MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारी सर्वसम्मत

कास्की, फागुन २ – प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध हुनुभएको छ । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो । 

अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमालेका सांसद किरण गुरुङ रहनुभएको छ । कांग्रेसले जित हासिल नगर्ने भएकाले सभामुखमा मनोनयन दर्ता नगराएको सांसद कृष्णचन्द्र नेपालीले जानकारी दिनुभयो । 

प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई दिने गरी भागबन्डा गरिएको थियो । माओवादीको संसदीय बैठकले अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको हो । 

विहीबार नै प्रक्रिया अनुसार सभामुखले उप–सभामुखको चुनावको मिति घोषणा गर्नुहुनेछ । सभामुख र उप–सभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । माओवादीले पुरुष सभामुख बनाएपछि अब उप–सभामुखमा एमालेबाट महिलाले अवसर पाउने छन् । उप–सभामुखका लागि एमालेबाट सिर्जना शर्माको नाम चर्चामा छ । त्यस्तै मित्रकुमारी गुरुङ्ग सुवेदी, नरमाया गुरुङलगायतले पनि आकांक्षा देखाएको बताइएको छ ।

यसैबीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुखको सपथ शुक्रबार सँगै हुने प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । मुख्यमन्त्री चयन भएसँगै प्रदेश ४ मा मन्त्री बन्न एमाले र माओवादी केन्द्रका सांसदबीच दौडधुप चलेको छ । यहाँ एमाले माओवादीबीच ७० र ३० प्रतिशतको भागबन्डा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित ५ मन्त्रालय एमालेलाई र सभामुख सहित २ मन्त्रालय गरी एमाले माओवादीबीच भागबन्डा भएको हो । 

मन्त्रीका लागि टिकट लिन एमालेबाट विकास लम्साल, कृष्ण थापा, इन्द्रलाल सापकोटा, राजिव पहारीलगायत आन्तरिक कसरतमा छन् भने माओवादीले पाउने २ मन्त्रीमा हरिबहादुर चुमान, दीपक कोइराला, रामजी बराल, दीपक घर्तिमगरले दौडधुपमा रहेको बुझिएको छ । 

प्रदेशसभामा एमालेका २७ सांसद छन् भने माओवादीका १२ सांसद छन् । कांग्रेसको १५, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जना प्रदेशसभा सदस्य छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया