MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​हेलिकप्टरबाट कच्चा पदार्थ लगेर गोरखाको छेकम्पारमा पहिलो पटक चीज उत्पादन

 किरण लोहनी /उज्यालो । 

गोरखा, माघ २४ – गोरखाको हिमालपारिको गाउँ छेकम्पारमा पहिलो पटक चीज उत्पादन सुरु भएको छ ।

किसानहरुले परीक्षणका रुपमा चौंरी गाईको दूधबाट चीज उत्पादन गरेका हुन् । जिल्ला पशु सेवा कार्यालय र अक्सफाम नामक संस्थाको सहयोमगा आवश्यक तालिमसहित सामग्री सहयोग पाएपछि गएको पुसमा उनीहरुले परीक्षणका रुपमा ४ किलोग्राम चीज उत्पादन गरेका वरिष्ठ पशु विकास अधिकृत डाक्टर जगतवन्धु नेपालीले बताउनुभयो । 

हालको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ मा पर्ने छेकम्पारमा पशु सेवा कार्यालयले दुई वर्षअघिदेखि चौँरी संरक्षण कार्यक्रम सुरु गरेको थियो । हिंसारहित गाउँको चिनारी बनाएको छेकम्पारका दूधालु चौँरी गाई समेत तिब्बततर्फ बेचिने गरेपछि कार्यालयले व्यवसायिक दस्ध उत्पादनमा जोड दिएको थियो । पहिलो वर्ष ३ लाख २५ हजार रुपैयाँ खर्च गरेर चौँरीको चरनक्षेत्र संरक्षणलगायतका कार्यक्रम गरेको कार्यालयले गत वर्ष भने अक्सफामसँग मिलेर चीज उत्पादन कार्यक्रम थालेको हो । 

५१ जना चौँरीपालक कृषकको सहभागितामा छुलेनिले चौँरीपालक समूह गठन गरी उनीहरुकै सहभागितामा चीज उत्पादन शुरु भएको पशु विकास अधिकृत नेपालीले बताउनुभयो । समूहका कर्मा छेवाङ र छेपेल दोर्जे लामाले म्याग्दीको कारखानामा पुगेर चीज उत्पादनसम्बन्धी तालिम लिएका हुन् । चीज उत्पादनका लागि जिल्ला पशु सेवा कार्यालय र अक्सफाम नेपालले १५ लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन् ।

चीज कारखानाका लागि आवश्यक पर्ने ५ लाख २५ हजार रुपैयाँको चीज भ्याट हेलिकप्टरमार्फत छेकम्पार पुर्‍याइएकाे हो । बजारमा चौंरीको चीजको माग उच्च भएकाले हिमाली भेगका किसानको जीविकोपार्जनमा सुधार ल्याउन चीज उत्पादन कार्यक्रम सुरु गरिएको अक्सफाम गोरखाका अधिकृत चित्र दाहालले बताउनुभयो । 

बजारमा चौंरीको चीज २२ शय देखि २५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । अहिले जाडोयाममा चौंरीको दूध उत्पादन घट्ने भएकाले व्यवसायिक चीज उत्पादन भने साउनतिरबाट मात्रै सुरु गर्ने किसानको तयारी छ । 

असारदेखि मंसिरसम्म चौँरी गाईको दूध उत्पादन बढ्ने गर्दछ । छेकम्पारमा मात्रै ३ सय ८२ चौँरी रहेका जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । एक किलोग्राम चीज उत्पादनका लागि १० लिटर दूध उत्पादन हुन्छ । आउँदो सिजनमा २ सय किलोसम्म चीज उत्पादन गर्ने किसानको लक्ष्य छ । 

बजारक्षेत्र टाढा भएकाले उत्पादित चीज मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकलाई बिक्री गर्ने चौँरीपालक किसानहरुको योजना रहेको वरिष्ठ पशु विकास अधिकृत नेपालीले बताउनुभयो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया