MENU

बातावरण-कृषि

ujyaalo forign call inside

बाघ, गैंडा र हात्तीको उपचारसम्बन्धी छलफल गर्न १३ देशका विज्ञ सौराहामा

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, माघ २२ – नेपालमै पहिलो पटक आयोजना गरिएको बाघ गैंडा हात्तीको उपचार सम्बन्धी क्षेत्रीय कार्याशाला चितवनमा सुरु भएको छ ।

  

चार दिनसम्म सञ्चालन हुने बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा विज्ञान सम्बन्धी १३ देशका वन्यजन्तुका विज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । 

वन्यजन्तुको स्वास्थ्य, वन्यजन्तु जीव विज्ञान सम्बन्धी ३३ वटा कार्यपत्र प्रस्तुत गरी सहभागीका बीचमा छलफल गरी प्रतिवेदन सार्वजनिक गरिने कार्यशाला आयोजक समितिका अध्यक्ष एवम् कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्राध्यापक डाक्टर शारदा थपलियाले बताउनुभयो । 

वन्यजन्तुको स्थास्थ्य उपचारका विषयमा ८ वटा पोष्टरसमेत प्रस्तुत हुने कार्यक्रममा ८७ जना विज्ञ चिकित्सकहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । ‘नेपालमा वन्यजन्तुको औषधी उपचारका विषयमा यति ठूलो कार्यशाला गरिएको पहिलो पटक हो’ डा. थपलियाले भन्नुभयो, ‘१३ देशका अनुभव एउटै थलोमा आदान प्रदान हुँदा धेरै उपलब्धी हुनेछ ।’ 

कार्यक्रममा अष्टेलिया, चीन, भारत, इन्डोनेसिया, मंगोलिया, म्यानमार, पाकिस्तान, रुस, थाइल्याण्ड, वेलायत, अमेरिका, भियतनाम, नेपाललगायतका विज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । 

कार्यक्रममा वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले राज्यले वन्यजन्तुको संरक्षणसँगै उपचारको प्रभावकारी व्यवस्थापन गर्नको लागि विभिन्न स्थानमा वन्यजन्तु अस्पतालको अवधारणा ल्याएको बताउनुभयो ।

वन्यजन्तुको उपचारको विषय संवेदनशील भएको बताउदै उहाँले सरोकार राख्ने सबैको सहयोगमा काम गर्दै जानुपर्ने बताउनुभयो । वन्यजन्तुको स्वास्थ्य उपचारमा प्रविधि र प्राविधिकको अभाव हुन नदिने गरी सरकारले काम गर्ने उहाँले बताउनुभयो । 

यसअघि नेपालमा वन्यजन्तुको संरक्षण, वासस्थान व्यवस्थापन र वन्यजन्तु मानव बीचको द्धन्द्धको बिषयलाई लिएर धेरै काम भएको भए पनि वन्यजन्तुको स्वास्थ्य उपचारको विषयमा प्रभावकारी कार्यक्रम हुन नसकेको विज्ञहरुले बताएका छन् । 

नेपालमा पछिल्लो समयमा वन्यजन्तुको औषधि उपचारका विषयमा चासो र चिन्ता बढ्दै गएको बताउँदै सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरन्जिवी पोखरेलले यो वृहत छलफल पश्चात् वन्यजन्तुको उपचार पद्दतिमा सुधार आउने बताउनुभयो ।

 

‘वन्यजन्तुको उपचारमा प्रविधि, प्रविधिक र भौतिक पूर्वाधारको अभाव छ’ पोखरेलले भन्नुभयो, ‘यस्ता कार्यशालाले प्राविधिकको क्षमता विकास गर्छ र आउँदा दिनमा थप सुधारको मार्ग तय हुन्छ ।’ चिडियाघरमा पालिएका र वनजंगलमा रहेका जंगली जनावरको स्वास्थ्य उपचारको विषयमा सबै सरोकार राख्ने पक्ष संवेदनशिल हुनुपर्ने समय आएको उहाँले बताउनुभयो । 

पशु विज्ञान पशु चिकित्सा र मत्य विज्ञान संकाय,कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना र वन वन्यजन्तुको संरक्षणमा काम गर्ने विभिन्न संघ संस्थाको सहयोगमा कार्यशाला भैरहेको छ । 

विगत २५ बर्ष देखि चितवन राष्टिय निकुञ्जमा वन्यजन्तुको उपचारमा संलग्न हुदै आउनुभएका डा कमल गैरेले यो कार्यक्रमवाट धेरै सिकाई हुने बताउनुभयो । बाघ गैडा र हात्तीका रोग र उपचार सम्वन्धी यस्ता छलफल थप आवश्यक रहेको बताउदै उहाँले मानिसवाट वन्यजन्तुमा र वन्यजन्तुवाट मानिसमा सर्ने रोगका बिषयमा भएका अनुसन्धान,व्यवस्थापनका बिषयमा समेत यस्ता छलफलले सहयोग पुग्ने बताउनुभयो । 

नेपालमा वन्यजन्तुको स्वास्थ्य उपचार सम्वन्धी नीति नियम नै प्रभावकारी नभएको बताउदै कार्यक्रममा सहभागी कृषि तथा बन विज्ञान विश्व विद्यालयका सहायक प्राध्यापक डा हिमाल लुइटेलले एक बर्ष अगाडी आफ्नै नेतृत्वमा रहेको एक समितिले निकुञ्जलाई सुझाव समेत पेश गरेको बताउनुभयो । प्रभावकारी नीति नियम आवश्यक छ उहाँले भन्नुभयो प्रविधि र प्राविधिक विकाससँगै नीतिको पनि आवश्यक छ । 

विश्वमा २ प्रजातिका हात्ती ५ प्रजातिका बाघ, ५ प्रजातिका गैंडा पाइन्छन् । त्यसमध्ये नेपालमा मूख्य गरी एसियन हात्ती, एसियन गैंडा (एक सिंगे)) र पाटे बाघ (बेंगाल टाइगर) प्रजातिका मूख्य वन्यजन्तुहरु पाइन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया