MENU

विचार/अनुभूति

ujyaalo forign call inside

प्रचण्डलाई सजिलै मिल्ला र एकीकृत पार्टीको अध्यक्ष पद !

मिलन तिमिल्सिना/उज्यालो ।

एकसाता अघिसम्म के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर आफ्नो कमाण्डमा एकीकृत पार्टी हाँक्ने पुष्पकमल दाहाल प्रचण्डको योजना थियो । तर त्यो योजना सफल भएन । त्यसपछि मात्रै प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता हुनुुभयो । ओलीलाई परबाट समर्थन गरेर सरकारका टाउकामा तलबार झुण्डाई राख्ने प्रचण्डको चाल स्पष्ट भएपछि एमालेका नेता प्रचण्डलाई सहअध्यक्ष बनाउन सहमत भए । बाध्यताले एमालेलाई गलायो । दवावका भरमा प्रचण्ड एकीकृत पार्टीको सहअध्यक्ष हुनुभयो । निकै लामो रस्साकस्सीपछि नेतृत्वमा ओलीसँग आलोपालो गर्ने सहमति मान्न प्रचण्ड बाध्य हुनुभएको हो ।

एमाले र माओवादी केन्द्रबीच एकताको लागि भएको सातबुँदे सहमतिमा बैठकको अध्यक्षता आलोपालो गर्ने भनेर त लेखिएको छैन । तर ओली र प्रचण्डले पार्टी बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भएको कुरालाई कसैले खण्डन गरेका पनि छैनन् । 

महाधिवेशन नहुँदासम्म ओली र प्रचण्ड दुवै एउटै पार्टी अध्यक्ष हुनेछन् । पद सहअध्यक्ष भएपनि अध्यक्षकै हैसियतमा दुवैले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् । एकीकृत पार्टीको महाधिवेशनले एकजना अध्यक्ष छान्नेछ । संभवतः के.पी. ओली महाधिवेसनमा अध्यक्ष पदमा उठ्ने छैनन्, तर महाधिवेसनमा प्रचण्ड अध्यक्षमा निर्वाचित हुने ग्यारेण्टी अहिले नै गर्नु हतार मात्रै हुनेछ । 

महाधिवेशनपछि एकीकृत पार्टीको पहिलो अध्यक्ष बन्ने अवसर प्रचण्डले पाउने कुरा मूलत उहाँले एमालेका नेता कार्यकर्ताको विश्वास कति जित्न सक्नुहुन्छ तथा महाधिवेशन हुने बेलासम्म प्रचण्डले के कस्तो योग्यता र क्षमता देखाउनु हुुन्छ भन्ने कुराले निर्धारण गर्छ । तत्कालको अवस्था हेर्दा एमाले पंक्तिको विश्वास जित्न प्रचण्डसामु निकै ठूला चुनौती र अप्ठ्यारा छन् ।

प्रचण्डका कमजोरी

दुई दशकभन्दा लामो समयदेखि मसाल, जनमोर्चा र माओवादी पार्टीको नेतृत्व गर्दै आएका प्रचण्डलाई अहिले पनि असक्षम र असफल नेता ठान्दैन । जनयुद्धदेखि संघीयतासम्मको यो यात्रामा उहाँको नेतृत्वदायी र परिवर्तनकारी भूमिका छ र प्रचण्डसित एउटा नेतामा हुनुपर्ने धेरै गुण पनि छन् । 

यति हुँदाहुँदै पनि प्रचण्डका धेरै कमजोरी छन् भनेर माओवादीकै कतिपय नेताहरुले भन्दै आएका छन् । सबैभन्दा ठूलो कमजोरी त उहाँ सधैं अध्यक्ष या सबैभन्दा माथिल्लो पदमा बस्न रुचाउनुहुन्छ । अरुलाई नेतृत्वको लागि पालो मात्र होइन, सम्मानजनक ठाउँ समेत दिन नखोज्ने उहाँको बानी छ । यो बानी प्रवृत्ति नै भएपछि उहाँलाई छाडेर मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायतका नेताहरुले अर्कै बाटो लिए । 

पहिलो संविधानसभाको चुनावपछि छँदाखाँदाको सरकार छाडेर ठूलै राजनीतिक जुवा खेलेपछि प्रचण्डप्रति आफ्नै पार्टीका नेता कार्यकर्ताले प्रचण्डप्रतिको अविश्वास देखाउन थाले । उहाँले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सक्नुभएन । चुनावमा भोट दिएका मतदाताको विश्वास जित्न सक्नुभएन । फलस्वरुप पहिलो संविधानसभा चुनावबाट पहिलो दल भएको पार्टी दोस्रो संविधानसभा चुनावमा एकाएक खुम्चिएर तेस्रो भयो । त्यसयता माओवादी पार्टीको शाख र शान बढ्नुको साटो झन्झन् घट्दै गयो । एमालेसित मोर्चा बनाएर चुनावमा नगएको भए प्रचण्डसित अहिले एमालेसित वार्गेनिंग गर्ने हैसियत पनि रहने थिएन । 

प्रचण्डकै कारण माओवादी पार्टी पद्धतिमा हिड्न सकेन । निर्देशनात्मक र आदेशात्मक ढंगले बढी चल्ने प्रचण्डको स्वभाव छ भनेर माओवादीकै नेताहरु आलोचना गर्छन् । मनोगत निर्णय गर्ने वानी, अस्थिर र चञ्चल स्वभावले पनि प्रचण्डप्रति धेरैले प्रचण्डलाई पर्याप्त विश्वास गर्दैनन् । 

विशेषगरी उहाँलाई पार्टीभित्र भिन्न मतको सम्मान गर्न नसक्ने, अस्थिर, बोलीको ठेगान नभएको, जे मा पनि विश्वास गरेर तरंगित भैहाल्ने, बोली र व्यवहार फरक भएको नेताका रुपमा आरोप लाग्ने गरेको छ । यो आरोप लाग्नुका पछाडि उहाँका बानी, ब्यवहार र शैली जिम्मेवार छन् । 

पार्टी र देशलाई महत्वपूर्ण ठाउँमा ल्याउन सफल हुँदाहुँदै पनि नेतृत्वको लागि हुनुपर्ने कतिपय क्षमता नभएकै कारण प्रचण्डमाथि यस्ता आरोप लाग्ने गरेको छ र उहाँप्रति एकखालको अविश्वास छ ।

एमालेका नेता कार्यकर्ता झन् बढी सशंकित

प्रचण्डलाई तत्काल अध्यक्ष मान्न एमालेका नेता कार्यकर्ता तयार नभएकै कारण पार्टी एकतामा ढिलाई भएको हो । प्रचण्डका कमजोरी देखेर सशंकित एमाले नेता कार्यकर्तालाई अर्को डर देखियो, एकतापछि प्रचण्ड पार्टी अध्यक्ष हुने हो भने आफूलाई परेको समस्या सुनाउन जाँदा प्रचण्डले गर्ने ब्यवहार अहिले के.पी. ओली वा माधब नेपाल वा झलनाथ खनालले गर्ने जस्तै हुन्छ त ? भएन भने र प्रचण्डले पेले भने दुखेसो गर्न र भन्न कहाँ जाने ? पार्टीको माथिल्लो पंक्तिदेखि तल्लो तहसम्मका धेरै ठाउँमा एमालेकै संगठन बलियो छ । अध्यक्षको शक्ति देखाएर माओवादीले तल्लो संगठनसम्म नेतृत्व हडप्दै मुख्य ठाउँमा माओवादीका कार्यकर्ता मात्र राख्न थाल्यो भने त्यो बेला कार्यकर्ताको दुख र उजुरी कस्ले सुन्ने ? कस्लाई सुनाउने ?

एकिकरणमा ३० प्रतिशतको हिस्सा बनेको माओवादीले सिंगो पार्टीमा हालीमुहाली गर्न थाल्यो भने आफूहरुको हैसियत र अवस्थाखतरामा पर्ला भन्ने डरएमालेका नेता कार्यकर्तालाई छ । त्यसैले एमालेको ठूलो पंक्तिले प्रचण्डलाई मात्र अध्यक्ष मान्न अस्वीकार गरेकोहो । एमाले नेता कार्यकर्ताको यो आशंका र डर स्वभाविक पनि देखिन्छ । 

एमालेका कार्यकर्ताको मन जित्ने चुनौती

एमाले र माओवादीबीच पार्टी एकता भैसकेको छैन । एकताको लागि सहमतिपत्रमा हस्ताक्षर मात्र भएको छ । अहिले पनि प्रचण्ड आफ्नो पार्टीका धेरैभन्दा धेरै नेतालाई मन्त्री बनाउन एमालेसित एकखालको हठ बोकरै वार्तामा छन् । छिटै पार्टी एकताको घोषणा हुने हो भने यो हठ किन ?

एमाले र माओवादी मिसिएर नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी जुराउन जति सजिलो छ, दुवै पार्टीका नेता र कार्यकर्ताको मन मिल्न त्यति सजिलो छैन । अहिले दुबै पार्टीमा समेत गुट र उपगुट छन् । त्यसमाथि ७० प्रतिशत र ३० प्रतिशतको मिसावटसँगै थप गुट र उपगुटहरु फैलिने छन् । त्यसमाथि ७० र ३० प्रतिशतको पौठेजोरी र हिस्सेदारीले कहिलेसम्म निरन्तरता लिन्छ ?

माओवादीमा ४७ सालपछि आएका नेता कार्यकर्ता धेरै छन् भने एमालेमा प्रचण्ड भन्दा पनि पाका, धेरै योगदान गरेका पुराना नेता कार्यकर्ताको संख्या ठूलो छ । प्रचण्डले उनीहरुको योगदानको मूल्यांकन गर्नेछन् भन्ने आधार के हुन्छ भन्ने निश्चित नभै एमालेको ठूूलो पंक्तिले प्रचण्डलाई सहज हिसावले स्वीकार्न कठिन छ । एमालेका यी पुराना नेता र कार्यकर्ताको मनसमेत जित्नु प्रचण्डको ठूलो चुनौती हो ।

अहिले माओवादीमा भएका नेता, कार्यकर्ता प्रचण्डले जे भन्यो, त्यही मान्नेहरु नै धेरै छन् । अथवा त्यहाँ उहाँको आदेश चल्छ । तर एमाले आदेश कम र पध्दतिमा धेरै चल्दै आएको पार्टी मानिन्छ । त्यसैले प्रचण्डले एकिकृत पार्टीको अध्यक्ष निर्वाचित हुन पहिले आफु पध्दतिमा चल्न र महाधिवेसनमा आउने एमालेका ७० प्रतिशत प्रतिनिधिको मन जित्न नसकी पार्टीको नेतृत्व एक्लै हाँक्ने सपना पूरा हुन सक्ने देखिदैन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया