MENU

साहित्य/ कला

ujyaalo forign call inside

जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो

–इन्द्रबहादुर राई 

उपन्यास लेख्नलाई कागज र कलम चाहिन्छ औ चाहिन्छ जीवनको ज्ञान । जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो । उमेर र अनुभवले हामीलाई चिनाउँदै लगेपछि जीवनप्रति र जगतप्रति हाम्रो दृष्टि बन्दछ । त्यै दृष्टि हो उपन्यास लेखाउने । समान चरित्रहरुको एकै कथा पनि पाँच दृष्टिले लेखिए ती वास्तविक अर्थमा पाँच उपन्यास हुन्छन् तर एकै दृष्टिले लेखिएका ती सयका सय ठेलीहरु एउटै उपन्यासका विभेदहरु मात्र हुन् । मेरा अनुभवहरुले जीवन मलाई जस्तो लाग्छ अरुलाई त्यस्तै लाग्दैन । अतएव उपन्यास लेख्ने दृष्टि सबको एक र समान हुँदैन । अनुभव र त्यसमाथिको चिन्तन छोटोमा जसलाई सचेतता भनिन्छ–द्वारा हरेक लेखकले यो दृष्टि बिस्तार–बिस्तार आफ्ना लागि अविष्कार गर्नुपर्छ, सम्मुखतामा ल्याउनुपर्छ । चिन्ताबिनाको साहित्यिक प्रयास रहर स्वाङ मात्र हो, एउटा खेलाँची । 

मैले देखेँ, जीवन चलिरहेछ तर सुव्यवस्थित भई यो ठिक्क–ठिक्क मिलेर चलेको छैन । यो उपन्यासलाई मैले त्यसरी नै मिलाएको छु । मैले जीवनलाई एकाध्येतता वा एक विषयताको रासायनिक शुद्धता तथा एकाग्र प्रगति देखिनँ । प्रेम जम्मै भावहरुको माउ हो, यसलाई चलाएपछि हाम्र भाव–भावनाहरु जागेर सलबलाउँछन् । यसको पछि कुद्नेले पनि तर अनेक बीच–बीचमा अरु काम गर्छन् जुन जीवन बुझ्नलाई उत्तिकै महत्वपूर्ण छन् । जीवनमा यस्तो हुँदो रहेछ भने साहित्यमा अरु किसिम हुनु हुँदैन । 

नचाहिने पात्रहरु उपन्यासमा हुनु हुँदैन भन्छन् तर यस उपन्यासमा त्यस्ता पात्रहरु छन् उपन्यासमा तिनीहरुको आवश्यकता नै नभए पनि, कारण मैले देखेको संसारमा चाहिने मान्छेहरु मात्र छैनन् । जीवनभरि सँगै बसेर पनि हामीलाई कसैले असर पारेन भने त्यो पनि कथा हो, नहुनुको रोचक कथा हो । साहित्यले जीवन र जगतको यथावत अनुकरण गर्छ तर परिष्कृत अनुकरण ठेलीहरुमा लेखिएको सिद्धान्त यही छ । त्यस सिद्धान्तसँगको क्रोध छ यस उपन्यासमा । जीवन र जगतको यथावत्  अनुकरणमा कुनै मूढता वा अपरिष्कृतता हुन सक्तैन । वास्तविकताभन्दा ठूलो साहित्य छैन । विश्वको श्रेष्ठतम कृतिमा तीन घण्टा डुब्नु र त्यसै तीन घण्टा बाँचेर बसिरहनुमा पछिल्लोमा कता हो कता धेरै साहित्य छ । 

अस्तित्वभन्दा ठूलो साहित्य छैन । प्रेमको उपन्यास हुन्छ, प्रेम ‘नभएको’ कथा यसमा छ । भविष्यत  अज्ञात रहेझैँ कथाका त्यान्द्राहरु त्यत्तिकै छन् । 

मलाई मेरा मुख्य पात्रहरु– जनक, भूदेव, एमके, रवि आदिका अविष्कार गर्नमा धेरै महिना लाग्यो । जनक बनाउँदा मैले मेरा धेरै परिचितहरुका गुण–अवगुणको म.स.अ.,म.स.अ. निकालेर बनाएँ । एमके बनाउँदा तीन जना गाल्नुपर्‍याे । खगप्रसादलाई मैले ५४ सालको हिउँदोमा झापादेखि उताको दमक बजारमा चैनपुरे दमाईकहाँ भेटेको थिएँ । उ त्यहाँ त्यै दिन धनकुटा फर्कन लाग्दा झोला सिलाउन आएको थियो, म बाटोमा सबै लुगाफाटा हराएर कमेज सिलाउन पुगेको थिएँ । 

दुवैलाई हतार थियो तर दमाई नै थोते उसको मिसिनै थोत्रो हुँदा अलिकति  हतारसँग छिटो चलायो कि मिसिनको सियोले नसिलाई दुगुर्थ्याे । दिनभरि पर्खेर हामीलाई बात गरिरहनै कर लागेको थियो । आफ्ना पात्रहरुका बारेमा लेखकले लेखेको भन्दा बढ्ता कुरा जानेको हुनुपर्छ र मात्रै उसले थोरैमा पनि विश्वास पार्ने गरी भन्न सक्छ । अर्को कुरा, मन परेको व्यक्तिको मात्र कथा लेख्न सकिँदो रहेछ । 

दार्जीलिङ
१८–२–५८
–इन्द्रबहादुर राईले उपन्यास ‘आज रमिता छ’ मा व्यक्त गरेको विचार । नेपाली साहित्यमा तेस्रो आयाम र लीला लेखन अभियानका प्रणेता राईको मंगलबार साँझ दार्जीलिङमा ९१ वर्षको उमेरमा निधन भएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया