MENU

राजनीति

Ncell Axiata

चुनावको अन्तिम परिणाम आज राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौं, फागुन २ – निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकको अन्तिम नतिजा आजै राष्ट्रपतिलाई बुझाउने भएको छ । 

कांग्रेस, माओवादी र राजपाले सूची सच्याएर आयोगमा बुझाईसकेकाले समानुपातिकको अन्तिम नतिजा आजै सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाउने आयोगका प्रवक्ता नवराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको नेतृत्वमा बेलुका पौने ८ बजे परिणाम राष्ट्रपति लाई बुझाइने पनि उहाँले जानकारी दिनुभयो ।

आयोगले प्रदेश र प्रतिनिधिसभा चुनाव सकिएको ७० दिनपछि प्रतिनिधिसभातर्फको सम्पुर्ण परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो । आयोगले राष्ट्रपतिलाई चुनावी परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको औपचारिक बाटो खुल्ला हुनेछ । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेको थिएन ।

समानुपातिकतर्फको १ सय १० सिटमा दलले प्राप्त गरेको सिट संख्याका आधारमा क्लस्टर नमिलेपछि कांग्रेस, माओवादी र राजपालाई २ दिनको समय–सीमा दिँदै पुन सच्याउन पत्राचार गरेको थियो । समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले ६–६ सिट प्राप्त गरेका थिए । सूची सच्याउन आयोगले २ दिन अर्थात आजसम्मको समय दिएको थियो ।

कांग्रेसबाट रामबहादुर विष्ट र रंगमती शाही थपिए

यसैबीच नेपाली कांग्रेसले खस आर्यको कोटाका व्यक्तिलाई हटाएर पिछडिएको क्षेत्रका रामबहादुर बिष्ट र रंगमती शाहीलाई सांसद बनाएको छ । निर्वाचन आयोगले पिछडिएको क्षेत्रका व्यक्तिलाई सांसद बनाउन भनेपछि सोही अनुसार विष्ट र शाहीलाई समानुपातिकमा सिफारिस गरिएको  कांग्रेस पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । यसअघि कांग्रेसले उनीहरुको ठाउँमा खस आर्यकोटाबाट मोहनप्रसाद पाण्डे र दीपशिखा शर्मालाई सिफारिस गरिएको थियो । 

माओवादीको हितराजको सट्टा चुडामणि

यस्तै माओवादी केन्द्रले हितराज पाण्डेलाई हटाएर चुडामणि खड्कालाई समानुपातिक सांसद बनाएको छ । खस आर्य कोटाका पाण्डेलाई हटाएर सशस्त्र द्धन्द्धको क्रममा घाइते भएका खड्कालाई अपांगता कोटाबाट सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । दुबै दलले आजै निर्वाचन आयोगलाई सच्याइएको नामावली बुझाएका छन् । 

राजपाले हिजो नै सच्याइएको नामावली बुझाएको थियो । तीन वटै दलले नामावली सच्याएर बुझाएकाले आजै रातीसम्म समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।    

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया