MENU

समाज

ujyaalo forign call inside

रानीपोखरी पुननिर्माणको लागि विज्ञ समुहले प्रतिवेदन बुझायो (प्रतिवेदन सहित)

काठमाडौं, माघ ७ – रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले मल्लकालीन शैलीमा नै रानीपोखरी निर्माण गर्न काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई सुझाव दिएको छ ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वमा गठित विज्ञ समुहले प्रतिवेदन बुझाउँदै यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोही अनुसार नै निर्माण गर्न मेयर शाक्यलाई सुझाव दिएको हो ।

यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कंक्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न प्रतिवेदनमार्फत सुझाव दिएको बताउनुभयो ।

सुझाव प्रतिवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययन गरेपछि रानीपोखरीको निर्माण कसरी र कहिलेदेखि गर्ने भन्ने विषयमा टुंगोमा पुगिने बताउनुभयो ।

रानीपोखरी निर्माणका क्रममा उत्पन्न भएको विवाद समाधानका लागि पुस १३ गते विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो । विज्ञ समुहले १० दिन ढिला गरी आज प्रतिवेदन बुझाएको हो । 

 
 
रानीपोखरी जीर्णोद्धार सम्बन्धी अध्ययन प्रतिवेदन
 
प्रस्तुतकर्ताः
 
अध्ययन टोली
 
माघ २०७४
 
विषयसूची
 
पृष्ठभूमि
 
अध्ययनको औचित्य
 
ऐतिहासिक परिचय
 
रानीपोखरीको पुरानो क्षेत्रफल
 
लक्ष्य र उद्देश्य
 
पोखरीको सतह
 
पोखरीको वाह्य गाह्रो र पेटी
 
पोखरी निर्माणमा कालीमाटीको प्रयोग
 
बालगोपालेश्वर (हरिशंकरी) मन्दिरको शैली निरुपण १०
 
अनुसन्धानबाट प्राप्त परिणाम ११
 
सिफारिस १२
 
पहिलो चरण १२
 
दोस्रो चरण १३
 
तेस्रो चरण १३
 
दीर्घकालिन कार्यहरु १४
 
निस्कर्ष १५
 
सन्दर्भ सामाग्री १६
अनुसूची १ :  अध्ययन प्रतिवेदन विशेषज्ञ टोलीको गठन
 
अनुसूची २ : रानीपोखरी निर्माणमा प्रयोग भएका ईट्टा एवं अन्य पुरातात्विक बस्तुहरुको विवरण
 
अनुसूची ३ :  A Preliminary Report of the Trail Excavations of Ranipokhari,प्रतिवेदन
 
अनुसूची ४ :रानीपोखरी जीर्णोद्धारसम्बन्धी अध्ययन प्रतिवेदन
- प्रस्तुतकर्ता अध्ययन टोली
२०७४ पौष २६
पृष्ठभूमि
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक तथा अन्य सम्बद्ध अधिकारीहरुको उपस्थितिमा मिति २०७४/९/१३ मा बैठक बसी रानीपोखरीलाई प्रताप मल्ल कालिन शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरी पुनः निर्माण गर्ने सम्बन्धमा अध्ययन गरी १५ दिन भित्रमा सुझाव सहितको प्रतिवेदन पेश गर्न विशेषज्ञ समितिको गठन गरिएकोमा पुरातात्विक उत्खान एवं नागरिक समाजसंग समेत रानीपोखरीको जीर्णोद्धारका लागि सुझाब लिन १० दिन म्याद थप गरिएको छ । 
 
अध्ययनको औचित्य
काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभाग समेतको संयुक्त बैठक बसी मिति २०७४ पौष १३ गतेको निर्णयानुसार गठित विशेषज्ञ समितिले सल्लाहाकार, संवद्द सरोकालवाला तथा चासो राख्ने महानुभावहरु समेतको विच सार्वजनिक सुनुवाईवाट राय सुझाव संकलन गरी रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक सम्पदा र पोखरीको हालको अवस्थिति समेतको अध्ययन विश्लेषण, उत्खनन गरी यो प्रतिवेदन प्रस्तुत गरेका छौं ।
 
सम्पदा जीर्णाेद्धार कार्यमा ऐतिहासिक कालदेखिनै मौलिकता र सम्बेदनशिलतालाई विशेष प्रार्थमिकता दिएको पाइन्छ । लिच्छविकालमा पनि सम्पदाको जीर्णोद्धार गर्दा सम्पदा निर्माणमा प्रयोग भएका सामग्रीहरुनै पुननिर्माणमा प्रयोग गर्ने परम्परा रहेको थियो । केही विशेष परिस्थिति बाहेक जीर्णोद्धारमा यथासम्भब सम्पदाको ऐतिहासिक एवं मोलिक स्वरुपलाई कायम राख्ने सम्बन्धमा प्राणप्रतिष्ठा एवं प्रचलन आदि विधिहरुबाट पनि प्रमाणित हुन्छ ।
 
नेपालमा विभिन्न समयमा घटेका प्राकृतिक विपद एवं भूकम्पिय क्षतीका कारण सम्पदा जीर्णोद्धार गर्दा केही परिवर्तनका साथै शैली र स्वरुपमा पनि परिवर्तन नभएका होईनन् तथापि सामाग्रीको प्रयोगमा र स्वरुपको परिवर्तनमा विशेष ख्याल दिएको उदाहरणहरु राणाकालिन इतिहासमा पाईन्छ ।
 
यस्तै २०७२ बैशाख १२ गते आएको विनासकारी भूकम्पबाट धेरै सम्पदाहरु क्षतीग्रस्त हुनपुगे । मौलिक स्वरुप, शैली र प्रविधिको विनासबाट सोको जीर्णोद्धार एवं पुनर्निर्माण कार्यमा नविनतम सामाग्री र सम्पदाको प्रयोगमा आधुनीकिरणका विचार र अवधारणाहरुले समेत प्रशय पाउंदैआएको देखिन्छ । तथापि सम्पदा सम्बन्धी जीर्णोद्धारका सिद्धान्तहरु अनुशरण गरी मौलिकताको जगेर्ना गर्ने कार्यमा विशेषरुपमा जनअभिमत पनि मुखरित हुंदै आएका विषयहरुले नुतन प्रविधि र आधुनिक सामाग्री तर्फ पाईला बढाई रहेका विचारहरुलाई रोकथाम गर्ने र मौलिकता तर्फनै डो¥याउने कार्यमा विशेष योगदान दिएको देखिन्छ । त्यसैको परिणाम स्वरुप रानीपोखरीको जीर्णोद्धार एवं सुधार गर्ने कार्यलाई पनि पुरानै स्वरुप र शैलीमा लैजानु पर्छ भन्ने नेपाल सरकारको समेत अभिमत रहेकै कारणनै यसको अनुसन्धान एवं जीर्णोद्धार प्रतिवेदन तयार गर्ने औचित्य रहेको देखिन्छ ।
 
ऐतिहासिक परिचय
रानीपोखरीको विषय सर्बप्रथम सूचना सोही पोखरीको निर्माण विभिन्न तीर्थजलबाट पानी भर्ने कार्य, सांध—सिमाना तथा त्यसको उपयोग सम्बन्धमा राजा प्रताप मल्लले राख्न लगाएको शिलालेख हो । जसबाट ने.सं. ७९० आश्विनको मिति उत्किर्ण छ । 
 
यो पोखरीको निर्माण कार्यकरिब ५ बर्षमा सम्पन्न गरिएको थियो र ई.सं. १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमान) का दिन पोखरीको शिलान्यास गरिएको थियो । उक्त कुरा थ्यासफूमा पाइन्छ । जस्मा नेवारीमा पुखुरीसोङा अर्थात् पोखरीको जग हालियो भनी उल्लेख गरिएको छ । ई.सं. १६६९ फेब्रुवरी (ने.सं.७८९ सिलाथ्व १३) अर्थात् वि.सं. १७२५ माघ शुक्ल १३ का दिन पोखरीको बिचको देवलको अग्निहोत्र प्रतिष्ठा गरियो । यसको ४ दिन अघि अग्निस्थापना गरिएको थियो । (पन्त पूर्णिमा १३७ : ५१) प्रतिष्ठाका दिनमा ललितपुरका राजा श्रीनिवास मल्लको पनि उपस्थिति रहेको थियो । देवल प्रतिष्ठा गरिसकेपछि मन्दिरको मूलगर्भ गृहमा देवी हरिशंकरी (झंकेश्वरी पनि भनिन्छ) को प्रतिमा प्रतिष्ठा गरिएको देखिन्छ ।
 
हरिशंकरी — हरि (विष्णु) र शंकर (महादेव) को शक्ति लक्ष्मी र पार्वतीको गरुड र सांढेमा आरुढ अर्धनारीको मूर्ति हो । यो अर्धनारीको मूर्ति प्रतिमा लक्षण एवं सुन्दरताका दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ । बैष्णव र शैब संप्रदायलाई प्रतिनिधित्व गराई राजा प्रतापमल्लले आफ्नो तान्त्रिक धारणाको प्रतिस्वरुपका रुपमा निर्माण गर्न लगाएका थिए । यस कृतिबाट बैष्णब तथा शैब संप्रदायका शक्तिस्वरुपा देवीको मूर्ति बनाई प्रतिष्ठा गर्नाले उनको तान्त्रिक अभिमत प्रष्ट हुन्छ । 
 
प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब ५ बर्ष भित्र सम्पन्न अर्थात् ने.सं. ७८९ (वि.सं. १७२५) मा भएको थियो र ने.सं. ७९० (वि.सं. १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो । जसलाई नेपाल संबत् ८११  ई.सं. १६११)क मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ । जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।
 
प्रतापमल्लले निर्माण गरेको बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टी गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरकोशैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । उक्त चित्र ई.सं. १८४५ फेब्रुवरीमा तात्कालिन प्रुसिया देशका राजकुमार वाल्डमार नेपालमा घुम्न आंउदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो । (कैलाश ७ : १, ३५/५०) । यस विषयलाई उनी भन्दा १२४ वर्ष अघि अर्थात ई.सं. १७२१ (८४१ अर्थात वि.सं. १७७८) मा ईटालीका जेस्वीट् ईपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कनेक्रममा काठमाडौं हुंदै आएका थिए । उनले आफ्नो यात्रा वर्णनमा यस प्रकार लेखेका छन्- There is a large pond outside the main city gate with flights of steps and banks sloping down to the water. There was a tall column at the centre resting on a magnificent pedestal. (Ranipokhari — Wikipedia, footnote) उनको यस कथनले पनि प्रताप मल्लले निर्माण गर्न लगाएको बालगोपालेश्वर (हरिशंकरी) को मन्दिर ग्रन्थकूटशैलीमा थियो भन्ने कुरा पुष्टि हुन्छ । 
 
ई.सं. १८५० मा ब्रिटिश रेसिडेन्सीमा सर्जन भएर खटिएका एच.ए. ओल्डफिल्ड (जन्मः ई.सं. १८२२— मृत्युः ई.सं. १८७१) नेपाल आएका थिए । उनी १८५० देखि १८६३ सम्म नेपालमै बसेका थिए । उनले दुई भागमा (Sketches from Nipal) को पुस्तक लेखेका थिए। तिनले रानीपोखरी बारे महत्वपूर्ण कुरा लेखेका थिए । 
 
  
 
उनले रानीपोखरीको बीचमा भएको, त्यो “अत्यन्तै शुरम्य वस्तु (Very Picturesque Objects) भएको, जसलाई जंगबहादुरले ई.सं. १८५१ मा भत्काई “ईट्टा र प्लास्टरको कुरुप संरचना” बनाएको कुरा लेखेका छन् ।
 
 
 
जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर ई.सं. १९३४ (वि.सं. १९९०) को महाभूकम्पले क्षती पु¥यएकोले हाल पछिल्लो शैलीमा जुद्ध समशेरले पुनर्निमाण गर्न लगाएका थिए । उनले जंगबहादुरले निर्माण गर्न लगाएको गुम्बजाकार शैली भन्दा केही भिन्न गुम्बजाकारशैलीको शिखर मन्दिर निर्माण गर्न लगाएका थिए । उनले मन्दिरको पुनर्निमाणका साथसाथै पोखरीको गाह्रो लगायतका क्षेत्रमा समेत मर्मत गर्नलगाई पोखरीको संरक्षण कार्य गरेको हालको पुरातात्विक उत्खननबाट समेत स्पष्ट हुन्छ ।
 
उत्खननबाट पेटीमा प्रयोग भएका जुद्ध अंकित विं.सं. १९८९ लेखिएका ईट्टाहरुबाट स्पष्ट हुन्छ । वि.सं. १९९० को महाभूकम्प लगत्तै रानीपोखरीको जीर्णोद्धार कार्यलाई पनि पहिलो प्रार्थमिकता दिएको पाइन्छ । रानीपोखरी जीर्णोद्धार कार्यको आरम्भ उनले वि.सं. १९८९ का जगेडा ईट्टाहरुबाट निर्माण गरेको देखिन्छ । जसले भूकम्पपछि रानीपोखरीको जीर्णोद्धार कार्य तत्काल शुरु गरेको प्रमाणित हुन्छ । 
  
रानीपोखरीको पुरानो क्षेत्र 
प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर ४ वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्ति सहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । 
उल्लेखित क्षेत्र बाहिरको रानीपोखरीको क्षेत्रफलको विवरण निम्नानुसार रहेको उल्लेख गरिएको छ । 
 १) वायब्य (उत्तर–पश्चिम) कोणमा ढुंगाको किलो (लोहंकिल) जुन प्राप्त छ । 
 
२) ईसानकोण (उत्तर–पूर्व) लोहंकिल हल प्राप्त छैन । 
 
३) आग्नेयकोण (दक्षिण–पूर्व) मा लोहंकिल हाल प्राप्त छैन ।
 
४) नैऋत्यमा (दक्षिण–पश्चिम) लोहंकिल हाल प्राप्त छैन ।
 
वायव्यकोण (उत्तर–पश्चिम) को लोहंकिल रानीपोखरीको कुनाबाट ४० गजको दुरीमा राखिएको, ईशानकोण शूरु समशेरको हिटी दरबार तर्फ रानीपोखरीको ईशानकोणबाट २५० गजको दुरीमा रहेको, नैऋत्य तर्फ वीर अस्पताल, भोटाहिटी सबवे तर्फ रानीपोखरीको नैऋत्यकोणबाट ८० गजको दुरीमा रहेको उल्लेख पाइन्छ । (क्लार्क, १९५७ ः १६७) 
  
 
मूल रानीपोखरीको क्षेत्रफल - लम्बाई तर्फ १८० मिटर र चौंडाई तर्फ १४० मिटर ओगटेको छ । - (पुरातत्व इतिहास र संस्कृति डा. साफाल्य अमात्य, २०८६ असोज, पा.नं. १८) ।
 
लक्ष्य र उद्देश्य
राजा प्रताप मल्लले निर्माण गर्न लगाएको रानीपोखरीको पवित्रता र महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिणत गर्न राजा प्रताप मल्लले विभिन्न तीर्थस्थलका जल ल्याई राख्न लगाएका थिए । धार्मिक पवित्रताको कारण प्रत्यक्ष प्रमाणको आधारमा अरुनै उपायद्वारा दोषी र निर्दोर्षी छुट्याउने विधि पनि यस पोखरीमा डुबाएर जल दिव्यपरीक्षा गरिन्थ्यो । जसले रानीपोखरीको धार्मिक एवं सांस्कृतिक महत्वलाई स्पष्ट गर्दछ ।
 
त्यसैगरी चाँगुनारायणको कलशयात्रा ल्याउंदा रानीपोखरीको उत्तर तर्फ रहेको पाटीमा विश्राम गराई सोको स्वागतका लागि हनुमानढोकाबाट विशेष स्वागत टोली गई कलश आवहान गरी हनुमानढोका दरबार भित्र भित्र्याउने चलनले स्पष्ट हुन्छ । त्यसैगरी रानीपोखरी शहर प्रवेश गर्ने द्वारको अग्रस्थानमा रहेको हुंदा सोस्थानबाट राजकीय पाहुनाहरुको सम्मान गरी दरबारतर्फ ल्याउने परम्परा पनि रहेको देखिन्छ ।
 
यस्तै यस्तै परम्पराहरुले र पोखरीको चारैतर्फ निर्माण गरिएका मन्दिर एवं देवता र उत्तर तर्फको माधवनारायणको पादपिठमा उत्किर्ण भएको अभिलेखमा - थरीथरी नागका मणिले चम्किएको यस पोखरीमा प्रसन्नभई बागमती नदी सधैं बस्न उत्कण्ठित हुनुहुन्छ, सबै देवताहरुसंग बैकुण्ठनाथले यहाँ आउनु खोज्नु भयो । झ्वाट्ट कांशी छोडेर विश्वनाथ खुशी भै यहाँ आउनु भयो । - (डा. महेश राज पन्त) । जस्ता उक्तिले रानीपोखरीको सौन्दर्यता र महिमा स्पष्ट हुन्छ । 
रानीपोखरीको सांस्कृतिक महत्व लगायत निर्माण प्रविधि पनि उत्तिकै महत्वपूर्ण छ ।
 
रानीपोखरीमा जम्ने पानीलाई स्थायित्व दिन पोखरीका चारैकुनामा ढुंगेधाराहरुको निर्माण गर्नु र ति धाराहरुबाट निस्किएका पानी र वर्षाद्को पानी पोखरीमा प्रवेशगराउन अपनाईएका प्रविधि एवं पोखरीको पानीको निकास व्यवस्थापन अतिनै महत्वपूर्ण विषयहरु हुन् ।
 
साथै जमिनको पिंधमा रहेको जरुवा पानी भन्दा माथि बालुवा र कालोमाटोको विभिन्न सतहहरु बनाई पानी संचय व्यवस्थापनमा पाईने परम्परागत प्रविधिको प्रयोगले रानीपोखरीको महत्वलाई उजागर गरेको छ । हाम्रा परम्परागत पोखरी निर्माण गरी पानी संचय गर्ने प्रविधिलाई बचाउन निरन्तर रुपमा यस्ता पोखरीहरुको संरक्षरण र सम्बर्धन गर्नु आवश्यक छ । 
 
रानीपोखरी जीर्णोद्धार गर्नेक्रममा देखिएका समस्या एवं विवादको निराकरण गर्न मौलिक शैली, स्वरुप र सामाग्रीको यथार्थ निरुपण गरी टुंगोलगाउन पुरातात्विक उत्खननको माध्यमबाट प्रमाणिक रुपमा यथार्थ बस्तुस्थितिको जानकारीका लागि निम्न बमोजिमका कार्यहरु गरियो :
 
(क) पोखरीको पर्खालको शैली
रानीपोखरीको दक्षिण–पश्चिम तर्फ गरिएको उत्खननबाट पोखरीको पर्खालको शैलीको स्वरुप प्राप्त भएको छ । जसको भुईंतहमा एक तहको ईंट्टा बिछ्याई सोभन्दामाथि ४ तहको माछीकांडेशैलीमा ईंट्टा राखी सोलाई बाँध्न एकतहको फ्ल्याट ईंट्टा विछ्याई सोभन्दामाथि ठाडो ईंट्टा राखी सोलाई अड्याउन पुनः फ्ल्याट ईंट्टा राखिएको र सोभन्दामाथि २ सल माछीकांडे स्वरुपमा ईंट्टा राखी सोलाई पनि बाँध्न पुनः फ्ल्याट ईंट्टा सोलिङ्गराखी सोभन्दामाथि ठाडो ईंट्टाद्वारा निर्माण गरिएको छ । 
 
पोखरीको माथिल्लो सतह देखि ९० से.मि.सम्म उत्खनन गर्दा उक्त सतहमा रहेको बालुवाबाट पानी उम्रिएको अवस्था उत्पन्न भएकाले सो सतह पोखरीको मौलिक सतह भएको अनुमान गर्न सकिन्छ ।
 
यस सतहभन्दा माथि कालिमाटीको सतह (२ देखि ४ ईन्च मोटाई) र सोभन्दा माथि २ देखि ४ ईन्चको बालुवाको सतह र सोभन्दा माथि कालिमाटीको २ देखि ४ ईन्च मोटाईको सतह प्राप्त भएको र सोभन्दा माथि २ देखि ४ ईन्चको बालुवाको सतह प्राप्त भएको बिवरण दोस्रो फोटोबाट देखिन्छ ।र सोभन्दा माथिको पिंधमा हुनुपर्ने कालिमाटीको पत्र भने फ्यालि सकेको देखिन्छ । 
 
पोखरीको वाह्य गाह्रो र पेटीको अवस्थिति
वाह्य गाह्रो र पेटीको अवस्थिति पत्तालगाउनका लागि पोखरीको दक्षिण पूर्वतर्फ राजा प्रताप मल्ल र उनका दुई छोरा सहित हात्ती आरोहण गरेको स्थानको पश्चिम तर्फ उत्खनन कार्य गरिएको थियो । यस उत्खनन कार्यबाट पोखरीको वाह्य गाह्रोको स्वरुप हात्तीपाटीको फोटोग्राफमा देखिएको उक्त गाह्रोको स्वरुप र शैली स्पष्ट हुन्छ । सोे उत्खनन कार्य पोखरीको भित्री गाह्रोसम्म उत्खनन गरेपश्चात् पेटीको लम्बाई, चौंडाई र कति तह छ भन्ने कुराको सुचना प्राप्त गर्न सकिन्छ ।
 
पोखरी निर्माणमा कालीमाटीको प्रयोग
परम्परागत रुपमा पोखरी निर्माण गर्दा कालिमाटीे विशेष रुपमा प्रयोग गरिएको पाइन्छ । कालिमाटी आफैंमा चिसो रहने र उछाल क्षमता ९ब्दष्ष्तिथ या द्यगयथबलअथ० हुनेहुंदा त्यसको प्रयोग बैज्ञानिक दृष्टिले पनि उपयोगी सिद्ध हुन्छ । जसले पानी जम्न, पोखरी चर्कनबाट रोक्न, पानी चुहिनबाट छेक्ने क्षमता र आफैंमा न्यून क्षयीकरणीय गुण विद्यमान हुनेहुनाले पुर्खाहरुबाट पोखरी निर्माण गर्दा कालिमाटीको महत्वलाई पहिचान गरी प्रयोग गर्दै आएको पाइन्छ ।
 
पोखरी निर्माण गर्दा पिंधको सतहमा बिभिन्न तह र पोखरीको गाह्रोको वाह्य तर्फ कालिमाटीको प्रयोग गर्ने गरेको मध्यकालिन पोखरीहरुमा पाइन्छ । त्यसै अनुरुप यो पोखरीको पानी जम्ने सतह भन्दा मुनी विभिन्न तहमा २ ईन्च देखि ४ ईन्चसम्म मोटाईको कालीमाटीको सतह र पोखरीको गाह्रोको बाह्य तर्फ २ फिट मोटाई सम्मको कालीमाटीको सतह निर्माण गरिएको उत्खननबाट प्राप्त भएको छ ।
 
अनुसन्धानबाट प्राप्त परिणाम
पोखरीको पुरातात्विक एवं ऐतिहासिक तथ्यको खोजीगर्ने क्रममा विभिन्न परिणामहरु प्राप्त भएका छन् । प्राप्त परिणामहरुका आधारमा परम्परागत रुपमा पोखरी निर्माण गर्नुपर्ने देखिन्छ ।
 
सो आधारमा निर्माण गरी पुरानो दक्षता, प्रविधि र स्वरुपको निरन्तरता हुने र मौलिकता कायम हुनेहुंदा प्रताप मल्लकालिन पोखरीको सतह निर्माण प्रविधि, गाह्रोको शैली एवं स्वरुप, मौलिक सामाग्रीहरुको प्रयोग गर्नाले परम्परागत प्रविधिको निरन्तरता एवं ज्ञानको स्थानान्तरण हुंदै जाने देखिन्छ ।
 
यसले हाम्रा ऐतिहासिक कालमा सिर्जना भएका शिप र ज्ञानको अवस्था कस्तो थियो भन्ने विषयलाई प्रमाणीकरण गर्नुका साथै त्यस्तो ज्ञान र शिपको उन्नतिमा भएको बैज्ञानिक प्रगति समेतलाई ईंगित गर्दछ । 
 
सिफारिस
छोटो समयावधीमा विशेषज्ञ टोलीद्वारा गरिएको अध्ययन तथा अनुसन्धानका आधारमा पोखरीको मौलिकता कायम राखी जीर्णोद्धार कार्य गर्ने निम्न बमोजिमको सिफारिस गरिएको छ । जीर्णोद्धार कार्यलाई निम्न चरणहरुमा विभाजन गरी कार्यारम्भ गरिनुपर्ने साथै जीर्णोद्धार कार्यअवधिभर स्थानीय सरोकारवालाहरुलाई पनि समावेश गरिनु पर्ने :
 
(क) पहिलो चरण
ड्ड प्राप्त अनुसन्धानका आधारमा प्रताप मल्लकालिन ग्रन्थकुट शैलीको प्रमाणित रुपमा चारैतर्फका ढोकाका ठेलो समेत प्राप्त भएको हुँदा र पुरानो कोरिएको चित्र समेतका आधारमा मन्दिरको विस्तृत विवरण तयार गरी ग्रन्थकुट शैलीमा मन्दिर निर्माणको कार्य आराम्भ गर्ने ।
 
पोखरीको विभिन्न अवस्था र स्थितिलाई पत्ता लगाई परम्परागत स्वरुपमा जीर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसंधान कार्य अघि बढाउने ।
 
पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा संचालन गरिएका पानीका स्रोतहरुको अनुसन्धान गरिनु पर्ने र पोखरीमा पानी प्रवेश गराउने क्ष्लभितरइगतभित को खोजी गर्ने ।
 
पोखरीको मौलिक स्वरुप र संबेदनशिलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिमको कार्यारम्भ गर्नुपर्ने । 
 
पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्नुपर्ने ।
ड्ड बालगोपालेश्वर मन्दिरसम्म जाने बाटोको रुपमा निर्माण भएको पुलको जीर्णोद्धार गर्नुका साथै उक्त पुलमा लगाईएको बार परम्परागत शैलीमा निर्माण गर्नुपर्ने र पुलको फाउण्डेसन एवं सोमाथिको गाह्रो जीर्णोद्धार गर्नुपर्ने । 
 
बालगोपालेश्वर मन्दिरमा राखिएका मकराकृति धाराहरु मध्ये नयाँ स्वरुपमा निर्माण गरिएका धाराहरु हटाई एकरुपता त्याउन पुरानो बमोजिमको शैलीमा निर्माण गरी जडान गर्नुपर्ने । 
 
पोखरीको जीर्णोद्धार कार्य संचालन गर्न आवश्यक परिमाणमा प्रतापमल्लकालिन गुणस्तरका ईंट्टाहरुको निर्माण ब्यबस्थापन कार्य अगाडि बढाउनु पर्ने ।
 
(ख) दोस्रो चरण
ड्ड रानीपोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचनाहरु हटाई पुरानै स्वरुपमा निर्माण गर्ने ।  
 
हाल पोखरीको पूर्र्व र दक्षिणतर्फको आधाभागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिललाई बचाउने कार्य गर्ने ।
पोखरीको संकलित पानी स्थायित्वका लागि आवश्यक प्राविधिक उपायहरु अवलम्बन गर्नुपर्ने । 
 
(ग) तेस्रो चरण
ड्ड जीर्णोद्धार पश्चात् पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौंन्दर्यीकरण  गर्ने ।
 
रानीपोखरी स्थित चारैकुनामा निर्मित मन्दिरहरुलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको आवश्यक जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक कृयाकलापहरु सुचारु गर्ने । 
 
रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा संचालन हुने बार्षिक भाईटीका जस्ता कार्यक्रमहरुलाई जीवन्तता प्रदान गर्ने । 
रानीपोखरीको उत्तरतर्फ निर्माण भएका भवनहरु हटाई परम्परागत रुपमा संचालन भई आएको चांगुनारायणको कलश यात्रा विश्रामस्थल भएको ठाउंको सम्पदालाई मर्मत संभार गरी सोको सांस्कृतिक महत्वलाई अभिबृद्धि गर्ने ।
 
प्रतापमल्ल सहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्ने । 
उक्त हात्तीको पूर्वतर्फ निर्मित शिव मन्दिरको सुधार एवं नित्यपूजा संचालनमा ल्याउने ।
वर्षादको पानी पोखरीमा संग्रह गर्ने प्रविधि सहितको स्रोत व्यवस्थापन गर्ने ।
नगरपालीकाद्वारा निर्मित भोटाहिटीको सबवेमा प्राप्तभएको पानीको स्रोत पोखरीमा परिचालन गर्ने सम्बन्धमा अनुसन्धान गर्ने ।
 
 
(घ) दीर्घकालिन कार्यहरु
रानीपोखरीको पानी सुक्नबाट जोगाउन - रानीपोखरी हाल बाटोको सतहभन्दा १९ फिट तल रहेको हुंदा सोभन्दा मुनीको सतहमा रहेको पानी सुक्नबाट जोगाउन अन्य कृतिम माध्यमद्वारा कम्तिमा १००० मिटर वरपर डिपटूववेल जस्ता पानी निकाल्ने प्रविधिलाई प्रयोगमा निषेध लगाउनेर हाल भैरहेका त्यस्ता कार्यहरु निरुत्साही गर्नकाठमाडौं महनगरपालिकाले नीति बनाउने ।
 
पोखरीमा जमेको पानी शुद्धताका लागि समय-समयमा पानी परिक्षण स्वच्छताका लागि अन्य आवश्यक उपायहरुका लागि विशेषज्ञहरुको राय परामर्श अनुसार कार्य गर्ने । 
 
पोखरीको सांस्कृतिक एवं प्राकृतिक वातावरण कायम राख्ने कार्यहरु निरन्तर रुपमा गर्ने गराउने । 
पोखरीको पानीको प्राकृति शुद्धता कायम राख्न गरिने माछापालन तथा राजाहांस पाल्ने कार्यलाई निरन्तरता दिने । 
पोखरीको पानी तथा वरपरीको बगैंचाको सुन्दरता कायम राख्न दैनिक सरसफाई व्यवस्थापन गर्ने ।
 
निस्कर्ष
सम्पदा जीर्णोद्धार सम्बन्धमा उत्पन्न आधुनिकीकरण र मौलिकीकरण कायम राख्ने सम्बन्धमा सिर्जित विचारहरु विचका संघर्षले प्राचीन प्रविधि र शिपलाई यथा अवस्थामै लैजाने वा आधुनिक प्रविधिको प्रयोग गर्ने विचविवाद देखिन्छ । 
 
मौलिक शैली र शिप हिजोको गहिरो अनुसन्धानलप सिर्जना गरेको अनुभव हो । त्यसको निरन्तरतालाई यथाशक्य कायम राख्नुपर्छ भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय युनेस्को जस्तो संस्थाको गठन भै त्यसका मान्यता र सिफारिसहरुलाई विश्वका थुप्रै राष्ट्रहरुले ग्रहण गर्दै आएका छन् ।
 
यस्ता मान्यताहरुलाई अनुशरण गर्ने क्रममा विशेष परिस्थितिमा विकासोन्मुख राष्ट्रहरुमा आधुनिकीकरण र प्रवलीकरणको सिद्धान्त प्रवल भएका कारणलेनै विभिन्न समयमा विश्वसंपदा क्षेत्र खतराको सूचिमा पर्ने गरेको पाइन्छ । प्रवलीकरणको प्रयोग संपदाको आदरसंम्मानलाई कायम राखी प्रयोग नगर्नु भन्ने हैन । तर यसको स्वरुप शैलीलाई नष्टगरी नविकरणीय कार्य प्रयोग गर्नु भन्ने कदापि होइन ।
 
तथापि यस्ता विषयहरुलाई मान्यता नदिने विचार र सिद्धान्तलाई परास्तगरी तिनको उचित परम्परागत स्वरुप र प्रविधिमा संरक्षण गर्नुनै सम्पदा प्रतिको सचेत अभिमत हो । त्यसै अनुरुप रानीपोखरीको जीर्णोद्धार गर्नुपर्ने जन अभिमत पनि पाईन्छ । 
सन्दर्भ सामाग्री
बज्राचार्य, गौतमबज्र र महेशराज पन्त (सम्पा.) ई. १९६१ ।
“रानीपोखरीको नारयणको अभिलेख”, अभिलेख - संग्रह, तेस्रो भाग (वि.सं. २०१८ कार्तिक÷अक्टोवर), पृ. २४–२५ ।
 
बज्राचार्य, गौतमवज्र र महेशराज पन्त (सम्पा.) ई. १९६१ ।
“रानीपोखरीको नारयणको अभिलेख”, अभिलेख - संग्रह, तेस्रो भाग (वि.सं. २०१८ कार्तिक÷अक्टोवर), पृ. २६ ।
 
बज्राचार्य, धनवज्र (प्र.सं.), ई. १९८२
इतिहास–संशोधनको प्रमाण–प्रमेय (पहिलो भाग) । ललितपुर : जगदम्बा–प्रकाशन, वि.सं. २०१९ मंसीर, रानीपोखरी अभिलेख, पृ. ८२–८४ ।
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया