MENU

राजनीति

ujyaalo forign call inside

उम्मेदवारको चुनाव खर्च दुई सय रुपैयाँ मात्र !

गोविन्द शर्मा/उज्यालाे ।

बाँके, माघ २४ – बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवारी दिएका मध्ये एक जना उम्मेदवारले आफ्नो चुनावी खर्च दुई सय रुपैयाँ सार्वजनिक गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार  नेपाल मजदुर किसान पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट प्रदेशसभाका उम्मेदवार समिरकुमार गुरुङले निर्वाचन अवधिभर दुई सय रुपैयाँ खर्च भएको भन्दै क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण प्रस्तुत गर्नुभएको छ ।

गुरुङले रिक्सा भाडावापत चुनाव अवधिभर दुईसय रुपैयाँ खर्च भएको बताउनुभयो । नेमकिपाका उम्मेदवारको धरौटी रकम र प्रचार सामाग्री समेत केन्द्रबाट प्राप्त भएको थियो । चुनावमा अत्याधिक खर्च भएको गुनासो  भए पनि साना पार्टीका उम्मेदवारको खर्च भने अत्याधिक न्यून देखिएको छ ।  देशभक्त गणतान्त्रिक मोर्चाका प्रदेशसभा २(ख)का उम्मेदवार दिनेश श्रीवास्तवले चुनावमा दुई हजार रुपैयाँ खर्च भएको विवरण क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रदेशसभा ३(क) का उम्मेदवार भक्तबहादुर बुढाको चुनाव खर्च दुई हजार दुई सय २७ रुपैयाँ रहेको छ । यसैगरी राजपाका उम्मेदवार सोनु गुरुङको चुनाव खर्च तीन हजार रुपैयाँ रहेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रमुख राजनीतिक दलका उम्मेदवारहरुको खर्च भने अत्याधिक छ । बाँके क्षेत्र नम्बर ३ बाट विजयी नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकायको चुनाव खर्च २२ लाख ७५  हजार ४ सय ५ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । यसैगरी नेपाली काङ्ग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्रीको खर्च विवरण २२ लाख ५१ हजार ४ सय ५० रुपैयाँ रहेको छ । कानुन अनुसार प्रतिनिधिसभा उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया