MENU

विचार/अनुभूति

ujyaalo forign call inside

म्युचुअल फण्डको लगानी : दुवै हातमा लड्डु

रुपिका मणि - 

यो हप्ता (माघ २ गते) सिआइबिएल क्यापिटलले एक अरब रुपैयाँ संकलन गर्न अघि सारेको सिटिजन म्युचुअल फण्ड माघ ७ गते बन्द हुने सम्भावना छ । 

माघ २ गतेकै दिन एनआईसी एसिया क्यापिटलले पनि एनआइसी एसिया ग्रोथ फण्डको १ अर्ब रुपैयाँका १० करोड कित्ता युनिट (शेयर) बजारमा ल्याएको छ । एनआईसी एसियाको म्युचुअल फण्डको युनिट माघ ८ गतेसम्म किन्न सकिनेछ । म्युचुअल फण्डप्रति युनिट १० रुपैयाँका दरले बिक्री हुन्छन् । 

अहिले बजारमा आएका यी दुईबाहेक भदौ यता सिध्दार्थ क्यापिटलले ल्याएको म्युचुअल फण्ड नेपाल धितोपत्र बोर्डमा सूधिकृत भई दोस्रो बजारमा कारोबार भैरहेको छ । सानिमाले सार्वजनिक गरेको म्युचुअल फण्डको शेयर बाँडफाँड भैसकेको छ र त्यो पनि चाँडै दोस्रो बजारमा सूचिकृत हुने छ । बजारमा आउन अब एनआईबिएल क्यापिटलको अर्को म्युचुअल फण्ड नेपाल धितोपत्र वोर्डको स्वीकृति पर्खेर बसेको छ । अथवा यो आर्थिक वर्षमा ४ वटा म्युचुअल फण्ड सार्वजनिक भैसकेका छन् र अर्को एउटा सार्वजनिक हुने प्रकृयामा छ ।

यसअघि आएका सानिमा र सिध्दार्थ म्युचुअल फण्डमा सार्वजनिक रुपमा मागेको भन्दा धेरै रकम जम्मा भयो । बढी भए पनि आवेदन गर्ने सबैले म्युचुअल फण्ड किन्न पाए । थोरै पैसा हुनेले एक हजार रुपैयाँका सय युनिट र धेरै रकम हुनेले करोडौंको रकम लगानी गर्न पाउने भएकाले म्युचुअल फण्डहरुलाई चाहे जति रकम उठाउन सकस छैन । यो कुरा अहिलेसम्म लगभग प्रमाणित भैसकेको छ । 

नेपालमा धेरै मानिसले आजभोलि म्युचुअल फण्डलाई शेयरमा गरिने लगानीभन्दा सुरक्षित र बैंकको मुद्दति निक्षेपभन्दा लाभकारी भनेर बुझ्न थालेका छन, जुन कुरा सही पनि हो । त्यसैले एनआईसी एसिया र सिआईबीएलको म्युचुअल फण्डका युनिट किन्नेहरुको पनि कमी छैन । 

अहिलेसम्म चलेका म्युचुअल फण्डको विश्लेषण गर्दा स्पष्ट भन्न सकिन्छ –हातमा पैसा भएका तर कहाँ लगानी गर्ने भन्ने भेउ नपाएका मानिसका लागि बैकको म्युचुअल फण्ड शेयरभन्दा सुरक्षित र बैकको मुद्दति निक्षेपभन्दा लाभकारी छ ।

त्यसैले, तपार्इँसित केही वर्ष चलाउन नपर्ने गरी हजार वा लाख वा त्यो भन्दा पनि बढी पैसा छ भने ढुक्कले म्युचुअल फण्डमा लगानी गर्दा हुन्छ । किनभने यो कानूनी रुपले सुरक्षित छ । व्यवस्थापनका हिसावले व्यवसायिक हुँदै गएको छ । सरकारका नीति र प्राथमिकतामा माथि परेको छ र नाफा तथा प्रतिफलका हिसावले शेयरभन्दा सुरक्षित र मुद्दति खातामा राखेको रकमको ब्याजभन्दा धेरै प्रतिफल पाइने खालको छ ।  

कानुनी रुपले सुरक्षित 

म्युचुअल फण्डको रकम परिचालनलाई कानुनले व्यवस्थित गरेको छ । यस्तो म्युचुअल फण्ड सार्वजनिक गर्नुअघि जारी गर्ने क्यापिटल कम्पनीले म्युचुअल फण्ड नियमावली २०६७ र म्युचुअल फण्ड निर्देशिका २०६९ अनुसार विभिन्न प्रकृया पूरा गर्नुपर्छ । धितोपत्र बोर्डबाट स्वीकृति पनि लिनुपर्छ ।

धितोपत्र बोर्डबाट स्वीकृति लिएर बजारमा पैसाको माग गर्नुअघि यस्ता फण्डको उपयोग केमा गर्ने, नाफा कति हुने, प्रतिफल कसरी दिइने, लगानी केमा गर्ने, कस्ले अनुगमन, सुपरभिजन तथा लेखा परिक्षण गर्ने जस्ता मापदण्ड पूरा गर्नुपर्छ । साथै लगानी र प्रतिफलको सम्पूर्ण योजना, सञ्चालक, व्यवस्थापकहरुको विवरण सार्वजनिक गर्नु पर्छ । त्यसपछि मात्र धितोपत्र बोर्डले यस्ता फण्डहरुलाई सार्वजनिक गर्न स्वीकृति दिन्छ ।  

व्यवस्थापनमा व्यवसायिकता : म्युचुअल फण्डको रकम व्यवसायिक व्यक्तिहरुले परिचालन गर्छन् । नेपालमा म्युचुअल फण्डको व्यवस्थापन र परिचालन गर्ने काम क्यापिटल कम्पनीहरुले गर्दै आएका छन् । क्यापिटल कम्पनीहरुका धेरै काममध्येको एउटा मुख्य काम पूँजीकोष निर्माण गर्ने, लगानीका क्षेत्र पहिचान गर्ने, लगानी गर्ने र त्यसको व्यवस्थापन गर्ने हो । क्यापिटल कम्पनीमा म्युचुअल फण्डको रकम कसरी कहाँ, कुन क्षेत्रमा कति र कसरी लगानी गर्ने र फाइदा लिने भन्ने विषयमा विज्ञहरुले काम गर्छन् ।

र, त्यसै अनुसार लगानी गर्छन । यसरी गरिएको लगानी र त्यसको प्रतिफलको हरेक महिना प्रगति विवरण सार्वजनिक हुन्छ । त्यसैले, रकम लगानी गर्दा नाफा हुन्छ कि हुँदैन भनेर लगानी गर्ने व्यक्तिले रातदिन चिन्ता गर्नु पर्दैन । चिन्ता नगरी र समय खर्च नगरी लगानी सुरक्षित गर्नेहरुका लागि म्युचुअल फण्ड लगानीको राम्रो क्षेत्र हो । 

कर छुट र सरकारको प्राथमिकता

सरकारी नीतिले पनि म्युचुअल फण्डलाई पर्याप्त प्राथमिकता र सुविधा दिएको छ । म्युचुअल फण्डमा लगानी गरेको रकमको नाफा र व्याजमा सरकारले ट्याक्स छुट दिएको छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । अथवा म्युचुअल फण्डमा हुने नाफामा तपाईँले जग्गा, व्यवसाय वा शेयरमा नाफा हुँदा सरकारलाई तिर्नु परे जस्तो लाभ कर तिर्नु पर्दैन ।

त्यसमाथि सरकारले नेपालमा जारी गरिने प्राथमिक शेयर निस्कासन गर्दा कम्तिमा ५ प्रतिशत शेयर म्युचुअल कम्पनीलाई बेच्नैपर्ने व्यवस्था गरेको छ । अथवा व्यक्तिले किन्न चाहेर पनि किन्न नपाउने सस्तो मूल्यका शेयर म्युचुअल फण्डहरुले हकदाबीका साथ किन्न पाउँछन् । सरकारले म्युचुअल फण्डलाई दिएको यो सुविधाले यस्ता फण्डहरु घाटामा जाने अवस्थाबाट माथि नै रहन्छन् ।

दुवै हातमा लड्डु

अन्तिम र गाँठी कुरा म्युचुअल फण्डले दिने नाफा र प्रतिफल हो । नाफा र प्रतिफल भित्र मुलत तीन खालका फाइदा छन् । 

पहिलो फाइदा : म्युचुअल फण्डमा किनेको युनिट (शेयर) निश्चित समयपछि धितोपत्र बजारमा सूचीकृत हुन्छ र नेपाल स्टक एक्सचेञ्जमा कारोवार गर्न पाईन्छ । गत भदौमा सार्वजनिक भएको सिध्दार्थको म्युचुअल फण्ड अहिले दोस्रो बजारमा कारोवार हुन थालेको छ । दोस्रो बजारमा सूचीकृत भएपछि तपाई चाहेको समयमा यसलाई बेच्न सक्नुहुन्छ । १० रुपैयाँमा किनेको युनिटको मूल्य बढ्दै गएपछि वा आफुलाई चाहिएको बेलामा दोस्रो बजारमा यो युनिटको किनबेच गर्न सकिन्छ । 

दोस्रो फाइदा : म्युचुअल फण्डहरुले गरेको नाफाबाट हरेक वर्ष लगानीकर्तालाई निश्चित प्रतिफल दिन थाल्छन् । केही म्युचुअल फण्डहरुले गत वर्ष दिएको प्रतिफल बैंकको मुद्दति खातामा राखेको व्याजबाट आउने रकमभन्दा निकै बढी छ र लोभलाग्दो पनि छ ।

गत वर्ष सबैभन्दा कम प्रतिफल दिएको एनआइबीएल सम्बृध्दि १ ले यसका लगानीकर्तालाई १८ प्रतिशत नाफा बाँडेको थियो । सोही समयमा सिध्दार्थ ईन्भेष्टमेण्ट ग्रोथ स्किम १ ले सबैभन्दा धेरै सयकडा ६० का दरले नाफा वितरण गरेको थियो । साउँ पनि बढ्दै जाने र नाफा पनि वर्षैपिच्छे पाइने, त्यो पनि बैकको मुद्दति निक्षेपमा राखेको रकम भन्दा धेरै ! म्युचुअल फण्डहरुले बितेका केही वर्षदेखि दिएको वार्षिक नाफा बैंकको मुद्दति खाताभन्दा धेरै छ । थप साउँ पनि बृद्धि भैरहन्छ ।

अन्तिम फाइदा : लगानीकर्ताले योजनाको अन्तमा लगानी गरेको रकम फिर्ता पाउँछन् । नेपालमा अहिले आएका सबै म्युचुअल फण्ड निश्चित अवधिमा बन्द हुन्छन्, त्यसैले यिनलाई बन्दमुखी योजना पनि भनिन्छ । नेपालमा धेरै म्युचुअल फण्डहरु कि त ५ वर्षका लागि कि त ७ वर्षका लागि सार्वजनिक गरिएका छन् । यस्ता फण्डहरुको आकार नाफा अनुसार बढ्दै जान्छ र बन्द हुने वर्षमा सरदर दोव्वर हुन्छ ।

यसको सोझो अर्थ हो, अहिले तपाईंले किनेको १० रुपैयाँको युनिट तपाईंले आफ्नो रकम फिर्ता पाउने बेलामा डेढी, दोब्बर वा तेब्बरसम्म भएर फर्किन्छ । अथवा तपाईंको लगानी वर्षैपिच्छे मुद्दतिमा पाइने भन्दा बढी व्याज खाएर पनि निश्चित अवधिमा डेढी, दोब्बर वा तेब्बर भैसकेको हुन्छ । 

निर्णय आफै गर्ने हो  

अहिले बजारमा रहेका एनआईसी एसिया र सिआईबिएलका म्युचुअल फण्डले बर्सेनि कम्तिमा पनि बचत खातामा राखेको रकमभन्दा बढी प्रतिफल दिने प्रतिबध्दता सार्वजनिक नै गरेका छन् । फण्ड व्यवस्थापन गर्ने दुवै क्यापिटल कम्पनी आ–आफ्ना माउ कम्पनी अथवा एनआईसी एसिया बैंक र सिआईबिएल बैंकको पूर्ण स्वामित्व भएका कम्पनी हुन् । 

माउ कम्पनीमध्ये एनआईसी एसियाले बितेका तीन वर्षदेखि यसका शेयर होल्डरलाई प्रतिवर्ष सरदर ३५ प्रतिशतभन्दा धेरैनाफा वितरण गरिरहेको छ ।

सिआईबिएल क्यापिटलको माउ बैंकले बर्सेनि शेयर होल्डरलाई बाँड्ने नाफा सरदर २० प्रतिशत छ । त्यसैले, बजारमा रहेका दुवै म्युचुअल फण्डहरुले औसतभन्दा बढी नाफा र प्रतिफल दिन्छन् भन्ने आशा गर्न सकिन्छ । तर म्युचुअल फण्डमा लगानी गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय त आफैले गर्ने हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया