MENU

राजनीति

Ncell Axiata

शाक्य र पाण्डेलाई पन्छाउँदै डोरमणि कसरी अघि आए ?

हरि हुमागाई/उज्यालो । 

हेटौंडा, माघ २६ – दुईजना चर्चित केन्द्रीय स्तरका नेतालाई पछि पार्दै एकाएक मकवानपुरका प्रदेशसभाका सदस्य डोरमणि पौडेल एमाले तीन नम्बर प्रदेशको संसदीय दलको नेताको रुपमा विजयी हुनुभयो । 

मकवानपुरका निकै शालीन र पाका नेताका रुपमा पौडेललाई लिइन्छ । संघीय राजधानी समेत रहेको तीन नम्बर प्रदेशमा मुख्यमन्त्री को बन्ला भनेर अड्कल काट्नेहरु धेरै नै थिए ।

तीन नम्बर प्रदेशको मुख्यमन्त्रीको चर्चामा राजेन्द्र पाण्डे हुनुहुन्थ्यो । तर प्रतिस्पर्धा भने अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलबीच भयो । एमाले तथा अन्य राजनीतिक पार्टीका नेताहरुले पनि अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने बताउँदै आएका थिए । तर डोरमणिलाई जिताउन पार्टी अध्यक्ष केपी शर्मा ओलीको पहिलेदेखिकै रणनीति थियो भन्ने पुष्टि भएको छ । 

संसदीय दलको नेतामा देखाउने एउटा र बनाउने अर्कैलाई अर्थात् आफू निकटको सबैभन्दा नजिकका नेता पौडेललाई बनाइएको छ । १० दिन अगाडिदेखि नै यो रणनीति अनुसार ओलीले भनेपछि पौडेल यही तरिकाका साथ शालीन ढंगले आफू मुख्यमन्त्रीको लाइनमा छु भन्दै आउनुभएको थियो । तर धेरै संचार माध्यमले उहाँलाई सभामुखको लाइनमा प्रस्तुत गरेका थिए । 

मुख्यमन्त्रीका आकांक्षी पाण्डे र शाक्यले एकले अर्कोलाई निकै आलोचना गरे । तर ओलीले दुई जनालाई जुधाइरहने र आफ्नो नजिककका पुराना नेतालाई आफू प्रधानमन्त्री हुने प्रदेशको मुख्यमन्त्री बनाउने चाल पहिले नै चालेको बताइन्छ । 

ओली पक्ष यस प्रदेशमा निकै बलियो भएपछि सहमति गराएर अगाडि बढाउनुको सट्टा चुनाव गराउन लागि परेका थिए । नेता पौडेललाई पहिले नै प्रस्तुत गरेको भए केन्द्रीय स्तरका नेताहरु छाडेर जिल्ला स्तरका नेताहरु मुख्यमन्त्री बनाउने भनेर पार्टीमा आलोचना पनि धेरै हुन्थ्यो । त्यही कारण ओलीले चुनावमा जे हुन्छ त्यही हुन्छ भन्दै आइरहेका थिए । अझै पनि यस प्रदेशमा एमालेकै भागमा परेको सभामुख पनि ओली पक्षले आफ्नै पक्षका नेतालाई पार्ने निश्चित छ । 

यसरी उदाए डोरमणि

दुईपटक हेटाै‌डा उपमहानगरपालिकाको मेयर बन्नुभएका पौडेल प्रदेशसभा चुनावमा मकवानपुर १ को ख मा विजयी हुनुभयो । २०४९ सालदेखि २०५४ सालसम्म पहिलो पटक र २०५४ सालदेखि ५९ सालसम्म दुईपटक मेयर बन्नुभएको थियो । त्यतिबेलादेखि नै पहिलो नम्बरमा रहेर गरेका कामहरु हेटौंडामा अरुका लागि उदाहरणीय बनेका छन् । दुईपटक पौडेल मेयर बन्दा उपमेयर भने हालको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हुनुहुन्थ्यो ।

दुवै जनाको सहकार्यबाट नयाँ कामको सुरुवात पनि भएका थिए । अहिले प्रदेशको राजधानी हेटाैंडा बन्नु, त्यति बेलाको उपमेयर अहिले मेयर हुनु, पहिलेका मेयर यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि बाटो खुल्नु जस्ता कुराले पनि मकवानपुर रोचक बनेको छ । 

मकवानपुरले एक जना काम गर्ने नेतालाई मुख्यमन्त्रीका रुपमा पाउन लागेकोमा खुशी व्यक्त गर्दै मेयर महत भन्नुहुन्छ, ‘त्यति बेलादेखि हामी नजिकका साथी अब पनि राजधानी हेटौंडामा सहकार्य गरेर काम गर्नका लागि झनै सजिलो भएको छ ।’ मेयर बन्दा उहाँकै पालाबाट हेटाैंडा बजारलाई ग्रीन सिटीका रुपमा विकास गर्न सुरु गरिएको हो । हेटौंडाका मुख्य सडकको दायाँ बायाँ अहिले पनि रुखै रुखले हरियाली भएको छ । पौडेलको दुई पटकको योगदानले हेटौंडा सुन्दर, सफा र हरियाली शहरको रुपमा पनि घोषणा भएको छ । त्यति मात्रै होइन, हेटौंडाको सिको गर्दै इटहरी र बुटवल पनि हरित शहरको रुपमा नै विकास भएको छ । 

हेटाैंडाको विकास भनेपछि मरिमेट्ने स्वभावका पौडेलकै सुरुवातमा २०५१ सालमा स्थापना भएको हेटौंडाको सहिद स्मारकमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै भिडसमेत लाग्ने गरेको छ । त्यसैगरी सामुदायिक क्याम्पसको सभापति भएर पनि काम गर्नुभएको थियो ।  जहाँ काम गर्‍यो त्यहीँ महत्वपूर्ण काम गरेर अगाडि बढ्नु भएका पौडेललाई झनै नयाँ काम गर्नेगरी मुख्यमन्त्रीको लागि बाटो खुलेको छ । 

दुईपटक हेटौंडाको मेयर बन्न सक्नुभएका डोरमणि पौडेल स्थानीय तह पुनःसरचना आयोगका सदस्य भएर समेत काम गर्नुभएको छ । त्यतिबेला सक्रियताका साथ काम गर्दा अहिलेको स्थानीय तह यो स्थानसम्म आएको छ । स्थानीय सरकारलाई नै बलियो बनाउनुपर्छ भनेर पटक–पटक भन्दै आउनु भएका पौडेलले प्रदेश सरकारको मुख्य मन्त्री बनेर नयाँ तरिकाले काम गराउन अवसर पाउनु हुने भएको छ ।

स्थानीय समुदायलाई नै सक्रिय गराएर विकास गर्न सकिन्छ भन्ने उद्देश्य बोक्नु भएका पौडेलले हेटौंडा उप महानगरपालिकामा मेयर बन्दा ६० प्रतिशत उप महानगरपालिकाले सहयोग गर्ने र ४० प्रतिशत बजेट जन समुदाय आफैँले हालेर सडक पिच गर्ने कामको हेटौंडाबाट सुरुवात गर्नुभएको थियो । उहाँको पत्रिका पसल पनि थियो । राजनीतिक किताब र पत्रपत्रिका पढ्न उहाँको किताब पसलमा घुइँचो लाग्ने गर्दथ्यो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया