MENU

समाज

ujyaalo forign call inside

सय वर्षमा पनि नहुने परिवर्तन यसरी सम्भव भयो, अढाई वर्षमै

पी.टी. लोप्चन/उज्यालो 

रसुवा, माघ २६ – भूकम्पपछि रसुवाको माथिल्लो रुप्सेपानीगाउँमा एउटा घर मात्र ठाडो थियो । सिमेन्ट र रड लगाएर बलियोसँग बनाएको हुनाले गीता पौडेलको घर भने गाउँभरिकै घर माटोमा मिल्दा पनि ढलेको थिएन । 

गाउँका सबै घर ढलेपछि माथिल्लो रुप्सेपानीका गोविन्द पौडेललाई लागेको थियो, ‘अब विकासको दृष्टिकोणले हामी पचासौं वर्ष पछि धकेलिने भयौं, गरिबी बढ्ने भयो ।’ तर भूकम्प गएको झण्डै तीनवर्ष हुनै लाग्दा पौडेलको त्यो बेलाको सोचाईको सुई ठीक उल्टो गतिमा घुमेको छ । हिजोआज उहाँ भन्ने गर्नुहुन्छ ‘भूकम्पले गर्दा सय जर्षमै नहुने विकास अढाई वर्षमै सम्भव भयो ।’ 

‘हो म अनुभूति गर्ने गर्छु, भूकम्पले हामीलाई सय वर्ष अगाडि ल्यायो, अबको सय वर्षमा पनि हुन नसक्ने कामहरु अढाई वर्षकै बीचमा भएको पाएको छु, जुन भूकम्पन गइदिएको भए हाम्रो पालामा सम्भव नै थिएन ।’ पौडेल भन्नुहुन्छ ‘एकैपटक जस्ती विकास भएको छ, धकेल्यो भन्ने लागेको थियो । दाताको सहयोगले पचास वर्ष अगाडि आयौं, असुरक्षित घर बनाउनु हुँदैन भन्ने चेत खुलेर सबैले भूकम्प प्रतिरोधी संरचना बनाएका छन् । यस्तो बलियो संरचना कहिल्यै पनि बन्ने थिएन । यस्तो पक्की संरचना बनाउने त के, हामीले देख्न पनि पाउँदैनथ्यौं, ढुंगा र माटोको गारो लोप भएपनि सिमेन्ट र ढुंगाको गारो लगाएर अहिले पक्की संरचना बनेको छ ।’ 

घर बलियो भएपछि घरमा बस्न पनि ढुक्क । ६० वर्ष पार गरिसक्नुभएकी रुप्सेपानीकी सीतादेवी पौडेलको मनबाट घरले थिचेर मरिन्छ भन्ने सोच हटिसकेको छ । ‘फलामले जेलिएर बनाएको छ, फलामले कसेर बनाएको घर अब त पक्कै भत्किदैन ।’ सीतादेवीले भन्नुभयो । 

स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त घर 

आफ्नै घरले पुरिएर कयौंको ज्यान गएपछि घर भनेको बलियो बनाउनुपर्छ भन्ने चेत खुलेकाले होला, भूकम्प प्रभावितले बनाएका घर भूकम्प प्रतिरोधी नै छन् । तर नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी मात्र नभई स्वास्थ्य तथा वातावरणीय पक्षलाई पनि ध्यान दिएर बनाउनुपर्छ । रुप्सेपानीका बासिन्दाले यी दुवै पक्षलाई पनि राम्ररी ध्यान दिएका छन् ।  

‘पहिले ठूलो घर भएपनि सबै सोलोडोलो बनाइन्थ्यो । खाना पकाउन आगो फुक्नै पर्ने, धुँवाले सबैतिर कालो बनाउँथ्यो । जस्तापाता, काठ, दराज, कपडा सबै कालो बनाउँथ्यो । नदेख्ने भएर मात्र मानिसको फोक्सो पनि कालो बनाउँथ्यो, अनि दमको रोगी हुन्थ्यौं ।’ 

तर अब रुप्सेपानीका ठाकुरप्रसाद पौडेलको घरबाट यी पुरानो संरचना विस्थापित भइसकेको छ । उहाँले ढुंगा र माटोको सट्टा ढुंगा, इटा र सिमेन्टको प्रयोग गरेर घर बनाउनुभएको छ । 

अहिले बनेको घरमा भान्छा कोठा, भण्डार कक्ष, पूजा कोठा, बैठक कोठा र सुत्ने कोठा फरक फरक बनाइएको छ । भान्छा कोठा र भण्डारण कोठा अलग्गै भएपछि घरैभरि धुवाँ फैलिने सम्भावना पनि भएन, अनि कीरा, फट्याङग्रा, घुन पुत्ला पनि नआउने भयो । 

‘पहिले माटोको घर भएपछि धुलो त यसै पनि हुन्थ्यो, जत्ति सफा गरेपनि कति धुलो खान्थ्याैं होला, तर अब हामी धुवाँ, धुलो यी सबै कुराबाट मुक्तभएका छौं’ ठाकुर पौडेलले भन्नुभयो । 

रसुवाको कालिका गाउँपालिकाका अधिकांश घरहरु ठडिएका छन् । बनिरहेका घरहरुमा पनि भूकम्प प्रतिरोधी र वातावरणीय तथा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त प्रविधि प्रयोग भइरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया