथि आइपर्ने समस्या र पीडाको हेक्का राखेको भए सायद त्यस्तो गर्नुहुन्नथ्यो कि ।

उहाँ त आनन्दले निदाएर फर्कनुभयो । छोराछोरीका आँशु हेर्न, अभाव हेर्न कहिले ब्युँझिनु परेन । मेरा हातका चुरा झ¥याम्म फुट्दा छोराछोरीका पनि सपना टुटे । यस्तो गरौंला, यसरी घर चलाउँला भन्ने हाम्रा आँट पनि गले । 

घरमा आम्दानीको स्रोत केही छैन । कमाउने सिङ्गो मान्छे उहाँ मात्रै हो । पाँच जना छोराछोरी, उनीहरुको पढाइ, लवाइखवाइ मैले कसरी गर्ने हो । मन आत्तिए सम्हाल्नै नसक्ने भएको थियो । 

छोराछोरी हुर्किएका थिए । ऋण लागेपनि दिन नलागोस् भन्छन् । के थियो र । घर फर्किएको भए बनिबुतो गरेर भएपनि घर चल्थ्यो । उहाँको हारले हामी सबैलाई बेसहारा बनायो ।

उहाँ विदेश जानु अघि हामी परिवारमा सबैजना सँगै बस्थ्यौ । त्यही वर्ष घरबाट छुट्टिदा ऋण लाग्यो । खाना पकाउने भाँडा थिएन । बस्ने खानेको बन्दोबस्त मिलाउँदा, बस्तुभाउ किन्दा एक लाख ३५ हजार ऋण पुग्यो । विदेश नजादा ऋण तिर्ने अर्को विकल्प पनि भएन । 

उहाँ विदेश जानुभयो । ३ वर्षमा पुगेपछि घरविदामा आउनुभएको थियो । त्यतिन्जेलमा उहाँले ऋण तिर्नुभयो । २ लाखमा एक कठ्ठा खेत पनि किन्यौं । तर घर विदाबाट फर्किएपछि भने उहाँले त्यति कमाउनुभएन । खै गर्ने भयो के । अन्तिममा त ज्यानै फलिदिनुभयो ।

म त केही समय त पागल जस्तै भए । छोराछोरीले सम्झाए । उनीहरुको मुख हेरे चित्त बुझ्यो । म जस्ता धेरै देखेँ । तर कालगतीले मरेको भए पो जस्तो लाग्छ । हामीदेखि हारेर त्यसो गरेजस्तो लागछ । गुनासा पलाउँछ मनमा । तर के गर्नु मरेको मान्छेसँगका गुनासा बेकार रहेछ ।

मलाई त केही थाहा थिएन । पैसा पाइदो रहेछ । सिन्धुली बजारमा सूचना केन्द्र रहेछ । त्यही सुचना केन्द्रको सहयोगमा मैले पाँच लाख २९ हजार रुपैयाँ पाएँ । त्यो पैसाले छोराछोरीलाई राम्रोसँग पढाउने योजना छ । 

जेठी छोरी त एसएलसी पास गरेर काठमाडौं गएकी छे । अरु तीन जनाले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट छात्रवृत्ति पाएका छन् । त्यो बारेमा पनि मलाई थाहा थिएन । सूचना केन्द्रले नै सहयोग गरेको हो ।

खेतीपातीले वर्षभरी खान त पुग्दैन । तर पनि मेलापात बनीबुतो गरेर मैले छोराछोरीको पेट पालेको छु । छोराछोरी चाडबाडका बेला साह्रै रुन्छन् । अभाव छ । अभावमा उहाँ भैदिए हुन्थ्यो जस्तो लाग्छ । 

कमाउन गएका मान्छेले नै ज्यान फालेपछि भगवान भरोसामा जीवन चलेको छ । छोराछोरी पढाउन पाउँ, मेरो सपना यति नै छ । कमाएर पाल्छु भनेर परिवार छाडेर हिँड्नेले ज्यान नफालिदिउन् । हाम्रो जस्तो पीडा अरुले भोग्न नपरोस् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया