MENU

समाज

ujyaalo forign call inside

एककोठे घरबाट अनुदानको आश, पुग्ला त बास ?

अर्जुन श्रेष्ठ/उज्यालो ।

धादिङ, माघ ३ – जस्ताको छानो, बाँस तथा अन्य काठपातले बेरिएको अस्थायी टहरा । माघको कठ्याङ्ग्रिदो जाडो । जीर्ण भैसकेको टहराबाट तप्प तप्प चुहिने शीतका थोपा । एक सरो कपडा, मुस्किलले एक पेटको जोहो । ३२ महिनादेखि सकसले दैनिकी गुजारा गरिरहेका छन् धादिङका भूकम्प प्रभावित । 

गजुरी गाउँपालिका–१ धादिङकी ६१ वर्षे हरिवदन उप्रेतीको भूकम्पले घर भत्केको छैन । उनको घर बस्न योग्य पनि छैन । तर कस्तो घर बनायो भने सरकारले दिने अनुदान रकम पाइन्छ भन्ने उहाँलाई थाहा छैन । न घरको मोडल न अनुदान रकम लिन पूरा गर्नुपर्ने कागजातका विषयमा नै जानकारी छ । उहाँले भक्तपुरबाट कालिगढ ल्याएर घर बनाउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गाउँतिर एककोठे घर बन्न थाल्यो । पास हुन्छ रे भन्ने पनि सुनेँ । ज्यान बचाउनका लागि एक कोठे घर बनाउँदैछु ।’ 

गजुरी ठूलो भदौरेकी फूलमाया बिकले पनि एक कोठे घर बनाउन जग राख्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘इन्जिनियरले हेरिसक्नु भएको छ पास हुन्छ भनेर ढुक्क परेको छु । अहिलेसम्म दोस्रो किस्ता पाएको छैन । टहरामा बस्दा बस्दा आत्तिसक्यौँ । डाडाँमा घर छ । चिसो हावा चल्छ ।

भूकम्पपछि बनाएको अस्थायी टहरा पनि भत्किन थाल्यो’ उहाँले भन्नुभयो, ‘कहाँ पकाउने, कहाँ सुत्ने, गाउँघर हो । अलिअलि फलेको अन्नपात पनि त राख्नै पर्‍यो । के गर्नु ? घर बनाउने पैसा छैन । घर त २÷३ कोठाकै चाहिन्थ्यो । एक कोठाको घर बनाउन थाल्दा त ऋण गर्नु पर्‍या छ । फेरि भूकम्प आउँछ होला, भूकम्पबाट बच्न भनेर घर बनाउँदा ऋणले पो चुर्लम्म डुब्ने हो कि ।’

ग्रामीण क्षेत्रमा बाटोघाटो असुविधाका कारण निर्माण सामग्री पुर्‍याउन कठिन छ । बर्खामा गाडी चल्दैन । हिउँदमा त खानेपानी पनि पाइदैन । घर बनाउने पानी ट्याङ्करले बोक्नुपर्छ । ठूलो भदौरेकी सीता सुनारले पनि खर्च पुर्‍याउन नसकेर एक कोठाको घर बनाउन थाल्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘गाउँमा खोजेको समयमा सहज रुपले दक्ष कालिगढ पाइँदैन । थोरैले मात्र तालिम लिएका छन् । गाउँमा धेरै घर बनाउनु छ । उता सरकारले बलैमा घर बनाउनुपर्छ भन्छ । यता हामीलाई समस्या छ । 

भूकम्पपछि सरकारले निकालेको घरका मोडलप्रति अधिकांश प्रभावित सन्तुष्ट छैनन् । ग्रामीण क्षेत्रका प्रभावितलाई सुहाउने किसिमको घरका मोडल नभएको गुनासो उनीहरुको छ । स्थानीय स्तरमा पाइने निर्माण सामग्रीले गाउँमा आवश्यक पर्ने घर र कम खर्चमा बलियो बनाउन सक्ने खालको मोडल सरकारले निकाल्न नसक्दा अल्मलिएको प्रभावित बताउँछन् । निलकण्ठ नगरपालिका–९ धादिङका कमल श्रेष्ठले भूकम्पपछि ओत लाग्ने छानो फर्न लामो समय कुर्नुभयो । तर आफूले चाहेको जस्तो घरका मोडल नपाएपछि अहिले इन्जिनियरको सल्लाहमा एक कोठाको घर बनाउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हातमा पैसा छैन । टहरामा पनि कति बस्नु । धेरैको घर बनाइयो, आफुले भने अहिलेसम्म टहरा छाड्न सकिएन, त्यहि भएर एक कोठाको घर बनाउन थालेँ ।’ 

भूकम्पपछि अस्थायी टहराको बसाईले वाक्क भएका कतिपय प्रभावितले आफ्नै सुरमा घर बनाए । भवन आचारसंहिता, पूरा गर्नु पर्ने मापदण्ड, घरका मोडलबिना नै बनाएका कारण केही प्रभावितले सरकारले दिने अनुदान रकम पाएका छैनन् । निलकण्ठ–१२ धादिङका गणेश श्रेष्ठको पनि इन्जिनियरले घर पास हुन्न भनेपछि अहिले अर्काे घर बनाउने तयारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘६ कोठाको २ तले घर छ । फेरी अर्काे घर आवश्यक छैन । भूकम्पपछि घर बनाउँदा लिएको ऋण तिर्न सकेको छैन । यही घर देखाउँदा सरकारले अनुदान रकम पनि दिँदैन ।’

भूकम्पबाट धादिङमा ७५ हजार घरमा क्षति पुगेको छ । तर अहिलेसम्म २२ हजार घर बनेकोे छ । भूकम्प प्रभावितले अहिले एक कोठाको घर बनाइरहेका छन् । तर घरका मोडल र मापदण्डका बारेमा अन्यौलमा छन् । गाउँघरमा आवश्यक र प्रभावितले चाहेको जस्तै घर बनाउन नपाइने भन्ने चाहीँ होइन । 

भूकम्पीय आवास पुनर्निर्माण परियोजना धादिङका प्रमुख अमर शर्मा भन्नुहुन्छ, ‘इन्जिनियरको निगरानीमा दक्ष कालिगढबाट मापदण्डमा रहेर घर बनाउनु पर्दछ । प्रभावितले आफ्नो क्षमता अनुसार १ कोठा वा त्यो भन्दा बढी कोठाको घर बनाए पनि पाइन्छ । तर सरकारको अनुदान रकम लिन मापदण्ड र प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ ।’ उहाँले सबै प्रभावितलाई छिटो पुनर्निर्माणको काम अघि बढाउन आग्रह गर्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया