MENU

मनोरञ्जन

ujyaalo forign call inside

मेरा केही साथी जेलमा छन् – आर्यन अधिकारी

काठमाडौं, माघ २४ – अभिनेता आर्यन अधिकारी यतिबेला सिनेमा ‘करोडपति’को काममा व्यस्त छन् । यस सिनेमामा उनले अभिनेत्री निता ढुङगानासँग पर्दा बाँडेका छन् ।

 

केही समयअघि उनको दोस्रो सिनेमा ‘बटरफ्लाई’ रिलिज भएको थियो । तर सिनेमाले सोचेजस्तो सफलता भने पाएन । तर सिनेमाको प्रचारप्रसारका क्रममा मजैले समय दिएका आर्यनले हामीसँग आफ्नो बाल्यकाल, किशोरावस्था र करिअरको बारेका केही कुराहरु सेयर गरेका छन् ।

बाल्यकाल

मेरो जन्म नवलपरासी जिल्लाको बुद्ध बस्तीमा भएको हो । म त्यहीँ हुर्किएको हो । म सानो हुदाँ त्यो गाँउमा सोह्र वटा मात्र घर थियो । म सामान्य गाउँले परिवेशमा हुर्किएको मान्छे हो । बाल्यकालमा मैले तीन चार वटा त स्कुल नै परिवर्तन गरेको थिएँ । सानोमा म त्यति बदमास थिइन ।

धेरैले मलाई सोझो भन्थे । म धेरै बोल्दिनथेँ । तर कहिलेकाहिँ गरेका गल्तीहरुले आमाबाबाको पिटाई भने खाएको छु । मेरो बाल्यकाल सुन्दर तरिकाले बित्यो भन्छु म । किनभने अहिलेको र पहिलेको पुस्तालाई दाँज्नमिल्दैन । अहिले हामी टेक्नोलोजीको दुनियाँमा छौ । हरेकको हातमा फोन, युट्युब र फेसबुक छ । पहिला भने अर्कै थियो । पहिला सानो चिजमा खुशी भइन्थ्यो । ठूलो कुरा चाहिन्नथ्यो । जङ्गगलमा गएर सानो धर्का बनाएर हामी खेल्ने गथ्र्याैँ ।

अहिलेको पुस्ताहरु गलत बाटोमा गइरहेका छन् जस्तो मलाई लाग्छ । कुनै बच्चा रोइरहेको छ भने युट्युबमा एउटा सानो भिडियो लगाइदियो बच्चा फक्की हाल्छ । घर बाहिरको क्रियाकलापहरु कम भएको छ । पहिला सानो हुदाँ हामी घरमा कम बाहिर धेरै समय बिताउने गथ्र्यौँ । त्यही कारण त्यो जमानाको बच्चाहरु फिट पनि थिए । अहिलेको त फिट पनि देख्दिन म । ओभर वेट हुने, आँखा कमजोर हुने विभिन्न खाल्को समस्या आजभोलिका बच्चाहरुमा देख्न सक्छौँ हामी । 

किशोरावस्था

किशोर अवस्थामा हुदाँ आमाबाबासँग मेरो सम्बन्ध राम्रो थियो । खासमा हामी त्यो समयमा मैले सोचेको कुरा मात्र सही र राम्रो हो भनेर भन्छौँ । हामीले बाबाआमालाई तपाईँहरु बुझ्नुहन्न जमाना धेरै बदलिएको छ भन्छौँ । सायद यी कुराहरु मैले पनि कुनै समयमा भने होला । त्यो भने निकै गलत भनाई हाे किनभने जुन अनुभव हाम्रो परिवारसँग हुन्छ त्यो पढेर लेखेर होइन परेर भोगेको कुरा हो । किशोरावस्थामा हामीले आफ्नो परिवारको कुरा सुन्नुपर्छ । किनभने आफ्नो बच्चाबच्चीको लागि बाआमाले कहिल्यै पनि नराम्रो कुरा भन्नु र सोच्नुहुन्न । 

उमेर पुगेपछि विवाहको दबाब

मेरो परिवारमा बाबाआमा मेरो दाइभाउजू उहाँको दुई वटा बच्चा, भाइबुहारी, उहाँको छोरी र म बस्छाँै । म माइलो छोरा हो । मेरो विवाह भने भएको छैन । विवाहको प्रेसर त उमेर भएपछि परिवारबाट आइ नै हाल्छ । तर, विवाह भनेको कुरा पूर्ण रुपमा तपाईँको इच्छा र चाहनाको कुरा हो । यो बुबाआमा या परिवारको लागि गर्ने होइन । कसैको कर कापमा आएर विवाह गर्नु भनेको गलत हो । 

मेरा साथी

मेरा स्कुलका साथीहरु कोही–कोही कुरै पिच्छे लड्ने खाल्को थिए भने कोही मिलनसार । कोही सानैबाट व्यापार गर्नुपर्छ भन्ने खाल्को थिए त कोही बिन्दास पनि थिए । अहिले   गाउँ जादाँ उनीहरुलाई भेटिरहेको हुन्छु । कलेजका भने धेरै साथी छैनन् मेरा । नेपालमा भएकाहरुसँग भेटघाट हुन्छ । तर भेट नहुने ती विदेशका साथीहरुलाई अहिले सम्झिदा रमाइलो लाग्छ । मेरो ड्रग्समा सङ्लग्न वा कुनै गलत काम गर्ने साथीहरु पनि थिए ।

तर म सधैँ उनीहरुबाट टाढा बस्थेँ । उनीहरुलाई सम्झाउँथे । मेरा केही साथीहरु त जेलमा पनि छन् । किनभने त्यो समयमा उनीहरुले ती कुराहरुलाई साधारण रुपमा लिए । हामीले राम्रो चिज गर्दै गयौँ भने त्यसले हरेक दिन एउटा इँटा थप्दै जान्छ । त्यो इँटा राम्रो हुन्छ । त्यसको राम्रो घर बन्छ । तर, नराम्रो काम गर्यौँ भने पनि त्यही अनुसारको फल पाइन्छ । 

पढाई

पढाई राम्रो थियो मेरो । त्यो भन्ने बित्तिकै क्लास टप भने होइन । फेल भएको अनुभव पनि छ । एकपटक म नपढेर भन्दा पनि पढ्न नपाएर फेल भएको थिएँ । एसएलसीपछि भने मैले पढ्न धेरै समय पाइन किनभने म सानै उमेरदेखि काम गर्थेँ । त्यसले गर्दा मैले कलेज दिनदिनै जान पनि पाइन । छोटो समयमा परीक्षाको धेरै तयारी गर्नुपर्ने थियो । 

त्यो बेलामा मैले चाहँदा चाहदैँ पनि गर्न सकिन । म कक्षा तीन सम्म पढ्दा मेरो स्कुलमा छत पनि थिएन । पानी पर्दा हामी घर जान पाउँथ्यौ र त्यसले हामी निकै खुशी हुन्थ्यौँ । पानी पर्यो भने घर जान पाइन्छ भनेर पानी पर्दिए हुन्थ्यो भनेर सोच्ने गथ्र्यौँ । मैले कक्षा चारमा हुदाँ ए.बि.सि.डी पढेको हो । म चारमा हुदाँसम्म मलाई अंग्रेजीमा नाम लेख्न आउँदैनथ्यो । 
त्यो

पछि मैले सधै सरकारी स्कुलमै पढे । मैले एस.एल.सी र प्लस टू पास गरेँ । पछि मैले यू.के. गएर पढ्न पाएँ । यदि हामीभित्र म केही गर्न सक्छु भन्ने हिम्मत र आँट भयो भने हरेक कुरा सम्भव छ । मैले लन्डनपछि अमेरिका पनि गएर पढेँ । हिजोको दिनमा मलाई कक्षा चारमा हुदाँसम्म अंग्रेजीमा नाम लेख्न आउँदैन भनेर बसेको भए आज सायद म जे गरिरहेको छु त्यो गरिरहेको हुँदैनथेँ होला । आफूमा विश्वास राख्न निकै जरुरी छ । 

मलाई देखेर साथीहरु दङ्ग

मलाई मेरो कतिपय साथीहरुले तिमीले अहिले सिनेमामा काम गर्दै छौ भनेर पत्यार पनि लाग्दैन भन्छन । कसैले तिमी त बोल्दै बोल्दैन्थ्यौ, लाज मान्थ्यौँ,जिन्दगीमा नाचेको पनि देखिएन यस्तो मान्छे हिरो बन्ला भनेर त मैले सोचेको पनि थिइन भन्छन् । उनीहरु अहिले म अभिनेता बनेको देखेर दङ्ग छन् ।

मेरो दिमागमा सानैबाट म एक्टर बन्छु भन्ने थियो । दिमागमा थियो तर हरेक कुराको समय हुन्छ । समयभन्दा पहिला र भाग्यभन्दा अगाडि केही कुरा पनि पाइन्न भन्छन् । भाग्यको थाहा भएन मलाई तर समयभन्दा अगाडि चाहिँ केही पनि हुन्न जस्तो लाग्छ । किनभने यो कुरा मैले निजी जिन्दगीमा भोगी सकेको छु । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया