MENU

बातावरण-कृषि

ujyaalo forign call inside

गाउँका धुलाम्मे सडकले फैलियो प्रदुषण

प्रकाश धौलाकोटी/उज्यालो

तेह्रथुम, फागुन ७ – गाउँ भन्नासाथ धेरैलाई लाग्न सक्छ, त्यहाँ स्वच्छ, सफा र कञ्चन हावापानी पाइन्छ ।

यदाकदा यस्तो सोच छ भने अब हटाए हुन्छ, गाउँ पनि धुँवा धुलोको प्रदुषणबाट अछुतो छैन । निर्माणाधिन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदुषित बन्दै गएको छ । निर्माण हुँदै गरेका र ट्रयाक ओपन मात्रै भएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलोले प्रदुषण फैलिएको छ ।

धुलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हुँदा आवत जावतका लागि सजिलो भए पनि सडकको धुलोले नागरिकको स्वास्थ्यमा असर गरिरहेको छ । सडकको धुलो अहिले सडक आसपासका रुख, विरुवा, बाली, घर, बजार र पानीका मुहानसम्म पनि पुगेको छ ।

जिल्लामा गएको असोजपछि वर्षा भएको छैन । वर्षा नभएपछि सडकमा धुलोको मात्रा उच्च छ । सडक निर्माणसँगै गाउँका गोरेटा बाटो मासिएका छन्, त्यसैले हाटबजार गर्ने गाउँले, विद्यार्थी र स्थानीयबासी आवत्जावत् गर्दा सडकबाटै पैदल हिड्छन् । तर सडकमा धुलोका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ । 

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै ४३ वटै वडामा सडक पुगेको छ । निर्माणाधिन ती सडक सबै धुलाम्मे छन् । सवारी नै नगुड्ने सडकबाहेक दैनिक सवारी सञ्चालन भइरहेका म्याङलुङ्ग–बसन्तपुर, सिधुवा–शुक्रबारे, जिरिखिम्ती–मोराहाङ, म्याङलुङ्ग–सक्रान्ति, म्याङलुङ्ग–तमोर सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको पुरै शरीर धुलाम्मे हुने गरेको छ ।

यीमध्ये मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–सक्रान्ति–माझीटार सडक खण्डमा सबैभन्दा धेरै धुलो रहेको छ । सडक निर्माणका क्रममा ठूला सवारी साधन निरन्तर ओहोर दोहोर गरिरहँदा सडक धुलाम्मे बनेको हो ।

ती सडकमा यात्रा गर्दा धुलोले यात्रु र चालकलाई पनि धुलाम्मे बनाउने गरेको छ । ‘सडक आउँदा के–के न होला लागेको थियो, अहिले धुलोले घरै पुर्न लाग्या छ, घरमा कसैलाई सन्चो छैन,’ म्याङलुङ्ग नगरपालिका–९, साब्लाका इन्द्रबहादुर बुढाथोकीले भन्नुभयो । चार वर्षदेखि निर्माण भइरहेको मध्यपहाडी लोकमार्गले नाफा भन्दा बढी घाटा गरेको उहाँको बुझाई छ ।

‘गाडी चढेर त वर्षमा एक–दुई पटक गइन्छ, त्यति चाँहि फाइदा छ,’ उहाँ भन्नुहुन्छ, ‘बाँकी अरु सबै घाटामात्रै छन् ।’ मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–सक्रान्ति–माझीटार खण्डका सडक छेउका बस्तीमा धुलोका कारण प्रदुषण फैलिएको आठराई गाउँपालिका–४, इवाका डम्बर गुरुङले बताउनुभयो । ‘बाटो त बन्यो, फाइदा पनि छ,’ उहाँ भन्नुहुन्छ, ‘तर हिउँदको यो धुलोले गाउँमा धेरैलाई बिरामी बनाएको छ, तरकारी फलफूल केही बनाएर खान नदिने भयो ।’

धुलोका कारण सुन्तला, नाष्पाती, मेल, सडक छेउको अलैँचीलगायत बाली नाली मर्न थालेको उहाँले बताउनुभयो । ‘फूल लाग्न लागेका फलफूलमा आएर धुलो टाँसिएको छ’, गुरुङले भन्नुभयो, ‘डाँठ, हाँगा कतै पनि अछुतो छैन, अनि त बोटै मार्ने रहेछ ।’ धुलोले विद्यालय जाने बालबालिकालाई पनि असर गरेको छ । गोरेटो बाटो मासिएपछि सडकबाटै हिँडेर जाने बालबालिका धुलोका कारण बिरामी भएका छन् । 

धुलोले लुगा, कापी किताब केही पनि बाँकी नराख्ने म्याङलुङ्ग नगरपालिका–९, साब्लाको नारायण माविका छात्र शम्शेर तामाङले बताउनुभयो । ‘घरबाट नुहाएर हिड्यो, स्कुल पुग्दा धुलै–धुलो हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘सडकमा हिँड्दा मास्क नलगाई हिँडे दुई दिनमा थला परिन्छ ।’ स्कुलका धेरै जना विद्यार्थीहरु रुघा खोकी जस्ता समस्याबाट ग्रसित भएको त्यस विद्यालयका शिक्षक शरणकुमार रिजालले बताउनुभयो ।

धुलोको प्रदुषणका कारण स्वास्थ्यमा धेरै खराबी आएको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ स्थित स्वास्थ्य चौकीका इन्चार्ज धनराज राईले बताउनुभयो ।
‘धुलोले गाउँमा रुघाखोकीका बिरामी बढेका छन्’, राईले भन्नुभयो, ‘पानी, हावा र विभिन्न खानेकुराको माध्यमबाट धुलाले मानव स्वास्थ्यमा असर गरिरहेको छ ।’

मध्यपहाडी लोकमार्गले मात्रै जिल्लाको पूर्वी आठराई गाउँपालिकाबाट फेदाप हुँदै म्याङलुङ्ग नगरपालिकाका करिश दश वटा वडाहरुलाई प्रत्यक्ष रुपमा प्रभावित पारेको छ । लोकमार्गका अधिकांश खण्डमा निर्माणको काम भइरहेकाले बढी धुलो उठेको हो । धुलोले वातावरण पुरै प्रदुषित भए पनि धुलो नियन्त्रणका लागि कसैले पहल गरेका छैनन् ।

निर्माणाधीन बसन्तपुर–गुफाबजार खण्ड भएर पनि अहिले दैनिक सवारी गुडिरहेका छन् । त्यस सडक पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्र प्रवेश गर्ने भएकाले पनि यहाँ सवारी चाप बढी छ । सडकमा सवारी गुड्दा उठ्ने धुलोले आसपासका गुराँस नफुल्ने भएका छन् ।

‘सडकमा सवारी गुड्दा उठेको धुलो गुराँसको कोपिलामा टाँसिएको छ, अब यसपालि सडक आसपास कम मात्रै गुराँस फुल्ने निश्चित छ,’ टुटे देउरालीका छिरिङ लामाले भन्नुभयोे । सडकले आवत् जावत् गर्ने पर्यटकहरुलाई सहज बनाएपनि धुलोका कारण यहाँको प्रमुख आकर्षण गुराँस नै मासिने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो ।

धुलोका कारण तत्काल मानव स्वास्थ्यमा असर गरेर विभिन्न रोग लाग्ने गरे पनि सम्भावित दीर्घ रोगहरुबारे गाउँका सर्वसाधारण सचेत छैनन् । रुघाखोकीलाई सामान्य मानेर वास्ता नगर्नेहरुको स्वास्थ्यमा दिर्घकालिन रुपमा धुलोले नराम्रो असर गर्न सक्छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा धुलोबाट प्रभावित भएर बिरामीको संख्या वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयका डा.मुक्तिनारायण शाहले बताउनुभयो ।

‘धुलोबाट हुने इन्फेक्सन धेरै देखिएको छ, त्यस्ता बिरामी धेरै आइरहेको डेटा हामीलाई आइरहेको छ,’ उहाँले भन्नुभयो । धुलोले तत्काल गर्ने असरबाहेक धुलोका कणहरुबाट क्यान्सर, हृदयाघात र मस्तिष्कघात जस्ता खतराहरु हुने डा. शाहले बताउनुभयो ।

‘त्यस्ता धुलोका कणहरु श्वासप्रश्वासमार्फत सिधै फोक्सोमा पुग्छन्, डाक्टर शाहले भन्नुभयो, ‘ धुलोका काणहरु फोक्सो हुँदै रगतमा प्रवेश गर्छन्, र रक्तसन्चार प्रणालीमार्फत मुटुमा पुगेर जम्मा हुन्छन्  र मष्तिष्कघात गराउँछन् ।’ उहाँले धुलोबाट बच्न अनिवार्य मास्क लगाएर हिँड्न सुझाब दिनुभएको छ । 

धुलोको प्रदुषणका कारण जिल्लामा मुटुरोगी र मस्तिष्कघातको समस्या वृद्धि हुनसक्ने उहाँको अनुमान छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया