MENU

समाज

Ncell Axiata

​धादिङमा ४२ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न, ७ वटामा रेट्रोफिटिङ प्रविधि

अर्जुन श्रेष्ठ/उज्यालो । 

धादिङ, पुस ३० –धादिङमा भूकम्पले भत्किएका विद्यालय भवन ४२ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । 

धादिङमा १ सय ८५ ओटा विद्यालयमा ७ सय ९० कक्षा कोठा निर्माण भैसकेको छ । त्यस्तै एक सय ८० ओटा विद्यालयमा सात सय ८० कक्षाकोठा मर्मत गरी एक हजार पाँच सय ७० कक्षा कोठा पुनर्निर्माण गरी विद्यालय सञ्चालन भइरहेको छ ।  

भुकम्पले भत्किएको विद्यालय भवनको पुनर्निर्माणमा ढिलाइ हुदाँ अझै पनि खुल्ला चौर, चौतारा तथा अस्थायी टहरामा विद्यालय सञ्चालन गर्न बाध्य छन् । विद्यालय भवन नहुँदा शिक्षक तथा विद्यार्थीहरुले सास्ति खेपिरहेका छन् । अहिले २ सय ७५ ओटा विद्यालय भवनमा ८ सय २५ कक्षा कोठा निर्माण भैरहेको छ । त्यस्तै १ सय ४५ ओटा विद्यालयमा ५ सय ८० कक्षाकोठा मर्मत भैरहेको छ । 

आर्थिक वर्ष ०७३/७४ मा एक हजार एक सय १८ कक्षा कोठा, आर्थिक वर्ष ०७४/७५ मा एक हजार एक सय १८ कक्षा कोठा र आर्थिक वर्ष ०७५/७६ मा एक हजार चार सय ८९ कक्षा कोठा निर्माण गर्ने लक्ष्य अनुसार विद्यालयको पुनर्निर्माण भैरहेको छ । 

जिल्ला आयोजना अन्तर्गत २ सय १७ ओटा विद्यालय भवन बनेको छ । केन्द्रिय आयोजना अन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, गरिबी न्यूनिकरणका लागि जापानी कोष (जेएफपीआर) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा ८२ विद्यालयहरुमा सम्पूर्ण पुननिर्माण गर्ने लक्ष्य अनुरुप १९ ओटा विद्यालयमा पुनर्निर्माण भैरहेको छ । त्यस्तै, विभिन्न सरकारी निकाय, व्यक्ति, समूहको श्रोत, जिल्ला शिक्षा कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय निकाय तथा विद्यालयको श्रोतबाट ३ सय कक्षाकोठा नयाँ निर्माण र ६ सय कक्षाकोठा मर्मत कार्य भैरहेको छ । संघ संस्थाहरुले पनि विद्यालय पुनर्निर्माण गरिरहेका छन् । जस अन्तर्गत ४ सय ६२ ओटा कक्षा कोठा बनाइसकेका छन् भने २ सय २५ कक्षाकोठा निर्माणाधिन छन् ।  

विद्यालय भवन समयमै निर्माण नहुँदा हजारौँ बालबालिका चिसो भूँइ र खुल्ला आकाशमा पढ्न बाध्य छन् । तर निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका इन्जिनियर निर्मल बोगटी बतानुहुन्छ । विद्यालय पुनर्निर्माणको योजना तर्जुमा गर्न वास्तविक तथ्याङ्क विवरण समयमा प्राप्त भएन । उहाँ भन्नुहुन्छ, ‘उच्च बसाईसराईका कारण विद्यालय गाभ्ने निर्णयले पनि पुनर्निर्माणमा धक्का पुग्यो । प्राविधिकको चेक समयमै हुन सकेको भए अझै पुननिर्माण धेरै भैसक्ने थियो ।’   

७ विद्यालय भवन निर्माणमा रेट्रोफिटिङ प्रविधि

भूकम्पपछि नेपाल सरकारले विद्यालय भवन प्रयोग गर्न ठिक छ, छैन भन्दै चेक गर्न इन्जिनियर खटाएको थियो । इन्जिनियरले चेक गरी टाँसेको स्टिकरको आधारमा विद्यालय भवन प्रयोग गरिए । अहिलेसम्म धादिङमा जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोगले त्रिकुटेश्वरी आधारभूत विद्यालय, कुलचन्द्र मावि, चन्द्रज्योति एकीकृत ग्रामिण विकास समाज धादिङले जनजागृति मावि, र जर्मन नेपाल सहयोग संगठनले २ कोठाको बालविकास आधारभूत विद्यालय भवन पुनर्निर्माण गरिसकेको छ । एक्सन नेपालले जाल्पादेवी आधारभूत विद्यालय, बसाहमण्डली आधारभूत विद्यालय र फोकस नेपालले पाँच कोठे नागेश्वरी आधारभूत विद्यालय भवन रेट्रोफिटिङ प्रविधिबाट निर्माण गरिरहेको छ । 

पुनर्निर्माणको चरणमा विद्यालय भवन नयाँ बनाउने कि सवलीकरण गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङ, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला निकाय विच रेट्रोफिटिङ प्रविधिबाट निर्माण गर्ने सहमति भएपछि काम अगाडि बढेको हो । 

कम लगानी र सुरक्षित पनि हुने भएका कारण धादिङमा ७ विद्यालयमा विद्यालय भवनहरु रेट्रोफिटिङ प्रविधिबाट निर्माण कार्य सुरु गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका इन्जिनियर निर्मल बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सवलीकरण गरी बनाइएको विद्यालय भवन नयाँ निर्माण गरिएको भवन जस्तै बलियो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया