MENU

समाज

Ncell Axiata

मध्यवर्ती क्षेत्रका बासिन्दाको पीडा : खेती भित्र्याउन गाह्रो, ज्यानलाई सधैँ डर

दयाराम आचार्य/उज्यालो । 

नवलपरासी, पुस २९ – ‘जंगली जनावरका लागि बाली लगाए जस्तो भएको छ, खेती पाकेर भित्र्याउन पाइँदैन’ नवलपरासी कावासोती–१३ का सोमप्रसाद गुरुङले भन्नुभयो ‘मध्यवर्ती छेउमा बस्ने हामीले न लगाएको बाली सकुशल भित्रयाउन पाउँछौँ, न ज्यान नै सुरक्षित छ ।’

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने नवलपरासीको मध्यवर्ती क्षेत्र आसपासका बासिन्दा जंगली जनावरका कारण सधैँ त्रासमा बाँच्न बाध्य छन् भने अर्को तर्फ रातिको समयमा आउने जनावरले आफूले लगाएको अन्न बाली खाइदिँदा चिन्तित बनेका छन्  ।

जंगलबाट आउने गैँडा, चित्तल, बँदेल लगायतका जनावरले लगाएको बाली खाइदिने , माडदिने गरेका कारण समस्या भएको कावासोती–१३ गैरीका सोमप्रसाद गुरुङले बताउनुभयो । ‘अहिले मसुरो छ, रातभरि मृगको बथान आउँछन्, सबै खाएर टेकेर सखाप छ’ मसुरो बाली तर्फ देखाउँदै गुरुङले भन्नुभयो ‘वर्षभरि, मकै, धान जे लगाए पनि सखाप नै पार्छ ।’

मध्यवर्ती क्षेत्रमा जंगली जनावर रोक्नका लागि धेरैजसो क्षेत्रमा विद्युतीय झड्का र तारजाली लगाएको भए पनि तारजाली नभएको स्थानबाट जंगली जनावर बस्तीतर्फ आउने गरेको उहाँको भनाई छ । जंगली जनावर बस्तीमा आएर स्थानीय बासिन्दालाई हानेर घाइते समेत बनाउने गरेको र कतिपयको ज्यानै जाने गरेको गुरुङले बताउनुभयो ।

‘सामुदायिक वन र मध्यवर्तीमा गएर क्षतिपूर्ति पाइन्छ भनेर भन्यो, अहिलेसम्म केही पाईएको छैन’ गुरुङले भन्नुभयो ‘क्षतिपूर्ति दिन्छु भनेको धेरै वर्ष भयो तर अहिलेसम्म कसैले केही पाएको छैन ।’

‘आफूले  दुखः गर्‍यो खेतीबाली लगायो, मृग आउँछ, बँदेल आउँछ सबै खाइदिन्छ दुःख गर्नुमात्र हो’ अर्का स्थानीय बासिन्दा थमप्रसाद चापागाईंले भन्नुभयो ‘लगाएको बालीको आधा बाली थन्क्याउन पनि मुस्किल छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया