MENU

विचार/अनुभूति

Ncell Axiata

​ओली र मोदीको बैगुनी माया : अरुलाई के हो के ? प्रचण्डलाई छायाँ !

मिलन तिमिल्सिना/उज्यालो । 

काठमाडौं, माघ २० –जल्दोबल्दो प्रधानमन्त्री हुँदा ऋषि धमलाले बोलाएको एउटा कार्यक्रममा पुगेर प्रचण्डले धमलाको नाम लिंदै एउटा गीति टुक्का भनेका थिए — माया बैगुनी, नभई नहुनी ! जतिसुकै बैगुनी भए पनि कहिलेकाहीँ त्यही बैगुनीको साथ सहयोग चाहिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालमा हुन लागेका प्रधानमन्त्री केपी शर्माको अवस्था अहिले ठ्याक्कै यस्तै छ - माया बैगुनी, नभई नहुनी !

चर्चा थालौं, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको प्रसंगबाट । स्वराजको दुई दिने नेपाल भ्रमण सकिए पनि उनको भ्रमणलाई लिएर सुरु भएको टिका टिप्पणी सकिएको छैन । उनको भ्रमणलाई कसैले बेमौसमी भनेका छन् । कसैको बुझाईमा यो भ्रमणपछि एमाले अध्यक्ष ओलीको राष्ट्रवाद सकियो अर्थात खोक्रो राष्ट्रवादको नारा लगाएर चुनाव जितेको एमाले फेरि भारतसँग लम्पसार भयो । 

ओली नेतृत्वको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई नेपाल पठाएका हुन् ।

अर्का थरिको विश्लेषण छ - पहिले नेपाली नेताहरु दिल्ली धाउँथे, यसपटक दिल्ली स्वयं काठमाडौं धाउन बाध्य भयो । अनि ओली र स्वराजको भेटले एमालेसँग पार्टी एकता गर्न लागेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बार्गेनिङ पावर घट्यो भन्नेहरु पनि छन् ।

स्वराज अचानक किन आइन् नेपाल ?

भारतीय विदेशमन्त्री स्वराज यहीबेला किन नेपाल आइन् त ? धेरैले धेरैथरी आशंका र अड्कल गरेका छन् । तर उत्तर त्यति जटिल छैन । नेपालमा प्रधानमन्त्री बन्नै लागेका ओली र भारतमा प्रधानमन्त्रीको कार्यकाल सकिन लागेका नरेन्द्र मोदीलाई यतिबेला एकअर्काको विश्वास जितेर अघि बढ्नु पर्ने बाध्यता छ । 

मोदीलाई सबैभन्दा ठूलो डर चीनसित छ । ओली भारतसँग रुष्ट भैरहे भने नेपालमा चीन हावी हुन्छ र यसले भारतलाई फाइदा गर्दैन ।

ओली नेतृत्वको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई नेपाल पठाएका हुन् । नत्र पन्ध्र पन्ध्र दिनमा फोन गर्नुपर्ने थिएन र अहिले बिशेष दूत बनाएर स्वराजलाई बिना एजेण्डा काठमाडौ पठाउन हतार गर्नु पर्ने थिएन । 

त्यसो त स्वराज वर्तमान सरकारको निम्तोमा नभई भावी सरकारको नेतृत्व गर्न लागेका ओलीले बोलाएर नेपाल आएकी हुन् भन्ने कुरा पनि अब गुप्त रहेन । मोदीले पटकपटक टेलिफोन गरेर सहकार्य बढाउनुपर्छ भन्ने प्रस्ताव राख्दा फोन टु फोन मात्रै किन वान टु वान कुरा गरौ भनेपछि मोदीले स्वराजलाई भेट्न पठाएको कुरा पनि अब रहस्यमा रहेन । 

एकअर्काको विश्वास जित्नु ओली र मोदीकै बाध्यता

भारत र मोदीको चाहना विपरित नेपालमा बामपन्थी गठबन्धनले चुनाव जित्यो । अब बन्ने सरकारको नेतृत्व ओलीले गर्ने पक्का भैसकेको छ । ओलीलाई प्रधानमन्त्री बन्नबाट केही गरेर पनि रोक्न सकिंदैन भन्ने मोदीलाई प्रष्ट थाहा छ । 
नाकाबन्दीको बेला ओलीसँग बिग्रिएको सम्बन्ध नसुधार्ने हो भने नेपालमा चीन हावी हुन्छ भन्ने कुरा पनि मोदीले राम्रोसँग बुझेका छन् । ढिलोचाँडो नेपालमा चीनबाट रेल र तेल सँगै आउन सक्छ । रेल र तेल सहज हुन थालेपछि नेपाललाई भारतसँग मात्रै भर पर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । अनि नेपालमा आफ्नो प्रभाव जमाइराख्ने भारतीय चाहनाको अन्त्य हुन्छ । मोदी चुनावको मुखमा यसको अपजस आफ्नै थाप्लोमा बोक्न चाहँदैनन् । यो अपजसबाट बचाउन अहिले ओलीलाई विश्वासमा राख्नुपर्ने बाध्यता मोदीलाई छ । 

भारतमा प्रधानमन्त्रीको रुपमा मोदीको कार्यकाल लगभग डेढ बर्ष मात्र बाँकी छ । आफ्नो पालामा नेपालसँगको सम्बन्ध नराम्रो भयो भन्ने छाप भारतीय मदतातामा छ । यो छाप निरन्तर रहे मोदीलाई अर्कोपटक प्रधानमन्त्री बन्न अप्ठ्यारो पर्नेछ । त्यसैले ओलीसँग यसअघि बिग्रेको सम्बन्ध सुधारेर सम्बन्ध राम्रो बनाउने बाहेक मोदीसँग अर्को विकल्प छैन ।

मोदीको जस्तै बाध्यता छ ओलीको पनि । भारतसँग सम्बन्ध सुमधुर हुन सकेन भने सरकारमा बसेर काम गर्न सकिंदैन भन्ने उनलाई राम्रोसँग थाहा छ । भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक सबै कोणबाट चीनभन्दा भारत नजिक छ । चीनसँग मात्रै सम्बन्ध बढाएर नेपालमा आर्थिक सम्बृद्धि हासिल गर्न सकिंदैन । 

प्रधानमन्त्री भएपछि केही गरेर देखाउने र इतिहासमा नाम लेखाउने ओलीको मनसुवा छ । यस्तो मनसुवा भएका नेपालका नेताहरु भारत बायाँ हुँदा सत्तामा टिक्न सकेका छैनन् भन्ने ओलीले बुझेका छन् । पहिले प्रधानमन्त्री भएको बेला बोलेका र अहिले चुनावी घोषणापत्रमा लेखेका कुरा गर्न सकिएन भने अहिलेको ओलीको कद फेरि गफाडी र तुक्के नेता मै झर्न सक्छ । त्यसमाथि स्थिर सरकार बनाउने र केही गरेर देखाउने यस्तो सुनौलो मौका फेरि नमिल्न सक्छ । त्यसैले सरकारको नेतृत्व गर्नै लागेका ओलीलाई छिमेकीको विश्वास र सहयोगको आवश्यकता छ । 

संविधान जारी भएदेखि भारतसँग बिग्रेको सम्बन्ध सुधारेर मात्र अघि बढ्नुपर्ने बाध्यता ओलीलाई छ । त्यसमाथि ओली र मोदी दुवै बलियो नेताका रुपमा स्थापित भैसकेका छन् । आफ्नो देशको हितमा काम गर्दा छिमेकीको साथ र सहयोग अनिवार्य चाहिन्छ भन्ने सत्यले पनि उनीहरुलाई नजिक ल्याएको हो ।

ओली — मोदी मायाले प्रचण्ड छायाँमा

चुनावमा सहकार्य गरेर स्पष्ट बहुमत हासिल गरेका एमाले र माओवादीबीचको पार्टी एकता प्रयास अझै सार्थक भैसकेको छैन । धेरै कुरा मिलि सके पनि एकतापछिको अध्यक्ष को हुने भन्ने हानथापले गाँठो परेको छ । बाहिर दाबी नगरे पनि ओली र प्रचण्ड दुवैलाई एकतापछिको पहिलो अध्यक्ष बन्नु छ ।

ओली र एमालेको ठूलो हिस्सा प्रचण्डलाई एकैपल्ट पार्टीको सत्ता सुम्पन तयार छैन । प्रचण्ड र माओवादीको ठूलो हिस्सा अध्यक्ष पनि नपाईने हो भने पार्टी बिलय किन गर्ने भन्ने मनस्थितिमा छन् । दुबैतिर मुसा र बिरालाको खेल जारी छ । तर न बिरालाले मुसो मार्छ, न मुसोले बिरालालाई जिस्क्याउन छोडेको छ ।

अध्यक्ष को हुने भन्ने कुरा नमिलेर माओवादीसँग पार्टी एकता हुन सकेन भने पनि ओलीले फोरम र राजपामध्ये एकलाई विश्वासमा लिएर सरकार बनाउन सक्छन् । तर त्यस्तो सरकारलाई भारतको आशीर्वाद चाहिन्छ । माओवादीसँग पार्टी एकता गर्न तयार ओलीलाई प्रचण्डका कतिपय चालले झस्काएको पनि छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधि यादवलाई उकासेर निर्वाचन परिणाम घोषणा गर्ने समय लम्ब्याई एकीकरणपछि पार्टी अध्यक्ष हुन प्रचण्डले दवाव बढाएको बुझेपछि ओली उपेन्द्र यादवसँग मिलेर सरकार बनाउने विकल्प खुला राखेर बसेका छन् । तर यसका लागि पनि भारतको विश्वास जित्नुपर्ने बाध्यत ओलीलाई छ । 

अनि यो भेटले प्रचण्डको बार्गेनिङ पावर पनि केही घटेको छ । किनकी भारत र मधेससँग ओलीको सम्बन्ध बिग्रिएकाले यसको मध्यस्थता गर्ने जिम्मेवारी आफ्नै हो भन्ने प्रचण्डलाई लागेको थियो । सम्बन्ध बढाउन आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्ने ठानिरहेको बेला ओलीले भारतसँग प्रत्यक्ष सम्बन्ध बढाएका छन् । मधेश र भारतसँग ओलीको सम्बन्ध बढ्दा प्रचण्ड छायामा पर्ने संभावना छ ।

ओलीकै हात माथि

आपसी सहकार्य र सम्बन्धको लागि हात अघि बढाउनुपर्ने बाध्यता दुवैको भए पनि ओलीलाई भन्दा मोदीलाई बढी हतार भएको देखियो । मोदी यसपल्ट ओली प्रधानमन्त्री हुने बेलासम्म पनि पर्खन सकेनन् । ओलीसँग पहिलेदेखि नै राम्रो सम्बन्ध रहेका स्वराजलाई विशेष दूतका रुपमा काठमाडौं पठाए । विगतका तीता कुरा बिर्सेर ओलीसँग सहकार्य गर्न भारत आतुर रहेको सन्देश सुनाए ।

मोदीले स्वराजलाई झैं ओलीले कसैलाई यसरी दिल्ली पठाएको भए यसको सन्देश गलत हुन पुग्थ्यो । प्रधानमन्त्री हुनुअघिको कुरा छाडौं, प्रधानमन्त्री भैसकेपछि पनि भारतसँग सम्बन्ध सुधारको लागि भन्दै ओली दिल्ली जाँदा कुरा काट्नेहरु धेरै हुन्थे । तर अहिले ओलीको भन्दा पनि मोदीको चाहनामा भेटवार्ता भएको र आफ्नो सत्ता टिकाउन नेपाली नेताहरु दिल्ली धाउने परम्परा विपरीत दिल्ली आफैं काठमाडौं आउन बाध्य भएको सन्देश पुगेको छ । 

अहिले स्वराज नेपाल आउँदैमा आन्तरिक मामिलामा हस्तक्षेप भयो भनेर कसैले भन्न नसक्ने भएकै कारण ओलीले स्वराजसँग खुलेरै भेटवार्ता गरेका हुन् । स्वराजलाई नेपालमा ल्याएर बैगुनी माया सम्झाउने जस्तै मोदीसँगको सम्बन्ध बढाउने र पदका लागि बार्गेनिङ गरिरहेका प्रचण्डलाई झस्काउने काम ओलीले एकैपल्ट गरि भ्याएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रचण्डलाई सजिलै मिल्ला र एकीकृत पार्टीको अध्यक्ष पद !

    माओवादीमा ४७ सालपछि आएका नेता कार्यकर्ता धेरै छन् भने एमालेमा प्रचण्ड भन्दा पनि पाका, धेरै योगदान गरेका पुराना नेता कार्यकर्ताको संख्या ठूलो छ । प्रचण्डले उनीहरुको योगदानको मूल्यांकन गर्नेछन् भन्ने आधार के हुन्छ भन्ने निश्चित नभै एमालेको ठूूलो पंक्तिले प्रचण्डलाई सहज हिसावले स्वीकार्न कठिन छ ।

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया