MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​व्यंग्य — उसै त देउवा ! नदिएर सुख !!

मिलन तिमिल्सिना

एकछिनलाई उनको नाम बिर्सनुहोस् । एकछिनलाई मात्र किन, सधैंलाई बिर्सनुहोस् । नाम अनुसार त उनले कहिल्यै केही गर्दै गरेनन् । न शेर झैं सधैं बलियो भएर टिकिरहन सके, न अरुले गर्नै नसकेको कुरा गरेर बहादुरी नै देखाए ।

न पहिले देखाए, न अहिले । ठाममा भएको बेला त नाम अनुसारको काम गरेर नदेखाउने मान्छेले अब झिटीगुण्टा बोकेर हिँडेपछि देखाउँछन् भनेर के विश्वास गर्नु ? उनको नाम र काममा एक रौं जति पनि विश्वास छैन । त्यसैले सधैंलाई नाम बिर्सनुहोस् । थर मात्र सम्झनुहोस् ।

उनको थर देउवा । देउवा र देउ बा भन्नु झण्डै उस्तै उस्तै । आफूलाई नभै नहुने कुरा केटाकेटीको हातमा छ भने मलाई त्यो देउ बा भनेर फकाउनुपर्छ । फकाएर केही चिज हात पार्नु छ भने देउ बा भनेर चिल्लो घस्नुपर्छ । अनि मात्र पाइन्छ ।

देउवालाई अर्को ढंगले पनि व्याख्या गरौं । देउ बा अर्थात दिने बा । जे मागेपनि दिन सक्ने बा । माग्दा मात्र किन ? नमाग्दा पनि दिन सक्ने बा । देउ पनि भनिरहन नपर्ने, खुरुखुरु दिइरहन सक्ने बा । दानी स्वभावका बा ।
देउ बाको जस्तै गुनिलो स्वभाव छ, देउवामा पनि ।

देउवा पहिलेदेखि नै अरुका लागि देउ बा जस्तै हुन् । पहिले उनले राजालाई प्रजातन्त्र दिए । प्रजातन्त्र दिंदा खल्तीमा भएको पैसा दिनुजस्तो महंगो पर्ने होइन । आफ्नो हातमा मात्र भएको, तर खल्तीमा नभएको कुरा दिंदा के घाटा भयो र ?

आफ्नो चुरीफुरी भएको बेला हातमा दिन सक्ने जे छ, त्यही दिने हो । त्योबेला प्रजातन्त्र थियो, राजालाई दिए । अहिले मनपरीतन्त्र छ, कहिले कार्यकर्तालाई दिन्छन्, कहिले अरु नागरिकलाई ।

कार्यकर्तालाई दाम दिनुअघि आफ्नै बिरोधीलाई आफू बसिरहेकै ठाम पनि दिएकै हुन् क्यारे । आफू जानुपर्छ भन्ने थाहा हुँदाहुँदै चुनाव गराएकै हुन् । चुनावमा हारिन्छ भन्ने जान्दाजान्दै अलोकप्रिय काम गरेकै हुन् । नागरिकलाई मनै नपर्ने काम गरेर जानाजान आफू बसेको ठाम वामहरुलाई दिएकै हुन् ।

वामहरुलाई मात्र ठाम दिएर पुगेन । अब दान पाउन बाँकी कार्यकर्ता र अरु नागरिकलाई धमाधम दाम बाँड्ने पालो आएको छ ।

त्यसमाथि अरु को हो को पराईलाई दिएको पनि होइन । आफ्नै मान्छेलाई दिएको । आफ्नै कार्यकर्तालाई दिएको । आफ्नै नागरिकलाई दिन खोजेको ।

मोरा वामेहरुले वृद्धभत्ता दिएरै त्यतिका भोट कमाए । वृद्धभत्ताको नारा लगाएरै चुनाव जिते । अब सरकार उनीहरुकै हातमा पुग्ने भो । मरिगए पनि उनीहरुको एकतालाई भाँड्न सकिएन । यही पाराले त वामेहरुले ५ वर्ष सरकार चलाउने भए । 

त्यसमाथि राम्रा राम्रा काम गर्छु भनेर घोषणापत्र बनाएका छन् । लिनुदिनु केही छैन, एकबारको जुनीमा देशकै लागि काम गरेर मर्ने हो भनेर ओली कमरेडले भाषण ठोकेका ठोक्यै छन् । ओलीको बोलीमा प्रचण्डले समेत लोली मिलाउँदैछन् । मुखले  भनेजस्तो साँच्चै गरेर  देखाएभने त ५ वर्षपछि पनि के हो के ? फेरि वामेहरुले नै भोट सोहर्न के बेर ।

यसपाली बल्ड्याङ खाएको पार्टी अर्कोपटक पनि उत्तानो टाङ लगाउने अवस्थामा पुग्यो भने त खैरत छैन । त्यसैले यसपाली वामहरुलाई ठाम दिएका दानी देउवा अर्कोपटकको चुनाव सोच्दै नागरिकलाई दाम बाँड्न व्यस्त छन् ।

६५ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिन्छु भन्दा आफ्नै नेता कार्यकर्तालाई पनि पैसा थपिन्छ । आफूले उहिलेदेखि नै वृद्धभत्ता लिन थालेको । श्रीमतीको उमेर पनि अब ६५ वर्ष पुग्न लाग्यो । दाह्रीजुँगा सेतै भैसक्दासमेत आफूलाई युवा भन्ने आफ्नै पार्टीका धेरै नेता कार्यकर्ता पनि ६५ वर्ष उमेर हाराहारीका भैसके ।

नागरिकलाई दिन्छु भनेको पैसा आफ्नै परिवार, आफन्त र नेता कार्यकर्ताको खल्तीमा पनि पुग्छ । पहिले आफ्ना आफन्त र  कार्यकर्ता भएको नाताले पैसा पाएका थिए । अब ६५ वर्ष उमेर पुगेको हिसाबले पैसा पाउँछन् । दोहोरो फाइदा । यता नागरिक दंग, उता आफन्त र कार्यकर्ता फुरुंग ।

त्यसमाथि अहिले त दिइहाल्नुपर्ने पनि होइन । दिन्छु भने मात्रै पुग्छ । अहिलेलाई दिने काम देउवाको होइन । दिन्छु भनेको मात्र हो । देउवाको ठाममा जो गएर बस्छ, उसैले अहिले दिन्छु भनेको कुरा दिनुपर्छ । भए पनि दिनुपर्छ । नभए मागेर, खोजेर पनि दिनुपर्छ । देउवाजस्तो दानी मान्छेले दिन्छु भनेको कुरा नदिएर सुख ।

नत्र उबेला अरुलाई दिन मात्रै जान्ने दानी स्वभावका देउवालाई ठाम किन दिएको त ? ओलीको बोलीमा लोली मिलाउँदै बिरोध गर्ने यिनै प्रचण्डले देउवालाई ठाम दिएका होइनन् र ? प्रचण्डलाई मात्र के दोष, उबेला प्रतिगमन आधा सच्चियो भनेर देउवालाई प्रधानमन्त्री दिने एमाले होइन र ?

उबेला एमालेले देउवालाई ठाम दियो, देउवाले राजालाई प्रजातन्त्र दिए । अहिले प्रचण्डले देउवालाई ठाम दिए, देउवाले कार्यकर्ता र नागरिकलाई दाम दिए ।

ठाममा पुगेका सबैले कहाँ देउवाले जस्तो दिन सक्छन् ? आफैं मात्र लिन्छन्, दिंदैनन् । देउवाले त आफैं मात्र लिएका होइनन्, अरुलाई पनि दिएका हुन् । अरुलाई पनि दिन जान्ने अनुभवी र दिन सक्ने देउवा जस्तो दानी मान्छे अहिलेको जमानामा सितिमिति कहाँ पाइन्छ र ?

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

  • रोजाको वास्तविकता र सामाजिक सद्भाव

    रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।

  • ​एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

    २ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

  • ​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

    ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया