MENU

विचार/अनुभूति

‘प्याडम्यान’ले सम्झाएको महिनावारीकाे अवस्था

-जुनु भण्डारी

 
अक्षयकुमारको फिल्म ‘प्याडम्यान’ को ट्रेलर र फिल्मसँग सम्बन्धित अन्तर्वार्ता हेरेँ । अक्षयले धेरै अन्तर्वार्तामा भनेका छन्, भारतमा ८२ प्रतिशत महिलालाई महिनावारीका क्रममा प्रयोग गरिने स्यानिटरी प्याडबारे थाहा नै छैन । तीमध्ये केहीलाई यसबारे थाहा भएर पनि प्याड किन्नका लागि पैसा छैन । धेरै महिलाहरु अझै पनि  महिनावारीको क्रममा खरानी, भुस्सा, सुकेका पात अनि माटोको प्रयोग गर्न बाध्य छन् । 
 
यो सुन्दा मेरो शरीर नै सिरिङ्ग भयो । अनि सोचेँ हाम्रै देशका महिला जो स्यानिटरी प्याडबारे अनविज्ञ छन् वा जो आर्थिक रुपले कमजोर छन्, उनीहरुले पनि त महिनावारीका बेला यस्तै विकल्प अपनाइ रहेका होलान । सुन्दा त यस्तो लाग्छ भने जो ती सबै कुरा प्रयोग गर्न बाध्य छन, उनीहरुको अवस्था कस्तो होला ?
 
अहिले भारतमा भारतीय कलाकारहरुले हातहातमा स्यानिटरी प्याड समातेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहकेका छन । यसबाट एकातिर उनीहरु फिल्म ‘प्याडम्यान’को प्रचार गरिरहेका छन् भने अर्कोतिर महिनावारीकाबारे जनचेतना फैलाईरहेका छन् । कुनै पसलमा गएर स्यानिटरी प्याड खरिद गर्दा पसलले पत्रिकाले छोपेर, कालो प्लाष्टिकमा बेरेर लुकाएर दिने अनि लिँदा पनि कसैले देख्ला कि भनेर हतार हतार ब्यागभित्र राख्ने प्रवृत्ति छ । अब यसबारे डराएर, लुकेर हुँदैन । जसरी घरमा आवश्यक दुध, चिनी, चामल, कोलगेट मागिन्छ त्यसरी नै ढुक्क भएर प्याड किन्ने र यसबारे खुलेर बोल्नका लागि कलाकारहरुले आवाज उठाइरहेका छन । 
 
‘प्याडम्यान‘का नायक अक्षय कुमार लगायत भारतका धेरै कलाकारले भारत सरकारसँग स्यानिटरी प्याडमा लगाइने ट्याक्स हटाउनु पर्ने माग गरिरहेका छन । सकेसम्म महिलाहरुका लागि सरकारले निःशुल्क रुपमा प्याड दिईनु पर्छ भन्ने माग उनीहरुको छ । 
 
यही कुरा नेपालमा पनि गर्न आवश्यक छ । किनकी महिनावारीको कुरा गर्नु लाजको कुरा होइन । यसबारे सबैैले लुकेर होइन, खुलेर कुरा गर्नुपर्छ ।  अब सबैले आ–आफ्नो ठाउँबाट महिनावारी र यस समयमा महिलाले प्रयोग गर्नुपर्ने प्याडको कुरा गर्नु आवश्यक छ । 
 
नेपालमा एउटा सामान्य एक प्याकेट प्याडको मूल्य ५५ रुपैयाँ पर्छ ।  ५५ रुपैयाँ पर्ने सबैभन्दा सस्तो प्याकेट जसमा जम्मा आठवटा मात्रै प्याड हुन्छन । जबकी महिनावारीको त्यो पाँच दिनसम्म प्रयोग गर्न आठवटा मात्रै प्याडले पुग्दैन । तसर्थ आर्थिक रुपले कमजोर महिलाहरुलाई प्याडबारे थाहा भए पनि स्यानिटरी प्याडको प्रयोग गर्न सकेका छैनन् । किनकी महिनावारीको बारेमा कुरा सुन्न त नचाहने समाजमा आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाले मलाई प्याड किनिदिनु भनेर कसरी भन्न सक्छे ?  अनि एकजना आमाले छोराछोरीको पेट भर्नका लागि खर्च जुटाउने कि महिनावारीका लागि प्याड किन्नको लागि ? त्यसपछि प्याडको विकल्पमा पुराना कपडालाई बारम्बार दोहोर्याएर प्रयोग गर्नु बाहेकको विकल्प उसँग हुँदैन ।  
 
शहरमा बस्ने शिक्षित परिवारका महिलाहरुलाई त चार दिनसम्म भान्सा, पूजाकोठा, धारा, ईनारबाट टाढै राखिन्छ भने गाउँघरतिरको अवस्था झनै नाजुक छ  ।  महिनावारीलाई यति हेयका दृष्टिले हेरिन्छ । यस्तो बेला सरसफाईमा धेरै ध्यान दिनुपर्छ भन्ने कमैलाई थाहा छ । स्वयम् महिलाहरु नै  महिनावारीको बेला गर्नुपर्ने सरसफाईबारे जानकार छैनन् ।
 
विद्यालय जाने केही किशोरीले प्याडबारे सुनेका त होलान्, तर विद्यालयको पहुँचबाट टाढा रहेका किशोरी तथा महिलाहरुलाई यसबारे थाहा नै छैन । बिद्यालय जानबाट बञ्चित किशोरी तथा ४०/४५ वर्षका कयौं महिलाले स्यानिटरी प्याड देखेका पनि छैनन् होला । उनीहरु आफ्नै हिसाबले महिनावारीको चार पाँच दिनसम्म बग्ने रगतलाई जसरी तसरी ढाकछोप गरेर बस्न बाध्य छन् । 
 
महिनावारीका बेला जे प्रयोग गरेपनि त्यो बाहिर भन्नु वा रगत को दाग देखिनु भनेको हाम्रो समाजमा लाज र शरमको कुरा मानिन्छ । त्यसैले धेरै महिलाहरु न त यसबारे कसैलाई भन्न सक्छन्, न त महिलाहरुका लागि काम गर्ने संघसंस्था, व्यक्ति वा सम्बन्धित सरोकारवाला निकायले महिलाहरुको लागि महिनावारीको बेला प्रयोग गर्ने स्यानिटरी प्याड दिनु वा प्रयोग गर्नु जरुरी छ भन्ने कुरामा जोडदार रुपमा आवाज उठाएका छन् । 
 
तसर्थ अब हरेक व्यक्ति, समाज, सम्बन्धित निकायले महिनावारीका बेला गर्नुपर्ने सरसफाई तथा जनचेता जगाउनका लागि विशेष कदम उठाउन जरुरी छ । अनि त्यत्तिकै जरुरी छ स्यानिटरी प्याडको महिलासम्म पहुँच बढाउन पनि । सकेसम्म ग्रामिण क्षेत्रका महिलालाई निःशुल्क प्याड वितरण गर्नु आवश्यक छ । त्यो गर्न नसके ग्रामिण क्षेत्रमा बसोबास गर्ने सामान्य परिवारको महिलाले किन्न सक्ने मूल्यमा स्यानिटरी प्याड उपलब्ध गराउन सक्यो भने मात्रै पनि महिलाहरुले भोग्दै आएका समस्या कम हुने थिए । यसो गरेमा महिनावारीमा सरसफाईको कमीले गर्दा हुन सक्ने जोखिमबाट महिलालाई बचाउन सकिन्छ ।
 
हाम्रो समाजले अहिलेसम्म सबै महिलाहरुलाई महिनावारीको बेला यो गर्नुहुन्न, त्यो गर्नुहुन्न भन्दै महिनावारी हुँदा हुँदैन भनेकाे काम गर्नु भनेको पाप हो, वा खराब प्रकृया हो भन्ने जस्ता अन्धविश्वासको जग बसालिदिएको छ । तर अब सबैले महिनावारीको बारे के गर्नु जरुरी छ, यसबारे कुरा गर्नु आवश्यक छ । यो प्राकृतिक कुरा हो । यदि महिलामा महिनावारी नै नहुने हाे भने यो संसारमा मानव सृष्टि नै रोकिन्छ । 
 
यस्तो बेला सरसफाईमा ध्यान दिन, स्यानिटरी प्याड प्रयोग गर्नु पर्छ भन्ने कुरामा सबैले बोल्न जरुरी छ । सुरक्षित स्यानिटरी प्याड देशका हरेक ग्रामिण क्षेत्रमा सर्वसुलभ रुपमा महिलासम्म पुर्याउनका लागि पहिलो महत्वपूर्ण कदम सरकारले नै चाल्नु पर्छ ।  
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया