MENU

राजनीति

Ncell Axiata

नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु

 

सुर्खेत, फागुन १ – प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु भएको छ । यो प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट कालीकोटका प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही यसअघि नै संसदीय दलको नेतामा चयन हुनुभएको छ । 

नेता शाहीको नेतृत्वमा यो प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने प्रावधानअनुसार सांसद शाही आन्तरिक गृहकार्यमा जुट्नुभएको माओवादी केन्द्र जाजरकोटका सांसद कृष्णा शाहले जानकारी दिनुभयो । 

संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसद्मा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा ९एमाले० र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिनुभयो । 

प्रदेश नं ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका तर्फबाट २० र माओवादी केन्द्रका तर्फबाट १३ जना सदस्य छन् भने एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो । 

एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ । जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा आठ सदस्यीय मन्त्रिमण्डल हुन्छ । प्रदेश नं ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । –रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया