MENU

बातावरण-कृषि

Ncell Axiata

चितवनमा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिने

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, माघ २४ – वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिहरु कार्ययोजनासहित वन संरक्षणमा जुटेका छन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत चितवनमा रहेका ११ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गर्न सुरु गरिएको हो । 

दुई वर्ष अगाडिदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत १०÷१० वर्षे कार्ययोजना बनाएर काम गरिदै आएको जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत गणेश थापाले बताउनुभयो । वनभित्र सुकेका र बुढा रूखलाई काटेर नयाँ बिरुवा रोप्ने कार्यक्रम रहेको छ । थापाका अनुसार वनलाई आगलागी र चरिचरणबाट जोगाउदै पुनः उत्पादन पद्दतीअनुसार काम गरिने बताउनुभयो । 

राप्ती नगरपालिकामा रहेको पशुपति कैलाशपुरी सामुदायिक वन उपभोक्ता समूहबाट कार्यक्रम सुरु गरिएकोमा अहिलेसम्म ११ सामुदायिक वनमा कार्यक्रम भइसकेको छ । सुरुमा हरेक सामुदायकि वनलाई ८ प्लटमा विभाजन गरेर काम गर्दै आएको जानकारी दिदै पाण्डेले छुट्याइएको ८ प्लटमध्ये हरेक प्लटलाई पुनः १० भागमा विभाजन गरेर वन संरक्षणको कामगर्दै आएको बताउनुभयो । 

वैज्ञानिक वन व्यवस्थापन अनुसार अघिल्लो वर्ष काम सुरु भएका प्लटमा पनि नियमित रुपमा काम जारी राखिरहनु पर्ने छ । यसरी विभाजित गरिएको ८० वटा सब प्लटमा ८० वर्षमा काम पुरा हुँने र यो चक्र पुनः पहिलो प्लटमा सुरु हुने हुँदा वनबाट हुने उत्पादनको प्रतिफल प्रभावकारी रुपमा लिन सकिने वनविज्ञहरुले बताएका छन् । 

‘वनको संरक्षण र सदुपयोग गर्नका लागि नै वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको हो,’ थापाले भन्नुभयो ‘यो कार्यक्रमले वन संरक्षणमा लाग्ने सबैलाई समान रूपले फाइदा पुग्ने छ ।’ वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत पुराना काम नलाग्ने रुखहरू कटान गरी नयाँ रुख रोप्ने र त्यसलाई संरक्षण गर्न उक्त क्षेत्रमा तारबारकोे व्यवस्थासमेत गरिने छ ।

अहिले जसरी वन पैदावारको उपभोग भएको छ त्यसरी नै संरक्षण पनि हुन सकेन भने भावी पुस्ताले वन पैदवार उपभोग गर्न नपाउने भएकाले भावी पुस्ताको उपभोग अधिकार सुनिश्चितताका लागि पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम आवश्यक रहेको थापाले बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनका लागि प्रत्येक सामुदायिक वनलाई सरकारले १५/१५ लाख रुपैयाँ अनुदान दिने गरिएको बताउदै थापाले संरक्षणको क्रममा जंगलबाट भएको आम्दानी सामुदायिक वनमै रहने व्यवस्था रहेको बताउनुभयो । 

वनलाई संरक्षणका लागि आगो र चरणबाट जोगाउनु प्रमुख चुनौति रहेकाले त्यसबाट जोगाउनका लागि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना अनुसार अग्नी नियन्त्रण रेखा निर्माण, प्रयाप्त मात्रामा तारबार तथा नियमित कार्यक्रमबाहेक पनि अनुगमन भइरहने वनकार्यालयले जनाएको छ । 

वैज्ञानिक तरिकाले वन व्यवस्थापन गरिँदा वन मासिने र फँडानी हुने क्रममा पनि कमी आउने बताउदै सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेलले यसले उपभोक्ता र वन दुवैको हित हुने बताउनुभयो । कार्यक्रमले वन व्यवस्थापन गर्न सजिलो हुने र उपभोक्ताले प्रत्यक्ष फाइदा पाउने भएकाले कार्यक्रम लागु भएको वनका उपभोक्ताहरु सकृय भएर लागेको बताउनुभयो ।  

बनउपभोक्ता समितिले ८० वर्षे चत्रका आधारमा पहिलो प्लटमा १० वर्षे कार्ययोजनाका आधारमा काम गर्ने र काममा अनियमितता भए बीचमै कार्यक्रम रोकिने कार्यालयले जनाएको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारले छुट्याएको अनुदान रकम मध्ये पहिलो किस्तामा १० वटै सामुदायिक वनले ६÷६ लाख रुपैयाँ पाइसकेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया