MENU

समाज

ujyaalo forign call inside

पैसा तिरेको भन्दा कम तेल आएपछि डोटीका व्यवसायीले पेट्रोल बेच्न छाडे

विमल विष्ट/उज्यालो । 

डोटी, पुस २९ – डोटीमा नेपाल आयल निगमबाट आएको पेट्रोलियम पदार्थ बोकेका गाडिले कम तेल दिने गरेको पेट्रोल पम्प सञ्चलाकले गुनासो गरेका छन् । व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर चार प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ कम आउने गरेको छ ।

  ‘म हरेक पटक पेट्रोल उठाउँदा ६ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु , आयल निगमले पनि ६ हजार रुपैयाँकै बिल बनाउँछ’ दिपायल सिलगढी नगरपालिका–५ को एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले भन्नुभयो, ’तर प्रत्येक पटक डिप लिँदा २ सय देखि ३ सय लिटर कम आउँछ ।’ यो समस्या डिजेलमा भन्दा पेट्रोलमा धेरै आउने गरेको उहाँले बताउनुभयो । 

अछाम साँफेबगर स्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरको समस्या पनि यस्तै हो । ‘आफूले उठाउने १२ हजार लिटर पेट्रोलियम पदार्थमध्ये ५ सय लिटर बाटामै हराउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘१२ हजार लिटरको पैसा तिरेर ११ हजार ५ सय लिटर मात्र पेट्रोलियम पदार्थ मेरो आयल स्टोरमा आउँछ ।’ 

आयल निगमका कर्मचारी र ट्यांकर चालकको मिलेमतोमा यस्तो समस्या आइरहेको अाराेप एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले लगाउनुभयो । आयल निगमले तापक्रमको समस्या लगायत अन्य कारणले गर्दा यस्तो भएको बताउने गरेको व्यवसायी भण्डारीले बताउनुभयो । यो समस्या समाधान गर्नको लागि निगम शाखा कार्यालय दीपायल र जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदन समेत दिइएको व्यवसायी भण्डारीले जानकारी दिनुभयो । 

डोटीको एकमात्र पेट्रोल बेच्ने पम्प एसजी फ्युल सेन्टरले निरन्तर रुपमा कम पेट्रोलियम पदार्थ आउन थालेपछि पेट्रोलको माग गरेको छैन् । जसका कारण डोटीमा पेट्रोलको अभाव हुन थालेको छ । कम पेट्रोल आउने समस्या रहिरहे आफूले पनि पेट्रोलियम पदार्थ बेच्न छाडिदिने अछामको साँफेबगर स्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरले बताउनुभयो । 

दिपायल स्थित नेपाल आयल निगक शाखा कार्यालयका प्रमुख निरन मगरातीले भने यस्तो समस्याको समाधान दिपालयबाट हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यस्तो समस्या तापक्रमकै कारणले आउने गर्दछ, चिसोको मौसममा यो समस्या झनै बढी हुन्छ ।’
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया