MENU

साहित्य/ कला

ujyaalo forign call inside

हाँसो र रोदनले भरिएको ‘उड्की मुड्की’

कमल साउद/उज्यालाे । 

काठमाडौं, फागुन १२ – एउटा सामान्य साजसज्जाले चिटिक्क परेको रंगमञ्च । रंगमञ्चमा संगीतको धुनसँगै विभिन्न भूमिकामा सबै बालकलाकार । यस्तै दृश्य थियो काठमाडौंको कुमारीगालमा रहेको मोक्षदा स्कुलको मञ्जरी नाटक घरमा । 

सुरुमा विद्यालय जान विद्यार्थीहरु घरबाट निस्किन्छन् । काठमाडौंको व्यस्त सडक । गाडीको कोलाहल । यसैबीच सडकको पेटीमा कोही कपडा बेचिरहेका हुन्छन्, कोही पानीपुरी त कोही पत्रपत्रिका । यो कक्षा ३ देखि ६ सम्मका ११ जना विद्यार्थीले अभिनय गरेको नाटक ‘उड्की मुड्की’ को दृश्य हो । 

नाटकमा विद्यार्थीले कक्षाकोठा भित्र गर्ने क्रियाकलापलाई निकै रोचक ढंगबाट प्रस्तुत गरिएको छ । विद्यार्थीका छुकछुके बानि, झिनामसिना झै–झगडा, सानातिना बालसुलभ बदमासीलाई नाटकले विषय बनाएको छ । बालबालिकाका अबोध जिज्ञासा र तिनै जिज्ञासाका जवाफखोज्ने काम नाटकले गरेको छ । 

‘उड्की मुड्की’ बालबालिकाले खेल्ने खेल हो । यसमा शिक्षिकाको बालबालिका प्रतिको माया पनि देख्न सकिन्छ । नाटकमा विद्यार्थीका रमाइला क्रियाकलाप र संवादले हसाउँदा हसाउँदै पनि बीचमा द्वन्दकालीन समयमा जुम्लाकी एकजना महिलाको कथा सुनाउँदा दर्शक भावुक बन्छन् ।

विद्यार्थीहरुले अभिनय गरेकाले सुधार गर्नुपर्ने केही ठाउँ छन् तर शिक्षिकाको भूमिकामा देखिएकी कक्षा ६ की छात्रा उपहार लिम्बु र चकचके विद्यार्थीको भूमिकामा देखिएकी आकृति तिमल्सेनाको अभिनय भने प्रसंशनीय छ । त्यसैगरी, तारा लामा, खुसी हमाल, सामना श्रेष्ठ, संगीत श्रेष्ठ, आर्यन चन्द, अधिश चन्द, समृद्धि दाहाल, भवेश पौडेल, प्रिन्स वाग्लेलगायतले पनि उड्की–मुड्कीमा खुलेरै अभिनय गरेका छन् ।

झण्डै एक घण्टा लामो नाटक हेर्दैजाँदा नाटकको बीचबीचमा आउने रमाइला संवाद, पश्चिमेली लोकभाका देउडा गीतदेखि विभिन्न अंग्रेजी गीत संगीतले बालबालिकादेखि वृद्धवृदा जुनसुकै उमेरका दर्शकलाई पनि मनोरञ्जन प्रदान गराउँछ । 

विद्यार्थीका रमाइला क्रियाकलापमा आधारीत ‘उड्की मुड्की’ नाटकको लेखन तथा निर्देशन सुरेश चन्दले गरेका हुन् । फागुन ५ गतेदेखि मञ्जरी नाटकघरमा मञ्चन भइरहेको यो नाटक फागुन १९ गतेसम्म हरेक दिन ४ः३० बजे मञ्चन हुँदै आइरहेको छ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया