MENU

बातावरण-कृषि

ujyaalo forign call inside

चितवनमा ६ सय ३६ प्रजातीका चरा, चरा हेर्न अाउने पर्यटक बढे

राधेश्याम खतिवडा/उज्यालाे । 

चितवन, फागुन २४ – चितवन बाघ, गैंडा हात्ती मात्र होइन चराको पनि गन्तव्य बन्दै गएको छ । विश्वमा रहेका ८ सय ८७ प्रजातीका चरा मध्ये चितवनमा ६ सय ३६ प्रजातीका चरा पाइन्छ । नेपालमा आउने पर्यटकमध्ये ४ प्रतिशत चरा हेर्न मात्र आउने गरेका छन् । 

सौराहामा डुङ्गा, हात्ती र जीप सफारी गरी पर्यटकहरुले चराको अवलोकन गर्ने गरेका छन् । वर्ड एजुकेशन सोसाइटिका पूर्व अध्यक्ष वासु विडारीले पछिल्लो समय चितवनमा चरा अवलोकन गर्न आउने पर्यटकहरुको संख्या बढेको बताउनुभयो । चितवनमा ‘बाघ गैंडा हात्तीसँगै चरा हेर्न आउने पर्यटक पनि बढेका छन् । उहाँले भन्नुभयो ‘चितवन चरा अवलोकनको गन्तव्य बन्दै गएको छ । हिउँदको समयमा नदी, खोला, तालतलैया र सिमसार क्षेत्रमा बसाइँ सरेर आउने चराहरु आउने गर्दछन् । यो समयमा नेपाल बाहिरबाट पनि चराहरु जाडो छल्न आउने गरेका छन् । चराविद विडारीले चितवनमा साइबेरिया, अष्ट्रेलिया, रसियालगायतका मुलुकबाट चराहरू आउने गरेको बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदी, लामी ताल, तमोर ताल, बीसहजारी ताल, कसरा, गोलाघाट, त्रिवेणीलगायतका क्षेत्र चराका लागि ‘गन्तव्य’ बन्दै गएको उहाँले बताउनुभयो । चितवन निकुञ्ज भित्र रहेको लामी ताल वरण्डाभार क्षेत्रको बाटुली ताल चरा अवलोकन गर्न आउने पर्यटकका लागि सबैभन्दा आकर्षक ‘गन्तव्य’ बनेको छ । 

 चीन र बेलायत, हल्याड स्वीडेनबाट चरा अवलोकन गर्ने पर्यटक धेरै आउने गरेका छन् । चराको विषयमा अध्ययन अनुसन्धान गर्ने चराविद्हरु पनि सौराहा आएर लामो समय बसेर जाने गरेका छन् । चरा संरक्षणका लागि उपयुक्त वासस्थानको व्यवस्थापन कमी देखिएको चराविद्हरु बताउछन् । चराका लागि चाहिने बुट्यान, घाँसे मैदान, तालतलैयाको संरक्षण गर्न आवश्यक देखिएको विडारीले बताउनुभयो । 

चितवन निकुञ्ज र आसपासका क्षेत्रमा भएको चरा गणनामा यस वर्ष पानीमा आश्रित ६ प्रजातिका चरा भेटिएका छैनन् ।  अघिल्लो वर्ष देखिएका तर, यसपटक बासस्थान, जलस्रोत प्रदुषण तथा मानव चाप बढ्दै जाँदा चराका लागि प्रतिकूल वातावरण बन्न नसकेकोले हराएको हुनसक्ने विज्ञहरूको बुझाइ छ । 

गएको वर्षमा ५४ प्रजातिका पानीमा रमाउने चरा भेटिएका थिए । यसपटक ४८ प्रजातिका चरा मात्र देखिएका छन् । ६ प्रजातिका चरा नदेखिएको जानकारी दिँदै  बिडारीले हरी हाँस, सिन्दुरे हाँस, फुर्के हाँस, सुइरोपुच्छ्रे हाँस र सुनचोरे हाँसजस्ता पानी चराका प्रजाति यसपटक नभेटिएको बताउनुभयो । बर्ड एजुकेसन सोसाइटीले सरोकार राख्ने विभिन्न संघ–संस्थासँग सहकार्य गरेर पाहुना चराहरू के, कति आउँछन् भन्ने जानकारी लिन हरेक वर्ष जनवरी ६ देखि २१ सम्म नेपालमा पानी चरा गणना गर्दै आएको छ । अघिल्लो वर्ष ६ हजारभन्दा धेरै भेटिएको भए पनि यस वर्ष गणनामा पानी चरा ५ हजार ५ सय ७६ वटा फेला परेका थिए ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया