MENU

बातावरण-कृषि

ujyaalo forign call inside

सूर्यविनायक–धुलिखेल सडक ८ लेन बनाइने, काम सुरु भयो

भक्तपुर,  फागुन १० – अरनिको राजमार्ग अन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेनको बन्ने छ । 

सडक ८ लेनको बन्ने भएपछि सडक विभागले बिहीबार भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकावालाले यो सडकको विस्तार छिट्टै सुरु गर्नु पर्ने मागसमेत राखेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्याधिक बढेको र दैनिक जगाती क्षेत्रमा जाम समेत बढेको भन्दै यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन् । 

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएको भन्दै  यसको विस्तार तीव्र गतिमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले सूर्यबिनायक जगाति सडक खण्डमा बढ्दोे सवारी चाँपलाई कम गरी यातायातको सहज संचालनका लागि सडक बिस्तारले निकास दिनेछ, यो सडकको साँघुरो नाका भएको पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजना समेत अगाडि बढेको छ ।’

हाल संचालनमा रहेको कोटेश्वर–सूर्यविनायक ६ लेन सडकमा दुर्घटना बढेको प्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सिसिटिभी, सडक बत्ती, आकाशे पुल र फुटपाथको यथोचित ब्यवस्था गरी दूर्घटना न्यूनिकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्ने उहाँको भनाई थियो । 

बस्नेतले सडकको चोकचोकमा टयाक्सी पार्किङ, मनोहरामा ब्यवस्थित बसपार्क र साँगामा उपत्यका भित्रिने गाडी धुने ब्यवस्था गर्ने बताउदै भन्नुभयो ‘सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा हाललाई ७५ फिट मात्रै बनाउनुपर्छ, सडक बिस्तार गर्दा आगामी दिनमा नजिर नबस्ने गरी पहिलो पटकलाई सडकमा पर्ने सबै घरजग्गाको मुआब्जा दिने व्यवस्था गरिनुपर्छ ।’

कार्यक्रममा सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले  सूर्यविनायक–धुलिखेल ८ लेन सडक विस्तार जापानले गर्ने भएको बताउनुभयो । उहाँका अनुसार यो सडक खण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ, सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको छ ।

जापान सरकारको अनुदान र सडक बिस्तारका लागि जापानले ०.२ प्रतिशत ब्याजमा ऋण सहयोग दिने प्रतिबद्धता जनाएकाले यो सडक खण्ड छिट्टै विस्तार गर्ने तयारी भएको उहाँको भनाइ थियो । सडक विस्तारका क्रममा स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराईने भएको छ ।

प्रमुख श्रेष्ठले भन्नुभयो ‘सडक बिस्तारका क्रममा पलाँसेमा सुरुङ निर्माण गरिने योजना रहेको छ, पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तिहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या देखिँदा  सुरुङमार्गको योजना बनाइएको हो । सडक ८ लेनको भएपनि सुरुङमार्ग  भने चार लेनको हुनेछ ।’

पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई सुरुङ मार्गमा प्रवेश नदिई सडकबाटै पठाईने बताउँदै उहाँले सूर्यविनायक–कोटेश्वर खण्डमा पनि जाम हटाउन सुरुङ्ग मार्ग बनाउन अध्ययन भइरहेको बताउनुभयो । यो सडकबाट चीनसँगको तातोपानी नाका जाने साथै अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिवासलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले छिटो सडक विस्तारमा जोड दिँंदै सबै ठाउँमा बाटोको मापदण्ड एउटै हुनुपर्ने र सडक विभागले कानुन बाहिर नगई नियम अनुसार स्थानीयको माग बमोजिम मुआब्जा दिनु पर्नेमा जोड दिनुभयो । 

भक्तपुर नगरपालिकाका स्थानीय जनप्रतिनिधि उकेश कवाँले सडक विस्तार गर्दा जनताका माग र मारलाई ध्यान दिंँदै दुर्घटना कम हुने तथा धुलो समेत नियन्त्रण गर्ने एवं साइकल लेनसमेत बनाएर सडक विस्तार गर्नुपर्ने औँल्याउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले हाल संचालनमा रहेको ६ लेन सडकबाट पाठ सिकेर अब विस्तार हुने सडकलाई दुर्घटना भइरहने मृत्युमार्ग हुनबाट जोगाउनुपर्ने तथा चोकचोकमा सडक बत्ती एवं आकाशेपुलको यथेष्ट ब्यवस्था गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय पशुपति खत्री, अच्युत खत्री, संजीव खत्री, महेन्द्र गिरी, शिवलाल बालालगायतले सडक विस्तारले आफूहरुको उठीबास लाग्ने बताउँदै उचित क्षतिपूर्ती दिन माग गरेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया