MENU

विचार/अनुभूति

ujyaalo forign call inside

स्वराजको नेपाल भ्रमण र महाभारतको लाक्षागृह

गोपाल गुरागाई/उज्यालो ।

के.पी. शर्मा ओली युधिष्ठिर होईनन् र नरेन्द्र मोदी पनि धृतराष्ट्र होईनन् । तर, काठमाडाैं र दिल्लीबीच सधै महाभारत चलिरहन्छ । अहिले त महाभारत कथाको पर्दा पछाडि चलेका चाल, जाल र घातका दृश्य काठमाडाैं र दिल्ली दुबैतिर झनै धेरै भैरहेका छन् । त्यसैको पछिल्लो कडी हो सुष्मा स्वराजको नेपाल भ्रमण । सुष्मा स्वराजको काठमाडाैं अवतरणसँगै अहिले महाभारत कथाको आदिपर्वमा उल्लेखित एउटा कथा सान्दर्भिक लाग्न थालेको छ । 
कथा यस्तो छ । 

मनले नमाने पनि धर्म र कर्तब्य सम्झेर धृतराष्ट्रले कुन्तीपुत्र युधिष्ठरलाई एक दिन युवराज घोषणा गरे । दुर्योधनलाई यो पटक्कै चित्त बुझेको थिएन । तर युवराज भएपछि हस्तिनापुरका प्रजालाई खुसी पार्न युधिष्ठिर दत्तचित्त भएर लागे । हस्तिनापुरमा उनको लोकप्रियता दिन दुई गुना र रात चार गुनाका दरले बढ्न थाल्यो । 

युधिष्ठिर युवराज भएर राज्य गर्न थालेपछि भिमसेनले बलरामसित गदा, खड्ग र रथ युध्दमा अविजेय शिक्षा प्राप्त गरे । भिमको शक्ति बढ्दै गयो । कौरब सभामा एक दिन गुरु द्रोणाचार्यले अर्जुनलाई आफूले सबै खाले युध्दमा निपूर्ण गरिसकेको भनेर गुरु दक्षिण मागे । गुरु दक्षिणा बापत अर्जुनले परि आएको खण्डमा गुरु द्रोणाचार्यसितै लडाई गर्न पनि अघि सर्नुपर्ने थियो । उनले गुरु दक्षिणा दिन कबोल गरेर गुरुलाई दाहिने पारि प्रदक्षिणा गरे । युधिष्ठिरसँगै कुन्तीका अरु पुत्रहरुको पनि जय जयकार बढ्दै गयो । 

युधिष्ठिरको बढ्दो लोकप्रियता, भिमको अजेय हुँदै गएको शक्ति र अर्जुनको युध्द कौसल ह्वात्तै बढेको देखेर धृतराष्ट्रको पनि चिन्ता बढ्न थाल्यो । दुर्योधनले त बाबुलाई कुनै न कुनै हिसावले शक्ति आफ्नो हातमा फर्काउन दवाव दिईरहेकै थिए । कर्णको बल र सकुनीको जाल साथमा भएपछि दुर्योधनले पनि आफूलाई कमजोर ठान्ने कुरा भएन । युधिष्ठिरलाई युवराज बनाएर राज्य सुम्पेकोमा समयसँगै धृतराष्ट्रको मनमा लागेको पछुतोको आकार पनि बढ्दै गयो ।  उनको चिन्ता दिन दिनै बढ्दै गयो । छोरालाई राज्य नदिएर पछुतोमा परेका धृतराष्ट्र भाईका छोराहरुको प्रगति देखेर जल्न थाले । कुन्ती तथा माद्रीका पाँचै छोरालाई उनी मनमनै शत्रु ठान्न थाले । 

पाण्डुका छोराहरुको बुध्दि, बल र सौर्यका अगाडि आँफै निस्तेज हुन लागेको अनुभव गरिरहेका राजा धृतराष्ट्रले एक दिन मन्त्री कणिकलाई बोलाए । हस्तिानापुरको राजनीति र कुटनीतिका सर्बश्रेष्ठ खेलाडी तथा बरिष्ठ मन्त्री कणिकसँग पाण्डवहरुको बढ्दो शक्तिको कुरा विस्तारमा गरेपछि धृतराष्ट्रले कणिकलाई सोधे ‘अब पाण्डुका छोरासित मैले सन्धिको बाटो लिने कि बिग्रहको ?’

राजाले मागेपछि कणिकले सल्लाह दिदै धृतराष्ट्रलाई शत्रुका शक्ति बढ्न नदिन मुख्य त तीन खालका सल्लाह दिए । 
कणिकका पहिला तीन बुदे सल्लाह थिए शत्रुका मन्त्र, बल र उत्साहलाई कुनै पनि हालतमा बढ्न नदिने । 

दोस्रो पाँच बुँदे सल्लाह दिदै कणिकले शत्रुका सहायक, साधन, उपाय, भूमि र समयलाई सकेसम्म नियन्त्रित गर्ने उपाय सुझाए । अनि अन्तिममा कणिकले धृतराष्ट्रलाई सात बुँदे सल्लाह भनेर साम, दान, भेद, दण्ड, माया तथा ईन्द्रजालको प्रयोग गरेर तथा गुप्त कार्यहरु गरेर शत्रुलाई कमजोर गर्दै नष्ट गर्ने उपाय बताए । 

धृतराष्ट्रलाई सल्लाह दिँदै कणिक जोड दिएर भन्छन् ‘समय आफ्नो अनुकुल नहुँदासम्म शत्रुलाई पनि शीरमा राखेर हिड्नुपर्छ, तर जब समय आउँछ शीरमा राखेको शत्रुलाई माटोको भाँडो फुटाए झै शीरबाट खसालेर फोडि दिनुपर्छ !’

धृतराष्ट्र चाख मानेर सल्लाह सुन्छन् । अनि साम, दान, भेद र दण्ड कसरी प्रयोग गर्ने भनेर कणिकलाई थप प्रश्न सोध्छन् । कणिकले धृतराष्ट्रलाई एउटा चलाख स्यालले जंगलका बाघ, मुसो, ब्वासो र न्याउरीलाई जुटाएर र फुटाएर कसरी हरिण मार्न प्रयोग गर्‍यो र अन्तमा सबैलाई धपाएर हरिणको मासु एक्लै खायो भन्ने नीति कथा सुनाउँछन् । 

कणिकको सल्लाह र नीति कथाको सार बुझेपछि धृतराष्ट्रले अनेक छलछाम र जालझेल सुरु गरे । अनेक उपाय गरेर मिठा शब्दमा एक दिन धृतराष्ट्रले कुन्ती सहित पाण्डु पट्टिका पाँचै छोरालाई आराम गर्न, रमाउन र फेरि मन लागेको बेला हस्तिनापुरमा फर्केर आउन भनि वारणावत राज्यमा पठाए । वारणावतको लाक्षा गृहमा आगो लगाएर कुन्ती र उनका सन्तानलाई मार्ने दुर्योधनको योजना सफल भएन । तर, यही घटनापछि पाण्डब र कौरवबीच महासंग्राम भयो ।

अब सुष्मा स्वराजको काठमाडौं यात्रा, मोदीका तारन्तारका फोन र के.पी. ओलीको अहिलेको अवस्थाको कुरा गरौं । महाभारतको आदिपर्वमा आउने यो कथा के.पी. ओलीले आँफै नपढेको भए पनि सुनेको हुनुपर्छ । स्यालको नीतिकथा त ओली जस्ता कथाका पारखीले नपढ्ने कुरा भएन भन्ने अनुमान गर्न सकिन्छ । अनि हिन्दु धर्मका कट्टर अनुयायी मोदी र स्वराजलाई यो कथा र कथाको मर्म थाहा नहुने कल्पना पनि गर्न मिल्दैन । 

समय आफ्नो अनुकुल नहुँदासम्म शत्रुलाई शीरमा राखेर पनि हिड्नुपर्छ भन्ने कुरा संभवत के.पी. ओलीलाई पनि थाहा होला, तर मोदी र स्वराजले त यो अभ्यास धेरै पल्ट धेरैजनासित गरिसकेका छन् । नेपालमा अहिले के.पी.को अनुकुल समय सुरु हुन थालेको छ । के.पी.को अनुकुल समय मोदीका लागि प्रतिकुल छ । 

प्रतिकुल समयमा शत्रुलाई शीरमा राख्नु पर्छ भन्ने कुरा महाभारत कथाका पारखी मोदीले राजनीति र कुटनीतिमा  बारम्बार प्रयोग गरिरहेकै छन् । महाभारतको कथामा भनिए झै समय अनुकुल भएपछि शीरमा राखेको शत्रुलाई माटोको भाडो फुटाए झै शीरबाट खसालेर फोडि दिनुपर्छ भन्ने प्रयोग अहिलेसम्म नेपालका प्राय सबै र धेरै नेतामाथि भैसकेको छ र भैरहेको पनि छ । 

भारतमा आफ्नो समय प्रतिकुल भएकाले मोदी अहिले नेपालका के.पी. ओलीलाई शीरमा राख्न तयार छन् । मोदीले आफ्नो शीरमा के.पी.नामको माटोको घडा बोक्न तयार रहेको सन्देश सहित सुष्मा स्वराजलाई अहिले काठमाडौंमा उतारेका हुन् । 

अब हामी जस्ता सामान्य नागरिकले सोच्ने कुरा कति मात्र हो भने मोदीले कहिलेसम्म के.पी.लाई शीरमा राख्छन् र कुन दिन माटोको भाडो झै शीरबाट खसालि दिन्छन् । 

कौरबहरुले पाण्डुको बंश नास गर्न वारणावतको लाक्षागृहमा आगो लगाउँदा भाउजु र भतिजालाई काका बिदुरले सुरुंग खनेर गुप्तरुपले बचाएका थिए । तर अहिले बन्दै गरेको काठमाडौंको लाक्षा गृहमा निकट भविष्यमा आगो लाग्दा के.पी. ओलीलाई सुरुंगबाट निकाल्न कुनै बिदुर जन्मेको देखिँदैन । त्यसमाथि मोदी बरु धृतराष्ट्र हुन सक्लान्, तर के.पी. ओली त युधिष्ठिर होईनन् नि !  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया