MENU

समाज

ujyaalo forign call inside

तीन वर्षदेखि श्रीमान बेपत्ता, परिवारले लगाए हत्याको आरोप

संगीता कर्ण/धनुषा ।

फागुन १ – धनुषा महेन्द्रनगरकी निर्मला ठाकुरलाई सासुससुराले श्रीमानको हत्या गरिस् भनेर आरोप लागाउन थालेको ३ वर्ष भयो । पहिले सासुससुराले मात्र आरोप लगाउँथे । अहिले घरका अरु सदस्यले पनि यसै भनेर मानसिक तनाव थप्ने गरेका छन् ।

श्रीमानको हत्या गरेको आरोप पखाल्न निर्मलासँग न कुनै प्रमाण छ, न परिवार उहाँको भनाइमा सहमत छन् । श्रीमान् बेपत्ता हुँदा उहाँ आफैंलाई पनि ठूलो चिन्ता छ । त्यसमाथि घरपरिवारले आरोप लगाउँदा चिन्तामाथि चिन्ता थपिएको छ ।

तीन वर्षअघि विदेशबाट फर्किएको भोलिपल्ट काठमाडौंबाट बेपत्ता भएका श्रीमान् अनिलकुमार ठाकुरको अवस्था अझै थाहा हुन सकेको छैन । गेष्ट हाउसमा बसेको बेला पिसाव फेर्न जान्छु भनेर कोठाबाट निस्केका ठाकुर त्यसपछि सम्पर्कमा हुनुहुन्न ।

२०७१ सालमा रोजगारीका लागि अनिल मलेसिया गएका थिए । विदेश हिँड्ने दिनसम्म पनि निर्मला र अनिलबीचमा नराम्रो सम्बन्ध थिएन । श्रीमान् मलेसिया जाँदा निर्मलासँग १० महिनाको छोरा थिए । सँगै उहाँ गर्भवती पनि हुनुहुन्थ्यो ।

 ‘विदेश जान पाए छोरालाई राम्रो स्कुलमा पढाउन हुन्थ्यो भन्नुभयो । पहिले पनि विदेश गएकाले मैले पनि नजाउ भनिन’ निर्मलालाई कस्तो दिनमा श्रीमानलाई बिदाइ गरेछु भनेर अहिले पनि पछुतो लाग्छ । 

घर सल्लाहमै कमाउनका लागि बिदा मागेर हिँडेका अनिलकुमारले भनेकै काम पाउनुभएको थियो । एक महिनासम्म अनिलले कारपेन्टरको काम पनि गर्नुभयो । तर एक महिना पछि उहाँको व्यवहारमा परिवर्तन आयो । बिरामी परेका अनिललाई अस्पतालले मानसिक सन्तुलन बिग्रिएको बतायो ।

सग्लो ज्यान लिएर विदेश हिँडेका श्रीमानको स्वास्थ्य अवस्थाको खबर सुन्दा निर्मला अत्तिनुभयो । त्यसमाथि मानसिक सन्तुलन गुमाएको खबरले उहाँलाई बज्रपात पर्‍योे । दुई महिनासम्म अनिल अस्पतालमा बस्नुभयो । तर स्वाथ्यमा खासै सुधार नआएपछि नेपाल फर्काइयो ।

बिरामी श्रीमान् फर्किने भएपछि निर्मलाको एउटा चिन्ता सकिएको थियो । ‘अर्काको देशमा बिरामी हुँदा आधा मासु भएको थियो । फर्किएपछि त आफैं हेरविचार गरौंला भन्ने थियो,’ निर्मला सुनाउनुहुन्छ । 

बिरामी अनिललाई धनुषाबाट काठमाडौं लिन जाने कोही भएनन् । ‘गर्भवती मानिस लामो यात्रा गर्न हुन्न भन्थ्ये, कोही लिन आउने नभएपछि म आफैं आएँ,’ निर्मलाले भन्नुभयो । एक छोरोसहित निर्मला श्रीमान् लिन आफैं काठमाडौं पुग्नुभएको थियो । 

२०७१ माघ १० गते साँझ पर्नै लाग्दा अनिल त्रिभुवन विमानस्थलमा ओर्लिनुभयो । विमानस्थलमै पुगेकी निर्मलालाई कमाएर ठूलो झोला लतार्दै नफर्किएपनि मुस्कुराउँदै आएका श्रीमानलाई देख्दा खुसी लाग्यो । 

पराइ देशबाट उडेर आएका श्रीमान् त्यसमाथि बिरामी । आउने बित्तिकै गुडाउँदै धनुषा ल्याउन मन लागेन निर्मलालाई । भोलिपल्टको टिकट काट्नुभयो । त्यो रात काठमाडौंको पशुपती भिजन गेष्ट हाउसमा बस्नुभयो । 

२०७१ माघ ११ गते झिस्मिसे उज्यालो हुँदै थियो । ‘म पिसाव फेरेर आउछु तिमी तयारी गर्दै गर है भनेर बुढो बाहिर जानुभयो । म त आउलान् नि भनेर कुरिरहेँ । घण्टा बित्यो, दिन बित्यो, वर्ष बित्यो तर अहिलेसम्म पनि फर्किएनन्,’ निर्मलालाई अहिलेपनि यि सबै कुरा सपना भन्दा फरक लाग्दैन ।

अनिलको मलेसिया पुगेको एक महिनामै मानसिक सन्तुलन गुमेको थियो । मानसिक सन्तुलन बिग्रेकै कारण दुई महिना अस्पतालमा बसेर फर्किएका अनिल काठमाडौंमै हराउनुभयो । निर्मलाले बिहानभरी श्रीमान् कुर्नभयो ।

तर नफर्किएपछि सोधिखोजी गर्न थाल्नुभयो । ‘चौक चौकमा खोजे, मन्दिरमा खोजे, नभेटेपछि प्रहरीमा निवेदन दिएँ,’ निर्मलाले अनिलको खोजीका लागि गौशाला प्रहरी चौकी र हनुमान ढोकामा पनि निवेदन दिनुभयो । 

अनिल हराएको सूचना विभिन्न सञ्चार माध्यममा छापियो । अहिले त तीन वर्ष पनि बित्न लागिसक्यो तर  अनिलकुमार भेटिनु भएको छैन । उज्यालो हुनै लाग्दा पिसाव फेर्न निस्किएका श्रीमान् नफर्किएपछि निर्मलाको जीवनमा कहिल्यै घाम लागेन । 

केही दिन काठमाडौंमै बसेर श्रीमानको सोधिखोजी गर्नुभयो । तर नभेटिएपछि निर्मला रित्तोहात घर फर्कनुभयो । निर्मलाका लागि श्रीमान् मात्रै हराएका थिएनन् । श्रीमानसँगै निर्मलाका सपना हराएका थिए । जीवनको गोरेटो हराएको थियो । एक वर्षे नावालक छोराको बुवाको माया र साथ हराएको थियो । 

निर्मलाको जीवन हराएको कसैले देखेनन् । ‘घर जाँदा त सबैले हाम्रो छोरा मारेर आइस् भन्दै हत्याको आरोप लगाए,’ निर्मलाका आँखा आसुले टम्म भरिए । निहुरिएर धेरैबेरसम्म रुनुभयो । 

‘होटलमा मारेर फर्किस्, अहिले हराएको बहाना गर्छे भन्छन्, मेरो संसार म आफैंले कसरी मार्न सक्छु र ?,’ निर्मला आफैंसँग प्रश्न गर्नुहुन्छ । श्रीमान् बेपत्ता भएपछि निर्मलाले परिवारको साथ पाउनुभएन् । ‘घरमा खानबस्न दिएनन्, कुपिट गर्ने, अनेक कुरा गर्ने, त्यति मात्र हैन मलाई त दुव्र्यवहार पनि भयो । मैले घर छाडे,’ निर्मला परिवारले गरेका व्यवहार सुनाउनुहुन्छ । 

‘घरमा सबैले कुट्पिट गरेर मेरो बच्चा पनि पेटमै मर्‍यो, अपरेशन गरेर निकालेको,’ परिवारका सदस्यले कुटेरै गर्भको बच्चा पनि तुहिएपछि निर्मलाले घर छाड्नुभयो ।

निर्मला विरुद्ध परिवारका सदस्यले श्रीमानको अपहरण गरेर हत्या गरिन भन्ने आरोप लगाएर जनकपुर प्रहरी चौकीमा उजुरी पनि दर्ता गराए । तर त्यसको कुनै छानविन भएन । 

 निर्मला अहिले जनकपुरमा कोठा लिएर बसिरहनुभएको छ । परिवारको सदस्यले आफ्नै श्रीमानको हत्याको आरोप लगाएपनि निर्मलालाई श्रीमान् फर्किएलान् र परिवारको मुख बन्द होला जस्तो लाग्छ ।

‘मेरो मनले त बुढो फर्कन्छ मात्र भन्छ,’ निर्मलालाई श्रीमान् भेटिन्छन् भन्ने आश मात्र हैन विश्वास पछि छ । ‘मेरो श्रीमान् जुन अवस्थामा भएपनि घर फर्किएदिए, परिवारको अगाडि उभ्याएर ममाथि लागेको कलंक मेटाउने थिएँ,’ निर्मलालाई श्रीमान् हराउनुको पीडा त छँदैछ त्यसमाथि हत्याको आरोप किलो बनेर मनमा गढेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया