MENU

बातावरण-कृषि

Ncell Axiata

​माटोमा खेलेरै घरघडेरी

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, माघ १४ – आफ्नो खेतबारीमा थरीथरीका तरकारीहरु लगाउनु । दिनभरी खेतबारीकै काममा व्यस्त हुनु । तरकारी र फलफूल गोडमेल गर्नु ।

सिँचाई र मलजलको प्रवन्ध मिलाउनु । बिहान उठेदेखि साँझसम्मै बालीनालीको स्याहारसुसारमा समय बिताउनु । समयसमयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी सङ्कलन गरेर बजार पठाउनु एक किसानको कर्म हो ।

यस्तै काममा व्यस्त हुनुहुन्छ, म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबराका किसान चन्द्रबहादुर कार्की । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएका उहाँलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ ।

बिहानदेखि बेलुकासम्म बारीको पाटोमा लगाएको तरकारी र फलफूल खेतीमा उहाँ खेलिरहनुहुन्छ । सानैदेखि कृषिमा सक्रिय पछिल्लो समय व्यावसायिक किसान बनेका कार्की तरकारी बारीमा लुकामारी नखेल्न त झन् कुरै भएन । 

पढ्दापढ्दै १८ वर्षको उमेरदेखि नै कृषि पेशामा लाग्नुभएका कार्कीले अहिले १९ रोपनी जग्गामा व्यावसायिक तरकारी, केरा, फलफूल र माछापालन गर्नुभएको छ ।

१६ रोपनी क्षेत्रफलको जग्गामा मात्रै उहाँले आलु, मुला, गाजर, काउली, बन्दा, ब्रोकाउली, रायोसाग, प्याज, लसुन, खुर्सानी, टमाटर, धनियाँ, चम्सुर लगायतका तरकारीहरु लगाउनुभएको छ ।

सुरुमा उहाँले २०३४ सालबाट तरकारी खेती सुरु गरेपनि पछाडि आएर व्यावसायिक रुप दिनुभएको थियो । तरकारी खेतीसँगै ३ रोपनीमा उहाँले व्यावसायिक केरा खेती गर्नुभएको छ ।

उहाँको केरा बारीमा अहिले मुरे, धुर्से, हजारीया र नङ्ग्रे जातको केरा पाक्दै आएका छन् । उहाँ गाउँमै पहिलो केरा खेती गर्ने किसानका रुपमा समेत चिनिनुहुन्छ ।

व्यावसायिक तरकारी खेतीमा होमिनुभएका किसान कार्कीले जिल्ला कृषि विकास कार्यालयबाट तरकारी खेतीलाई चाहिने पक्की टनेल र प्राविधिक सहयोग पाउनुभएको छ । त्यस्तै जिल्ला भू–संरक्षण कार्यालयबाट पोखरी निर्माणका लागि पनि सहयोग पाउनुभएको छ ।

५८ वर्षे उमेर पार गर्दै गरेका किसान कार्कीले व्यावसायिक कृषि खेतीमा लागेर दिनहुँ माटोसँग खेल्दा आनन्द आउने अनुभव सुनाउनुभयो । आफूसँगै पढेका कतिपय साथीहरु विदेश र सरकारी जागिरतर्फ लागे पनि उहाँ ‘विदेश पनि नजाने र सरकारी जागिर पनि नखाने’ भनेर कृषि क्षेत्रमा लागेको बताउनुभयो ।

तरकारीबाटै आठलाख आम्दानी

व्यावसायिक तरकारी खेती गर्नुभएका किसान कार्कीले वर्षमा आठलाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । १६ रोपनी जग्गामा लगाएको मौसमी तथा बेमौसमी तरकारी बेचेर दैनिक सरदरमा तीन हजार रुपैयाँ कमाई हुने गरेको उहाँले बताउनुभयो ।

उहाँको तरकारी बारीमा प्याजका बेर्नादेखि टनेलमा गोलभेंडा खेती रहेको छ भने बन्दा, काउली, ब्रोकाउली लगायतका तरकारी उत्पादन हुँदै आएको छ । खबरामा उत्पादित तरकारी म्याग्दी सदरमुकाम बेनीबजार, पर्वत बेनी र बागलुङ बजारमा बिक्री गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

फलफूल र दूधबाट तीन लाख

व्यावसायिक तरकारी खेतीसँगै उहाँले फलफूल खेती पनि गर्नुभएको छ । फलफूलतर्फ केरा, सुन्तला, अम्बा (बेलाउती), कागती, भुइँकटर जातका फलफूल छन् ।

फलफूल बिक्री गरेर दुईलाख रुपैयाँ आउने गरेको किसान कार्कीको भनाई छ । कृषिसँगै पशुपालन गर्नुभएका उहाँले दूधबक्री गरेर एकलाख रुपैयाँ कमाउने गर्नुभएको छ । उहाँले बेनीमा दैनिक रुपमा दूध बेच्दै आउनुभएको छ । 

माछापालन पनि सुरु

तरकारी, फलफूल र पशुपालन गर्दै आउनुभएका किसान कार्कीले २ ओटा माछा पोखरी बनाउनुभएको छ । उहाँको पोखरीमा अहिले ग्रासकार्प, कमनकार्प, माहुर जातका २ हजार भुराहरु रहेका छन् । माछापालनबाट पनि पर्याप्त आम्दानी गर्न सकिने हुँदा उहाँले पोखरी निर्माण गरी माछा पाल्न सुरु गर्नुभएको हो । उहाँले घरमा मौरीपालन समेत गर्नुभएको छ ।

कृषि खेतीको आम्दानीले घर घडेरी

तरकारी, फलफूल र पशुपालनसहित कृषि खेतीबाट प्राप्त आम्दानीले उहाँले बेनीकै मङ्गलाघाटमा घर बनाउनुभएको छ भने पर्वत बेनीमा घडेरी जोड्नुभएको छ । सरकारी जागिर नखाई र विदेश नगइकन उहाँले व्यावसायिक कृषि खेतीबाट आएको आम्दानीले घर घडेरी जोड्नुभएको हो ।

जिल्लाकै अगुवा कृषकको परिचय बनाएका कार्कीले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने र सामाजिक क्षेत्रमा लगानी गर्ने योजना बुनेको सुनाउनुभयो । व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने उहाँको बुझाई छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया