MENU

समाज

Ncell Axiata

नेपालमा एक महिनामै कमाए विरेन्द्रले कतारको ५ वर्षको कमाइ

जुनादेवी खत्री/कास्की ।

फागुन २ – कास्कीका विरेन्द्र भण्डारी भाँडोमा दूध बोकेर घरघरमा पुगेको देख्दा छिमेकीहरु मास्टरले दूध बेच्न थाले छ भन्दै कानेखुसी गर्थे ।

विरेन्द्र चिने जानेकालाई दूध किन्न अनुरोध गर्नुहुन्थ्यो । तर धेरैले पढाउन छाडेर विदेश गएको परिणाम भन्दै टारिदिन्थे । उहाँले धेरै पटक दूध नबिकेर फर्काउनु पर्‍यो ।

सुरुवातका चरणमा मानिसका प्रतिक्रियाले विरेन्द्रलाई आफूले अँगालेको पेशालाई जिस्काए झैं लाग्थ्यो । तर अहिले यहि पेशाले नै विरेन्द्रलाई सफल उद्यमी बनाएको छ । स्कूलको सञ्चालक र शिक्षक तथा कतारको लाहुरे भन्दा गाउँघरकै जाँगरले विरेन्द्रलाई नाम र दाम दुवै दिएको छ । 

पहिले विरेन्द्र गाउँको बोर्डिङ स्कुलको सञ्चालक हुनुहुन्थ्यो । उहाँकी श्रीमती पनि स्कुलमा नै पढाउनुहुन्थ्यो । दम्पतीको एउटै पेशा भएकाले जीवनको रथ गुडाउन गाह्रो थिएन । तर त्यो कामले विरेन्द्रलाई पुगेन । विदेश जानेहरु सुकिलो लुगा लगाएर सुट्केस घिसार्दै फर्कन्थ्ये । उहाँलाई पनि त्यहि मोहले तान्यो ।

पढाएर कमाउने भन्दा दोब्बर कमाउछु भन्ने सपना देखेका विरेन्द्र मनभरी परिवारको मायालाई बोकेर २०६४ सालमा कतार उड्नुभयो । विरेन्द्रलाई स्कुल, छोराछोरी जस्तै विद्यार्थी र आफ्नो पेशाको माया नलागेको हैन । तर ठूलो जहाजले लैजाने ठाउँमा धुलो उडाउदै ट्रयाक्टर कुद्ने गाउँको भन्दा निकै बढी कमाइ होला भन्ने लाग्यो ।


‘वर्षभरी पढायो रुपैयाँ हातमा हुँदैन थियो, तर विदेशमा त महिनामै हातभरी हजारका मुठो पर्छन् जस्तो मात्र मनमा आयो’, विदेश उड्दाको कुरा सम्झँदा भक्कानिने विरेन्द्र भन्नुहुन्छ ‘त्यसैले गएको के हुन्थ्यो ?’ 

ठूलो जहाजको पेटबाट कतारमा निस्किदा कतार विशाल थियो । विरेन्द्रका लागि पोखरा बजारभन्दा निकै सुन्दर पनि । विरेन्द्रका आँखाले देख्दा कतार सुन्दर भए पनि उहाँलाई त्यहाँको काम र कमाइचाहिँ त्यस्तो भएन । 

बेसिक चार सय रियाल थियो तलव पनि । ओभर टाइम काम गर्दा १५ सय रियालसम्म हात पार्नु हुन्थ्यो । तर त्यसैबाट खान बस्न पर्ने भएकाले एक हजार रियालमात्रै बचाउनुहुन्थ्यो । ‘काम गर्दाका दुःखको त कुरै नगरौं, पाँचवर्ष बसेँ, फर्कदा जस्ताको तस्तै’, उहाँ भन्नुहुन्छ । कतारबाट फर्कदा विरेन्द्रको साथमा ५० हजार रुपैयाँ मात्रै थियो ।

२०६९ मा घर फर्कदा धेरै कुरा परिवर्तन भैसकेका थिए । पहिलेकै शिक्षण पेशा अगाडि बढाउने अवस्था पनि थिएन । ‘पाँचवर्ष यसै खेर फालेछु भनेर पछुतो लाग्यो के गर्नु गएको समय फर्काउने अवस्था थिएन,’ कतारबाट फर्कने बित्तिकै त विरेन्द्र अलमलमा पर्नुभयो । 

विदेशका दुःख र साथमा भएको ५० हजार रुपैयाँले उहाँलाई गाई किन्ने आँट आयो । १५ हजार रुपैयाँमा एउटा गाई किन्नुभयो अनि २५ हजार रुपैयाँको मोटरसाइकल ।

‘गाईले ७/८ लिटर दूध दिन्थ्यो, दूध लिएर पोखर बजारमा घरघरमा पुग्थे’, विरेन्द्र गाई पालन सुरु गर्दाका दिन सम्झनुहुन्छ, ‘त्यो पनि बिक्रि नभएर फर्काएर ल्याउथे ।’ तर समय सधैँ एउटै हुँदैन । विरेन्द्रले दूध किन्ने ग्राहक खोज्न पोखरा बजारका प्रत्येक घर चर्हानुभयो । विस्तारै ग्राहक बढे, अनि व्यापार पनि बढ्यो । 

चार पाँच लिटर दूध पनि बिक्रि नभएर फर्काएर ल्याउनुपर्ने बाध्यता हट्यो । बजारमा विरेन्द्रलाई दूधको माग धान्नै धौ धौ पर्न थाल्यो । विरेन्द्रले दूध राम्रो बिक्रि हुन थालेपछि ६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती पनि शुरु गर्नुभयो । बारीमा तरकारी पनि मौलाउदै गयो ।

अहिले विरेन्द्रको गोठमा २२ वटा गाई र ११ वटा भैँसी छन् । उहाँले १८ रोपनी जग्गा भाडामा लिएर पशुपालन र तरकारी खेती गरिरहनु भएको छ । विरेन्द्रले दैनिक १ सय ५० लिटर दूध बेच्नुहुन्छ । त्यसमाथि तरकारीको बिक्री त छँदैछ । 

‘सबै खर्च कटाएर महिनाको ५० हजार रुपैयाँ त कतै जाँदैन, मलाई त भ्याइनभ्याइ छ, अहिले त श्रीमतीले पनि पढाउन छाडेर मलाई नै सघाइरहेकी छिन्,’ विरेन्द्र हाँस्दै भन्नुहुन्छ, ‘ठूलो भाग खान विदेश गएको थिएँ, त्यो त भएन तर विदेशको दुःख र हण्डरले मलाई गाउँघरमै गरिखाने बनायो ।’ 

आफूलाई विदेशमा पाएको दुख र हण्डर अनि नेपाल फर्केर गरेको काम र प्रगति सुनाउँदै आफूलाई चिनाउदा गर्व लाग्ने उहाँ बताउनुहुन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया