MENU

साहित्य/ कला

ujyaalo forign call inside

‘न सकियो विदेशमा रमाउन, न सकियो सम्पत्ति कमाउन’

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, माघ २२ – बाबुबाजेको हात समाउँदै गाउँघर डुलेको, सारङ्गी बजाउन सिकेको हिजोझैँ लाग्छ, बलराम गन्धर्वलाई । हिजो बाबुबाजेबाट सिकेको सारङ्गी बजाउने पेशा आज जीवन धान्ने दरिलो आधार भएको छ, तनहुँको भानु नगरपालिका–१०, दुधेकुनाका बलरामलाई ।

‘सारङ्गी रेट्नु हाम्रो जातीय पेशा हो, हिजो बाउबाजेबाट सारङ्गी रेट्न सिकियो, यसको धुनमा गीत मिसाउन सिकियो, आज यही पेशाले जीवन धानेको छ,’ भोटेओडार बालुनेस्थित एक पसलमा सारङ्गी रेट्दै गर्दा भेटिनुभएका बलरामले भन्नुभयो ।

बलरामले आफ्नो हजुरबुवा पृथ्वीराम र बुवा भुजेबाट सारङ्गी बजाउन सिक्नुभएको हो । ‘१५ वर्षको उमेरदेखि सारङ्गी बजाउन थालेको हुँ, अहिलेसम्म निरन्तर यही पेशामा छु,’ ६१ वर्षीय बलरामले हाँस्दै भन्नुभयो । उहाँका अरु दुई भाइ पनि यसै पेशामा छन् । यसैबाट जीवन चलाएका छन् ।

देशका विभिन्न ठाउँ पुग्नु, सारङ्गीको धुनमा मिठो गीत सुनाउनु उहाँको दैनिकी हो । यसैबाट आएको कमाईले परिवारको गुजारा चल्दै आएको छ ।

‘काठमाडौँ, चितवन, पोखरा लगायत देशका विभिन्न शहरमा पुग्छु, सारङ्गीको धुनमा गीत सुनाउँछु, यसैको कमाईले जीवन चलाएको छु’ उहाँले भन्नुभयो ।

बलरामका दुई छोरा र दुई छोरी छन् । उहाँले दुई छोरालाई काठमाडौँ पढाउनुभएको छ । जेठी छोरीले पराई घर सम्हालिसक्नुभएको छ । कान्छी छोरी कक्षा १२ मा पढ्दै हुनुहुन्छ । ‘सारङ्गी बजाउने पेशाबाट दैनिक ७/८ सय कमाई हुन्छ, यसैबाट जीवनको गुजारा चलाएको छु, छोराछोरी पढाएको छु,’ उहाँले सुनाउनुभयो ।

केही समयअघि उहाँ सारङ्गी लिएर गाउँगाउँ पुग्नुहुन्थ्यो । गीत सुनाउनुहुन्थ्यो । गाउँलेले अन्नबाली दिन्थे । तर अहिले उहाँ गाउँभन्दा बढि शहर केन्द्रित हुनुभएको छ ।

‘गाउँमा बस्ती रित्तिदैँ गएका छन्, शहरमा मानिसको चाप छ, गाउँमा भन्दा शहरमा अलिक आम्दानी बढि हुन्छ,’ उहाँले भन्नुभयो ।

सारङ्गी बजाउने पेशा गन्धर्व जातिको मौलिक पेशासँगै सँस्कृति रहेको बताउँदै यसप्रति युवापुस्ताको चाख र चिन्ता नहुँदा यो पेशा हराउँदै गएकोमा उहाँले बह पोख्नुभयो ।

‘यो हाम्रो संस्कृति हो, छोरानाती पुस्ताले यो पेशामा लाग्नै खोज्दैनन्, बरु विदेश जान अन्य पेशा अँगाल्न राजी हुन्छन्,’ बलरामले तीतो यथार्थ सुनाउनुभयो । उहाँका अनुसार समाजले राम्रो दृष्टिकोणले नहेर्ने, यसैबाट सजिलोसँग गुजारा नचल्ने भएकाले पनि युवापुस्ता यस पेशामा तानिन नसकेका हुन् ।

उहाँले माया, प्रेम, मिलन, बिछोडका साथै देश, समाजका समसामयिक विषयवस्तुमा केन्द्रित रहेर गीत सुनाउनुहुन्छ । बीचैमा उहाँले सारङ्गीको धुनमा वियोगान्त गीत सुनाउनुभयो ।

माया भन्ने चराउनी घाउ रैछ,  
बैगुनीको झुक्याउने दाउ रैछ 

‘सारङ्गीको धुनमा गीत सुनाउँदा कति त धुरुधुरु रुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

सारङ्गी बजाउने पेशाको संरक्षणमा राज्यले चासो दिएको तर आफ्नो समुदायका युवा पुस्ताले चाख नदिएको उहाँले बताउनुभयो ।

पैसाका लागि विदेश जानुभन्दा यसै पेशामा लागि स्वदेशमै बाँच्ने आधार खोज्न उहाँले युवा पुस्तालाई आग्रह पनि गर्नुभयो । अन्त्यमा वैदेशिक रोजगारीप्रति लक्षित गर्दै उहाँले एउटा गीत सुनाईहाल्नुभयो ।

हे बरै......
बर्मा गए कर्मासँगै भन्थे बुढापाका
कहिले पुगे साउदी कतार
कहिले पुगे ढाका
जहाँ गए पनि यस्तै रैछ नेपालीको दुःख
कही गएर देखिनँ मैले पैसा फल्ने रुख
न सकियो विदेशमा रमाउन
न सकियो सम्पत्ति कमाउन ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया