MENU

बातावरण-कृषि

ujyaalo forign call inside

मनाङ र मुस्ताङका लुलु गाईको चितवनमा संरक्षण

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, फागुन २३ – हिमाली क्षेत्र मुस्ताङ र मनाङमा मात्रै पाइने लुलु गईको संरक्षण गर्न चितवनमा अनुसन्धान सुरु गरिएको छ । गाई प्रजातिहरुमध्ये शारीरिक बनावटको हिसाबले लुलु गाई विश्वकै दोश्रो सानो गाईमा पर्दछ ।  

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरल मुस्ताङबाट १० वटा लुलु जातका गाई ल्याएर संरक्षणका लागि अनुसन्धान सुरु गरेको हो । लेकमा मात्रै पाइने लुलु भनिने रैथाने प्रजातिका गाई संकटापन्न अवस्थामा पुगेकाले थप संरक्षणका लागि काम सुरु भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यले बताउनुभयो  । 

गाईका अरु प्रजातिमध्ये अलि सानो कदको हुने यो गाई उपयुक्त आहारा र स्याहारको कमीले संकटमा परेको जानकारी दिँदै डा. आचार्यले हिमाली क्षेत्रमा चरिचरनको अभाव, घाँसपात सजिलै नपाइनाले थप संकटमा पर्दै गएको बताउनुभयो ।

‘लुलु गाईको विषयमा प्रभावकारी अनुसन्धान भएको थिएन’ डा. आचार्यले भन्नुभयो ‘मुस्ताङबाट १० वटा लुलु गाई ल्याएर अनुसन्धान गरिरहेका छौं ।’ यी गाईलाई नयाँ भौगोलिक क्षेत्रको हावापानीमा सहन सक्ने वातावरण बनाउने गरी अनुसन्धान गरिने बताउँदै उहाँले धेरै दुध दिने र यी गाईका बीचमा नश्ल सुधार गरी जुनसुकै हावापानीमा पाल्न सकिने बनाइने बताउनुभयो ।

हिमाली क्षेत्रमा केही वर्षयता चितुवालगायतका वन्यजन्तुले यो गाईलाई सिकार गर्ने क्रम बढेको र त्यो क्षेत्रमा गाईपालनमा लागेकाहरू धमाधम विदेश पलायनसँगै पेशा परिवर्तन गर्ने क्रम बढेकाले रैथाने गाई हराउँदै गएको उहाँले बताउनुभयो ।

यो गाईको जुरो हुँदैन । जातीय शुद्धता भएको लुलु गाईको औसत वयस्क तौल १ सय २५ किलो हुन्छ । दैनिक औसत १ दशमलब ६ लिटर दूध दिने यो गाईले एक बेतमा १ सय ६५ देखि ८ सय लिटरसम्म दूध दिन्छ ।  थोरै शारीरिक तौल भएको गाईले यति दूध दिनु राम्रो भएको डा. आचार्यले बताउनुभयो ।

‘संख्या घट्ने क्रममा रहेको र संरक्षणका दृष्टिले खतरा देखिएकाले यस प्रजातीको गाईको थप वृद्धि गराउन अनुसन्धान सुरु गरेका छौं’ उहाँले भन्नुभयो, ‘शुद्ध नश्ल सुधार गराई विकास गरी यसको संरक्षण गर्छौं ।’ 

खराब एवं कठिन मौसममा कम गुणस्तरका आहारा खाएर वा भोकै पनि जीवन निर्वाह गर्न सक्ने यो गाईको महत्वपूर्ण विशेषता हो । जैविक विविधताको हिसाबमा अत्यन्तै महत्वपूर्ण मानिने यो गाई नेपालमा मात्र पाईने भएकाले यसको उपयोग संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपालमा अछामी, तराई, पहाडी, याक नाक चौरी, लुलु, जर्सी, होल्स्टेइन जातका गाई पाइन्छन् । नेपालमा ७२ लाख ४१ हजार गाई पालिँदै आएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया