MENU

राजनीति

ujyaalo forign call inside

शेरधन राईको राजनीतिक फड्को : कान्छो सांसददेखि मुख्यमन्त्रीको बाटोसम्म

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, माघ २६ – एमालेका युवा नेता शेरधन राई प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । शुक्रबार भएको एमाले संसदीय दलको चुनावमा प्रतिस्पर्धी भीम आचार्यलाई पछि पार्दै विजयी भएपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

पहिलेदेखि नै चर्चित नेता राई मुख्यमन्त्रीको बाटोमा अघि बढेपछि चर्चा फेरि बढेको छ । 

को हुन् शेरधन राई ?

उहाँको जन्म पूर्वी पहाडी जिल्ला भोजपुरको थिदिङ्खामा वि.सं. २०३१ सालमा भएको हो । समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका राईले प्रदेशसभा संसद भन्दा अघि २ पटक भोजपुर २ बाट सांसदमा निर्वाचित भईसक्नु भएको छ । वि.सं.२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सह–संयोजक हुनुहुन्छ । 

 

२०४४ सालदेखि अनेरास्ववियुमार्फत क्रियाशील भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका राई २०५० देखि २०५४ सालसम्म अनेरास्ववियुको पूर्वाञ्चल प्रमुख बन्नुभयो । 

उहाँ २०४९ नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य हुनुभयो । ०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य  हुँदै उहाँ २०५४ मा जिल्ला कमिटीको उपसचिव बन्नुभयो । २०५४ मा पार्टी विभाजन भएपछि सचिवको जिम्मेवारी सम्हालेका उहाँ चार कार्यकाल एमालेको जिल्ला अध्यक्ष हुनुभयो । 

उहाँ वि.सं.२०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित हुनुभयो ।  २०७१ मा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ सह– इन्चार्जको रुपमा कार्यरत हुनुहुन्छ । 

संसदीय यात्रा

वि.सं.२०५६ सालको आम चुनावमा भोजपुर क्षेत्र नं २ बाट कान्छो सांसदको रुपमा विजयी भएका राई ०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट पुनस्र्थापित प्रतिनिधिसभा व्यवस्थापिका संसदको सदस्य हुँदै ०६४ सालको संविधानसभाको चुनावमा भोजपुर क्षेत्र नं २ मा पराजित हुनुभयो । 

२०७० मंसिर ४ मा सम्पन्न दोश्रो संविधान सभाको चुनावमा भोजपुर क्षेत्र नं २ वाट विजयी हुँदै २०७१ सालमा संसदको सुशासन तथा अनुगमन समितिको सभापति, २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार मन्त्री एवं सरकारको प्रवक्ता हुनुभयो । 

२०७४ सालको प्रदेशसभा चुनावमा भोजपुर २ बाट २० हजार ३ सय ३४ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।  संंसदीय दलको नेता भएसँगै अब राई १ नम्बर प्रदेशको मुख्यमन्त्री हुने निश्चित छ । भोजपुरबाट निर्वाचित भएका राईले  संंसदीय दलको नेतामा चयन भएसँगै पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले फागुनको २ गतेभित्र सरकार गठन भईसक्ने जानकारी दिनुभएको छ । 

लगन पनि जुर्ने भो !

४० वर्ष उमेर पार भैसके पनि नेता राई अविवाहित हुनुहुन्छ । राजनीतिमा लाग्दालाग्दै उहाँले बिहे गर्ने फुर्सद पाउनुभएन । अब भने उहाँ विवाह गर्ने तयारीमा हुनुहुन्छ । विराटनगरमा केही महिनाअघि मात्र भएको एउटा पत्रकार सम्मेलनमा राईले मुख्यमन्त्री भएपछि विवाह गर्ने बताउनुभएको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया