MENU

बातावरण-कृषि

ujyaalo forign call inside

प्रजाती संरक्षणमा सक्रिय बन्दै चितवन राष्ट्रिय निकुञ्ज

राधेश्याम खतिवडा/उज्यालाे 

चितवन, माघ ९ – चितवन राष्ट्रिय निकुञ्ज वन र वन्यजन्तुको संरक्षणमा अझ बढी सक्रिय बन्दै गएको छ । निकुञ्जले सन् २०१७ प्रजाती संरक्षणका लागि निकै महत्वपूर्ण भएको बताएको छ । निकुञ्जमा रहेका विभिन्न वन्यजन्तुको संरक्षणको क्रममा बाढीले बगाएर हराएको गैंडाको उद्धारसँगै अर्ना र बाह्रसिंगेको संरक्षण प्रयास सफल भएकोमा २०७३ लाई प्रजाति संरक्षण वर्षका रुपमा लिइएको निकुञ्जका अधिकारीहरुले जानकारी दिएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जमा दुई वर्ष कार्यकाल बिताएका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले सन् २०१७ निकुञ्जमा प्रजाती संरक्षणका लागि धेरै काम भएको बताउनुभयो । निकुञ्जभित्र रहेका वन वन्यजन्तुको संरक्षणसँगै बाहिरबाट समेत वन्यजन्तु निकुञ्जमा ल्याएर संरक्षणका काम भएको उहाँले बताउनुभयो । 

गएको साउनमा अविरल बर्षा पछि आएको बाढीमा बगेर भारतसम्म पुगेका दुर्लभ वन्यजन्तु (एकसिंगे गैंडा)को उद्धार गर्न सक्नु महत्वपूर्ण काम भएको बताउँदै संरक्षणका लागि २०१७ महत्वपुर्ण भएको उहाँले जानकारी दिनुभयो । कँडेलका अनुसार बाढीले बगेका गैंडामध्ये नौ वटा भारतबाट र एउटा नेपालकै त्रिवेणी क्षेत्रबाट उद्धार गरी निकुञ्जमा ल्याइएको थियो । कँडेलले भन्नुभयो ‘यस अगाडी धेरै पटक बाढी आए तर बाढीका कारण बगेका गैंडाको उद्धार गरिएको रेकर्ड छैन ।’ उहाँले भन्नुभयो ‘यो वर्ष हामीले १० वटा गैँडाको उद्धार गरेका छौँ । यो इतिहासमै महत्वपूर्ण उपलव्धी हो ।’

नारायणी र राप्ती नदीमा रहेका दुर्लभ गोहीको संरक्षणमा सक्रिय रहेको चितवन निकुञ्जलाई दुर्लभ भाले गोही मरेपछि समस्या परेको थियो । निकुञ्जले बर्दिया गएर भाले गोही ल्याएको छ । साथै भारतबाट पनि अर्को भाले गोही ल्याउने तयारी अगाडी बढी सकेको कँडेलले बताउनुभयो ।

सन् २०१७ मा अर्ना र बाह्रसिंगेको संरक्षणका लागि पनि महत्वपूर्ण काम भएको छ । विसं २००७ सालमा चितवन निकुञ्जबाट लोप भएको अर्नाको संरक्षणका लागि कोसी टप्पुबाट चितवन ल्याएर संरक्षणको काम भएको कँडेलले बताउनुभयो । सदर चिडियाखाना जावलाखेलबाट तीन वटा र कोशी टप्पुबाट १२ वटा गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइएको थियो । 

चितवन निकुञ्जमा अर्नाको संरक्षण गर्नका लागि महत्वपूर्ण काम भएको बताउँदै कँडेलले बाह्रसिंगेको संरक्षणका लागि पनि काम गरेको बताउनुभयो । विसं २०१७ सालबाट चितवन निकुञ्जमा लोप भएको बाह्रसिंगेलाई शुक्लाफाँटा बन्यजन्तु आरक्षबाट ल्याइएको थियो । बाहिर भएका जनवारलाई स्थानान्तरण गरेर ल्याउनु चुनौतीपूर्ण काम भएको बताउँदै उहाँले अति संवेदनशिल भएर जोगाउने प्रयास गरिएको जानकारी दिनुभयो । सातवटा बाह्रसिंगे चितवन निकुञ्ज ल्याइएको थियो । 
चिडियाखानाबाट ल्याएका तीनवटा अर्ना तत्कालै मरेका थिए । बाढी गएको बेलामा दुईवटा अर्ना मरे । एउटा अर्नालाई केही समयअघि बाघले खाएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । बाह्रसिंगे ७ वटा ल्याइएकोमा  तीनवटा  मरेका थिए । बाढीपछि तीन बाह्रसिंगे देखा नपरेको जानकारी दिदै अर्यालले एउटा पोथी बाह्रासिंगे सुरक्षित रहेको बताउनुभयो । 

जनावारलाई स्थानान्तरण गरेर पुनस्र्थापना गर्ने अभियान अन्तर्गत स्थानान्तरण गरिएका जनावरहरुमध्ये सबै जोगाउन नसके पनि समस्याका कारणलाई सुधार गरे आगामी दिनमा थप संरक्षणगरी जनावरको संख्या बढाउन सकिने कँडेलले बताउनुभयो । 

संरक्षणकै क्रममा चितवनका जनावरहरु पनि अन्य निकुञ्जमा पठाइएको थियो । चारवटा गैंडा मित्र राष्ट्र चीन पठाउने तयारी अगाडि बढीरहेको जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत कँडेलले गत वर्ष पाँचवटा गैंडा शुक्लाफाँटा र तीनवटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको  बताउनुभयो । 

निकुञ्जभित्र वन्यजन्तु संरक्षणका लागि घाँसे मैदान र तालहरुको संरक्षण तथा व्यवस्थापनमा पनि महत्वपूर्ण काम भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया