MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘चिपक चिप्पक’का गायकको विवाह चकचक गरेरै सकियो

काठमाडौं, माघ १५ – पछिल्लो समय सिनेमा ‘राज्जा रानी’मा रहेको ‘चिपक चिप्पक’ बोलको गीत गाएर चर्चामा आएका गायक तथा संगीतकार नरहरि प्रेमी काठमाडाैंमा संघर्ष गर्न सुरु गरेकै समयमा विवाह बन्धनमा बाँधिएका हुन् । परिवारबाट विवाहको कुरा आएपछि केटी हेरेर मात्रै फर्किने गरी गएका उनी अन्त्यमा विवाह गर्ने निर्णय गरेर  फर्किए । अहिले उनको वैवाहिक जीवन सुखमय छ । उनकी श्रीमती पुष्पाले समेत उनलाई अहिले संगीतमा सघाउँदै आएकी छिन् ।

पुतलीसडकमा रहेको श्रुती संगीत विद्यालयको सबै काम अहिले पुष्पाले हेर्दै आएकी छिन् । पुष्पा श्रुती संगीत विद्यालयमा म्यानेजिङ डिरेक्टर र प्रिन्सिपलको रूपमा कार्यरत छिन् । हामीले नरहरि र पुष्पासँग उनीहरुको प्रेम र विवाह प्रसंगका बारेमा कुराकानी गर्ने मौका पाएका छौँ । 

पहिलो भेट

२०५६ सालमा उनीहरुको पहिलो भेट विवाहको लागि पुष्पाको घरमा भयो । पुष्पाको घरमा नरहरि केटी हेर्न पुगेका थिए । सुरुमा केटी हेर्न जाने क्रममा नरहरि विवाह गर्ने मुडमा थिएनन् । तर पहिलो भेटमै पुष्पाको मुस्कान र रुपले उनलाई विवाह गरौँ–गरौँ बनायो । त्यसबखत विवाह गर्ने सोच बनाउँदै नबनाएका उनी विवाह गर्ने  मन बनाएर फर्किए । यस बारेमा उनी भन्छन्, ‘जाउँ  न त केटी हेरौँ । केटी हेर्दैमा के जान्छ र भनेर गएको तर मनै गैदियो । उहाँ पनि केही बोल्नु भएन । मुस्काउनु भयो मात्रै । अनि ‘हँसी तो फसी’ भनेझैँ भयो ।’ 

पुष्पालाई पनि नरहरिको  इमान्दारिता एकदमै मन पर्‍यो ।  जे हो त्यही कुरा स्पष्ट बोल्ने बानीले गर्दा पुष्पालाई नरहरिलाई जीवनसाथी बनाउन मन लाग्यो र उनले पनि विवाहको लागि हुन्छ भनिदिइन् ।

विवाहको मण्डपमा चकचक

विवाह मण्डपमा बसेको समय सम्झँदै नरहरिका बारेमा पष्पाले भनिन्, ‘उहाँले त एकदमै चकचक गर्नु भएको थियो ।  आफूलाई कन्ट्रोल नै गर्न सक्नु भएको थिएन । एकदमै कमेडी गरिरहनु पर्ने बानी छ उहाँको र त्यो बानीलाई उहाँले विवाह मण्डपमा पनि कायमै राख्नु भएको थियो (हाँसो) । उहाँले त विवाह मण्डपमै विभिन्न मान्छेको हाउभाउ गर्ने  अनि हँसाउने गरिरहनु भएको थियो । त्यो विवाह मण्डपमा उहाँ गमक्क परेर बस्नु भएन होला । चकचकै गरेर विवाह सकियो ।’

त्यो पललाई सम्झँदै नरहरिले भने, ‘सबै साथीहरुको उपस्थिति पनि थियो । अनि त्यो बेलामा मैले उनीहरुलाई रमाइलो बनाउनु पर्छ भनेर आफू कहाँ छु भन्ने कुरा पनि बिर्सेछु । अलिकति समय पायो की उनीहरु भएको ठाउँमा जाने  अनि  हँसाउन थालिहाल्ने गरेँ । पूजाबाट समय पाउनासाथ हँसाउँथे ।’

ससुराली जाँदा र गृह प्रवेश गर्दा

विवाह पछि पहिलो पटक ससुराली जाँदा नरहरिको कपालले उनलाई खुम्चिएर बस्न बाध्य बनायो । किनभने विवाहपछि उनले कपालमा रातो रंग हालेका थिए । अनि धेरै चकचक गर्‍यो भने अरूले नराम्रो सोच्छन् कि भनेर उनी मन बाँधेर बसे । यस बारेमा उनी  थप्छन्, मैले अघिल्लो दिनसम्म कपाल रंगाएको थिइन । अनि यति छिट्टै कपाल रंगाएछ भन्छन् की भनेर केही पनि चकचक नगरी बसेँ । कपाल पनि अलि बढी नै रातो भएछ (हाँसो)।

आफूले नरहरिको घरमा गृह प्रवेश गर्दाको पल सम्झँदै पुष्पाले भनिन्, ‘मलाई के होला कसो होला भन्ने थियो । सुरुको दिनमा अलिकति डर थियो । तर विवाहको भोलिपल्ट माइती गयौँ चितवनमा । अनि पछि पुर्ख्यौली घर नवलपरासी गयौँ । उताबाट काठमाडाैं आयौँ । घरमा त खासै बस्नै पाइन ।’

आमाबुवा बन्दाको पल

सन्तान सुख सबैको लागि विशेष रहन्छ । यसरी नै नरहरि र पुष्पाको लागि पनि सन्तान सुख विशेष नै रहन गयो । नरहरि र पुष्पाको आज भन्दा १५ वर्ष अघि छोराको जन्म भएको हो ।  यस बारेमा पुष्पा भन्छिन्, ‘आमा बन्न पाउँदा सबै खुसी हुन्छन् । तर म त अझ त्यो भन्दा पनि खुसी थिएँ होला ।’

उता नरहरिले यस बारेमा बोल्दै भने, ‘छोराको बाउ बन्यो भन्दा  थप जिम्मेवारी बोध भएको महसुुस भयो ।  तर त्यो खुसीले मलाई त्यो जिम्मेवारी त्यति ठूलो लागेन । त्यो समयमा छुट्टै किसिमको उत्साह अनि खुसी हुँदो रहेछ ।

-गफगाफ डटकमकाे उज्यालाे अनलाइनसँगकाे सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस