MENU

विचार/अनुभूति

ujyaalo forign call inside

कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

मिलन तिमिल्सिना 

बिहान उठेर अँगेनाको छेउमा आगो ताप्न बसेपछि हजुरआमैले भुङ्ग्रोबाट बडेमानको तरुल निकाल्नुहुन्थ्यो । अघिल्लो दिन सुत्नेबेला अँगेनामा घुसारेको साह्रो तरुल चिम्टाले निकाल्नेबित्तिकै  खाइहालुँ जस्तो लाग्ने । घरका सबैलाई बाँडेपछि हजुरआमैले अलि ठूलो टुक्रो हातमा राखिदिनुहुन्थ्यो ।

बिहान चिया खानेबेला तरुल मुखमा परेपछि भात खानेबेला थालभरी खिच्रो (खिचडी) हुन्थ्यो । संक्रान्तिका लागि भनेर हजुरआमैले मंसिरदेखि नै साँचेर राख्नुभएको मासको दालबाट बनेको खिच्रो । भातमा दाल मुछेर खाँदा त्यति स्वाद नहुने, तर त्यही दाल चामलसँग मिसाएर खिच्रो बनाउँदा भातभन्दा पनि मीठो । 

त्यसमाथि खिच्रोको डल्लामाथि आमैले दुई चम्चा घिउ राखिदिनुहुन्थ्यो । घिउ पग्लेर थालभरी हुन्थ्यो । खिच्रो खाएर सकिंदासम्म थालमा लागेको घिउ सकिँदैनथियो । थालको घिउ चाटेर नसकिँदै तल कुम्बटे पाटोमा गीर खेल्न जान हतार हुन्थ्यो ।

हिजोआज क्रिकेटको क्रेजले धेरैलाई गीर भन्ने थाहा छैन होला । तर अहिलेको क्रिकेट खेलजस्तै हुन्थ्यो, त्योबेलाको गीर हान्ने खेल । क्रिकेटको बल आकारको काठको टुक्रालाई हामी गीर भन्थ्यौं, ब्याटजस्तै गीर हान्ने लौरोलाई चाहिँ लारी । 

हिउँदको बेला खेतबारी सबै बाँझै हुने । गाउँभरीको सबैभन्दा ठूलो र फराकिलो खेत या बारीमा गीर खेल्ने चलन थियो । गाउँका बलिया दाई र काकाहरु गोरु जुधाउँदै ठूलो पाटोमा गीर खेल्थे । हामी केटाकेटी चाहिँ गाईवस्तु चराउँदै कुम्बटे पाटोमा गीर खेल्थ्यौं । 

ठूलो पाटो या मैदानको बीचमा गीर राखेर एउटाले एकातिर र अर्कोले अर्कोतिर लारीले गीर हिर्काउँदै टुंगो कटाएपछि ‘हल्ला’ भन्दै कराउनुपथ्र्यो । क्रिकेटमा चौका, छक्का हान्दा हुर्रे भनेजस्तै गीरमा चाहिँ एउटाले टुंगो कटाउँदा ‘हल्ला’ भन्ने अचम्मको चलन थियो । यति रन, उति रन भनेजस्तो यति हल्ला, उति हल्ला भन्ने गरिन्थ्यो ।

हातपाखुरा दह्रा भएका बलियाहरु गीर खेल्न र ‘हल्ला’ गर्न सिपालु हुन्थे । हातमा लारी बोकेर उनीहरु मैदान पस्दा हामी वरपर जान डराउँथ्यौं । लारीले गीर हान्दा विपक्षीको लारीमा मात्र होइन, खुट्टामा पनि लाग्थ्यो । कतिपटक लारी भाँचिन्थ्यो, कतिपटक खुट्टा दुख्थ्यो । 

गीरको कुरा गर्दा चरिमारेटार स्कुलको याद झलझली आउँछ । उबेला पनि गाउँमा तँ यो पार्टी, म त्यो पार्टी भनेर घम्साघम्सी गर्ने चलन थियो । पञ्चायतको शासन भएको त्योबेला हाम्रो गाउँमा कांग्रेस र माले (अहिलेको एमाले) अलि धेरै थिए । स्कुल पढाउने सरहरु पनि कोही आफूलाई कांग्रेस भन्थे, कोही माले । सरहरु कांग्रेस र माले भएपछि विद्यार्थीलाई पनि त्यसैअनुसार राजनीति लागिहाल्ने भयो । कोही म नेबि (नेबिसंघ) भन्थे, कोही म अखिल भन्थे । कांग्रेस र माले, नेबि र अखिल भन्दै बेलाबेला स्कुलमा लडाईं र झैगडा पनि हुन्थ्यो ।

एकपटक माघे संक्रान्तिकै आसपासको बेला स्कुलमा कांग्रेस र मालेको गीर खेल्ने प्रतियोगिता सुरु भयो । कांग्रेस र माले भन्ने सरहरुले सिकाएका होइनन् कि नेबि र अखिल भन्ने केटाहरु आफैंले सिकेका । 

शुक्रबार दिउँसै स्कुल छुट्टि भएर सरहरु घरतिर हिँडेपछि ठिटाहरु हातमा लौरो बोकेर खेलमैदानमा निस्किए । कांग्रेस भन्नेहरु एकातिर जम्मा भए, माले भन्नेहरु अर्कातिर जम्मा भए । दुवै पक्षका ठिटाहरुमध्ये कोही सके जित्ने, नसके अर्को पक्षको खुट्टामा ठटाउने भनेर साउती गर्न थाले । खेल्न नसक्ने हामी केटाकेटी चाहिँ मैदानभन्दा अलिमाथि थुम्कोमा रमिता हेर्न बस्यौं ।

गीर हान्ने खेल सुरु भयो । दुवै पक्षका ठिटाहरु हातमा लौरो बोकेर यता र उता कुद्न थाले । कहिले नेबिका ठिटाहरुले गीर उता पुर्याउँथे, कहिले अखिलका ठिटाहरुले गीर यता कुदाउँथे । कहिले यसको लारी भाँचिन्थ्यो, कहिले उसको लारी भाँचिन्थ्यो । तीनहात लामो लारी भाँचिएर दुईबित्ताको हुँदासम्म ठिटाहरु भिडिरहे । कहिले यसले ‘हल्ला’ भन्थ्यो, कहिले उसले ‘हल्ला’ भन्थ्यो । अखिलले यति ‘हल्ला’ गर्यो भनेर एकथरी कराउँथे । नेबिले यति ‘हल्ला’ गर्यो भनेर अर्काथरी कराउँथे । दुवैले पालैसँग ‘हल्ला’ गरे । कहिले अखिलले जित्यो, कहिले नेबिले जित्यो । खेल्दा लारी भाँचेपनि खुट्टा भाँच्नेगरी चाहिँ कसैले हानेन ।

त्यसपछि हरेक दिनजसो स्कुलमा ‘हल्ला’ भनेर हल्ला गर्ने काम भैरह्यो । नेबि र अखिलबाट सुरु भएको स्कुलको गिर हिजोआज क्रिकेट र फूटबल खेलजस्तै उबेला निकै चर्चित र लोकप्रिय थियो । 

यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

माघे संक्रान्तिमा हामी गिर खेल्थ्यौं भनेर सम्झनेभन्दा गीर भनेको के हो र भनेर सोध्नेहरु पो धेरै छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

  • रोजाको वास्तविकता र सामाजिक सद्भाव

    रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।

  • ​एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

    २ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

  • ​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

    ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

सबै हेर्नुहोस