MENU

समाज

ujyaalo forign call inside

पेट काटेका भिकु भन्छन् : 'बाँच्ने रहर छैन'

डीबी विष्ट/उज्यालो । 

काठमाडौं, माघ, २४ – २०६९ सालमा भिकुको अचानक पेट दुख्न थाल्यो । दुखाई बढ्दै गए पछि उहाँका छोराहरुले जिल्ला अस्पतालमा उपचार गर्न लगे । उपचार सुरु भयो । जिल्ला अस्पतालका डाक्टरहरुले आन्द्रामा समस्या भएको हुन सक्ने अनुमान गरे । डाक्टरले जिल्लामा उपचार सम्भव नभएको भनेपछि भारत लैजान सुझाव दिए । विहान बेलुकाको छाक टार्नै समस्या पर्ने भिकुको परिवारले भारत लगेर उपचार गर्न निकै कठिन थियो । भिकुका छोराहरुले आँट गरे । सिलाई कटाई गरी जिविका चलाउँदै आएका भए पनि जसो तसो केही पैसा जम्मा गरेर बुबालाई उपचारका लागि भारत लगे ।

भारतमा उपचार गराउन सुरु गरेपछि डाक्टरहरुले भिकुको आन्द्रामा समस्या रहेको र अप्रेशन गर्नुपर्ने बताए । छोराहरुले डाक्टरलाई कति खर्च लाग्छ भनेर सोधे । डाक्टरले दुई साढे दुई लाख लाग्छ भने । छोराहरुले अप्रेशन गर्नु भनेपछि डाक्टरले अप्रेशन सुरु गरे । भिकुको आन्द्रा काट्नु पर्ने थियो । अप्रेशन भए पनि छोराहरुले पैसा जुटाउन सकेनन् । उता अस्पतालमा भिकुको उपचारमा अलमल भयो । छोराहरुले समयमै पैसा जुटाउन नसकेपछि भिकुको सफल उपचार हुन सकेन । डाक्टरले धेरै दिनसम्म कुरे । तर पनि पैसा जम्मा भएन ।  मलद्वारबाट दिसा आउन छोड्यो । डाक्टरहरुले पेट काटेर त्यहीँबाट दिशा आउने बनाई दिए । पैसा जुटाउन नसकेपछि भिकुको पूर्ण रुपमा उपचार हुन सकेन । 

बझाङको तल्कोट गाउँपालिका–५ का भिकु दमाइको पूर्ण रुपमा उपचार हुन नसकेपछि औषधि खाएरै बाँचिरहेका छन् । अहिले उहाँको पेटमा प्लाष्टिक बाँधिएको छ । कहिलेकाहीँ औषधि किन्नका लागिसमेत पैसा नहुँदा समस्यामा पर्ने गरेको बताउनुभयो  । भावुक हुँदै उहाँ भन्नुहुन्छ, ‘त्यति बेला नै मरेको भए राम्रै हुन्थ्यो । बाँचेर बेकार भएको छ । मलाई बाँच्न रहर छैन । मेरा कारणले परिवारले समेत दुःख पाएका छन् ।’ 

दमाइका पाँच छोरा र दुई छोरी छन् । कृषि काम गरेर खानका लागि पनि जग्गा जमिन छैन । अलिअलि लुगा सिलाएरै जिविकोपार्जन गर्ने भिकु कहिलेकाहीँ मागेरै खाने गर्नुभएको छ । भिकु भन्नुहुन्छ, ‘विहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या छ औषधि किन्ने पैसा कहाँबाट पाउनु ?’ अहिले औषधि किन्न पैसा नभएका कारण पेटमा भएको घाउ दुख्न थालेको भिकुले बताउनुभयो । 

आफ्नो शारिरीक अवस्था यस्तो भएको कारण परिवारले समेत दुख पाएकोमा बाँच्नै मन नलाग्ने उहाँ बताउनुहुन्छ । उहाँका दुई छोरा परिवारको खर्च धान्न र भिकुको उपचार गर्नको लागि पैसा कमाउन भारत गएका छन् । तर उहाँका छोराहरुले अहिलेसम्म पनि रोजगार नपाएको गुनोसो उहाँले गर्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया