MENU

समाज

ujyaalo forign call inside

​गुराँसको राजधानीमा पिउने पानीको चरम अभाव

तेह्रथुम, माघ २६ – तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको आकर्षक गन्तव्य गुफाबजारमा खानेपानीको समस्या चुलिएको छ । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती यो बजार टिएमजे क्षेत्रकै उत्कृष्ट र आकर्षक गन्तव्य हो । गुराँसको राजधानी भनेर चर्चित टिएमजे क्षेत्रमा सबैभन्दा बढी पर्यटक पुग्ने स्थल नै गुफाबजार हो । 

धेरै आन्तरिक पर्यटकहरुको पुग्ने अन्तिम विन्दु पनि हो यो बजार । यहाँबाटमाथि गएपछि खाने, बस्ने सुविधासहितका होटल तथा पसलहरु पाइँदैनन् । छेउमै रहेको गुफापोखरीमै बर्सेनि पानी सुक्दै जाँदा गुफाबजारका बासिन्दालाई खानेपानीको समस्याले समेत सताउन थालेको छ । गुफाबजारसँगै सुके र जोरपोखरी बजारमा समेत खानेपानीको समस्या हुन थालेको स्थानीयबासीले बताएका छन् । 

पानीका मुहान सुक्न थालेपछि बर्सेनि पानीको अभाव चुलिँदै गएको चैनपुर नगरपालिका–१ स्थित सुकेबजारका कासाङ शेर्पाले बताउनुभयो । पर्यटकीय यी बजारका बासिन्दा र पर्यटकलाई लक्षित गरी सन् २००० तिरै गोर्खा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत खानेपानी योजना निर्माण गरिदिएको थियो । बजारभन्दा झण्डै चार किमि तलबाट पम्पिङ गरेर पानी तानी सन्चालित  खानेपानी योजनाको मुहान नै सुकेपछि अहिले बजारबासीलाई पिउन पानी पाउन मुस्किल पर्ने गरेको छ । 

वर्षामा भरथेग हुने गरेपनि हिउँदभर यी बजारबासीले पानी थाप्न लाइन लाग्नुपर्छ । ‘चिसोका कारण कमै मात्र पानी प्रयोग हुन्छ, तैपनि पानीको अभाव हुन थालेको छ,’ शेर्पाले भन्नुभयो । सो योजनाको मुहान सुकेपछि अहिले त्यतिवेला जडान भएका धारामा पानी झर्दैनँ । बजार बीचमा निर्मित पक्की धाराहरु प्रयोगविहीन छन् । स्थानीयबासीले विहान र बेलुका पालो मिलाएर पानी थाप्ने गरेका छन् । समुद्री सतहबाट २८९० मिटर उचाईमा रहेको गुफापोखरी पनि वर्षेनि सुक्दैछ । 

पोखरी सुक्दै जाँदा पिउने पानीको पनि अभाव हुन थालेको झण्डै पाँच दशकदेखि गुफामै बस्दै आएका हरि खनालले बताउनुभयो, ‘पहिले हिउँ पथ्र्यो, पानीका मुहान पनि थिए,’ उहाँले भन्नुभयो, ‘अहिले हिउँ पनि पर्न छाड्यो, पानीका मुहान पनि सुक्न थाले ।’ हिउँ पर्दा पग्लिएपछि पानी नै बन्ने भएकाले पानीको खाँचो नहुने गरेको उहाँले बताउनुभयो ।

‘यो जलवायु परिवर्तनका कारण होला, पानीका मुहान सक्ुदैछन्,’ उहाँले भन्नुभयोे । जाडो महिना सुरु भइसक्दा मुहानमै पानी जम्छ, अनि पानीका मुहान पनि सुक्न थाल्छन्,’ गुफाबजारका धार्के लामाले भन्नुभयो । मंसिरदेखि वैशाखसम्म पानीको अभाव हुने गरेको होटल व्यवसायी  लाक्पा शेर्पाले बताउनुभयो । ‘अहिले त पालोमा थाप्दा ठिकै हुन्छ, पछि चैत वैशाखमा झन् पानी नै पाउँदैन, त्यसबेला चाहिँ मान्छे पनि धेरै आउँछ,’ उहाँले भन्नुभयो ।

आफू गुफाबजारमा २५ वर्षदेखि बसोबास गर्दै आएको भन्दै उनले अहिले पानीका मुहान सुक्दै जानुको कारण जलवायु परिवर्तन भएको बताउनुभयो । फागुन अन्तिम साताबाट यो क्षेत्रका बनमा गुराँस फुलेर राताम्मे हुन्छन् । त्यसबेला पर्यटकको पनि भीड लाग्ने गर्छ । ‘ट्रेकिङमा आएका पाहुनाहरु टेन्टिङ गरेर बस्नुहुन्छ, तर खानेपानी दिनै मुस्किल पर्छ’, गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले भन्नुभयो ।

यो क्षेत्रका बासिन्दा अस्थायी रुपमा मात्रै बस्ने गरेकाले पनि खानेपानी समस्याको मुद्धा चर्को रुपमा उठ्न नसकेको प्रअ खनालले बताउनुभयो, ‘पर्यटकीय बजार हो, खानेपानी व्यवस्थापनमा ध्यान पुग्नु पर्ने हो, तर सबैले बेवास्ता गरेका छन् ।’

पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा खानेपानीलगायत बजार बिस्तारका लागि सरोकारवालाहरुको चासो नदिएको उहाँले बताउनुभयो । यहाँका बासिन्दाले १७ वर्ष यता प्रयोग गर्दै आएको खानेपानी आयोजनाका लागि मर्मत सम्भारका लागि बजेट नहुँदा भएको पानीको पनि सदुपयोग हुन सकेको छैन । 

केही वर्षअघि जिल्ला विकास समिति संखुवासभाले न्यून बजेटमा नयाँ खानेपानी योजना निर्माण गरिदिए पनि त्यसले समेत बजारको खानेपानी सुल्झाउन सकेको छैन । ‘खानका लागि त दुःख सुख चलेको छ, तर मुहान सुकेपछि कपडा धुन झनै समस्या हुन्छ,’ प्रअ खनालले भन्नुभयो ।

तीन जिल्लाको संगमको रुपमा रहे पनि बजारको अधिक भाग संखुवासभाको चैनपुर नगरपालिकामा पर्छ । त्यसैले पनि बजार क्षेत्रको विकासका लागि सहयोग पाउन मुस्किल परेको छ । गुफाबजारसहित तीनजुृरे मिल्के जलजले क्षेत्रकै संयुक्त विकासमा आफूले पहल गर्ने चैनपुर नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताउनुभयो ।

यो क्षेत्रको गुरुयोजना नै निर्माण गरी विकासका लागि लाग्नुपर्ने जरुरी रहेको तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङले बताउनुभयो । ‘टिएमजे क्षेत्रको प्रवेशद्धार बसन्तपुर हो, हामीले बसन्तपुरदेखि गुफासम्मको रुटमै सडक, खाने र बस्नेको सुविधालाई व्यवस्थित गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो । जिल्लाबाहिरबाट आउने पाहुनाले एक दिन बिताउन सक्ने गन्तव्य बनाउन आफूले पहल गर्ने उहाँले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया