MENU

राजनीति

Ncell Axiata

प्रदेश १ मा मुख्यमन्त्रीको उम्मेदवार छान्न आज चुनाव

सुमन तिमल्सिना/उज्यालो । 

मोरङ, माघ २६ – प्रदेश नं. १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव नै हुने भएको छ । सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । तीनजना नेताहरु भीम आचार्य, शेरधन राई र जीवन घिमिरे मुख्यमन्त्रीको दाबीका साथ मैदानमा उत्रिएपछि संसदीय दलको नेता छान्न सकस देखिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले तीनैजना नेताहरु आन्तरिक लविङमा जुटेका छन् ।

एमाले भित्र देखिएको गुटगत राजनीतिले मनोनयन दर्ता गर्ने समय बिहान ११ बजेसम्म कुन मोड लिन्छ यसै भन्न सकिने अबस्था छैन । आचार्य र घिमिरे नेपाल पक्षका तथा राई ओली पक्षमा हुन् । ओली पक्षका नेता भानुभक्त ढकाल राईलाई मुख्यमन्त्री बनाउन केही दिनदेखि बिराटनगरमा नै बसेका छन्  ।

 नेपाल गुटका योगेश भट्टराई पनि विराटनगरमा आएर आचार्यको पक्षमा लविङ गरेका छन्  । तर जीवन घिमिरेको पक्षमा भने अहिलेसम्म कोही पनि त्यसरी  खुलेरै लागेको देखिँदैन । चुनावको बेलासम्म घिमिरेले आफ्नो नाम फिर्ता लिन सक्ने सम्भावना बलियो रहेको बताईन्छ । तर घिमिरे आफू चुनावमै जाने दाबी गर्दै आएका छन्  । 

केन्द्रीय नेताहरुका गुटअनुसारको बोली

ओली निकट नेता ढकालका अनुसार भौगोलिक क्लष्टरका आधारमा १ नम्बर प्रदेशमा जनजातिको बाहुल्यता रहेको कारणले त्यही अनुसार मुख्यमन्त्री चयन हुनेछन्  । जनजातिबाट कसैको पनि दाबी नआएको कारण ढकालले भनेको कुरालाई हेर्दा राई बाहेक मुख्यमन्त्री अरु हुन सक्दैनन् भन्ने हो । 

तर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई एमाले भित्र नेतृत्व नै संसदीय दलको नेता हुने ब्यवस्था रहेकोले त्यही आधारमा १ नम्बर प्रदेशको संसदीय दलको नेता पनि उसैगरी छानिनु पर्ने बताउँछन् । भट्टराईको भनाईलाई आधार मान्ने हो भने आचार्य बाहेक अरु संसदीय दलको नेता अर्थात मुख्यमन्त्री बन्न नसक्ने देखिन्छ । 

केन्द्रीय नेताहरुले आफ्ना निकटका नेताहरुलाई समाएर बस्दा १ नम्बर प्रदेशमा मुख्य मन्त्री छान्ने बिषय पेचिलो बनेको हो । शेरधन राईलाई जिताउनको लागि जीवन घिमिरेलाई गोटीको रुपमा अघि सारिएको केही नेताहरु बताउँछन्  । १ नम्बर प्रदेशमा नेपाल निकटका ३१ जना रहेको बताईरहँदा तीनैजना चुनावमा जाँदा राईको पक्षमा मत बढ्ने आँकलनले घिमिरेलाई गोटीको रुपमा अघि सारिएको हुनसक्ने एमाले श्रोत बताउँछ । 

माओवादी केन्द्रले छान्यो

एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पूर्व अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सदस्य समेत रहेका थिए । त्यस्तै माओवादी केन्द्रले ईन्द्रवहादुर आङ्बोको नेतृत्वमा प्रदेश सरकार जाने निर्णय गरेको छ । 

संसदीय दलको नेता र सरकारमा जाने ब्यक्तिको टुङ्गो लागेसँगै उपसभामुखको बिषयमा माओवादीले टु‌ंग्याउन सकेको छैन । एमालेले सभामुखमा पुरुष दियो भने उसले महिला दिने तयारी गरेको छ भने एमालेले सभामुखमा महिला दिँदा माओवादी केन्द्रले उपसभामुखमा पुरुष दिनेगरी आन्तरिक गृहकार्य गरेको मओवादी केन्द्रका प्रदेश संयोजक सावित्री कुमार काफ्लेले जानकारी दिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया