MENU

अर्थ

ujyaalo forign call inside

चमेलियाबाट दैनिक ६ घण्टा विद्युत उत्पादन गरिँदै

शंकर धामी/उज्यालो । 

दार्चुला, फागुन २३ – दार्चुलाको शैल्यशिखर नगरपालिका – १ बलाँचमा निर्माण गरिएको चमेलिया जलविद्युत आयोजनाले दैनिक ६ घण्टा विद्युत उत्पादन गरिरहेको छ । माघ २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।

बिहान ६ देखि ९ बजेसम्म र बेलुकी ६ देखि ९ बजेसम्म गरी दैनिक ६ घण्टा विद्युत उत्पादन भइरहेको दाहालले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको भारप्रेषण केन्द्रको प्रत्यक्ष निगरानीमा विद्युत उत्पादन कार्य भइरहेको छ ।

बिहान र बेलुकाको समयमा बढी विद्युत खपत हुने भएकाले बिहान र बेलुका ३/३ घण्टा उत्पादन भइरहेको छ । १५/१५ मेगावाटका दुइटा टर्वाइनबाट दैनिक २५ देखि ३० मेगावाट विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख दाहालको भनाइ छ ।

अहिले चमेलिया नदीको पूरै पानी जम्मा गरेर विद्युत उत्पादन भइरहेको छ । विद्युत उत्पादन हुने समयबाहेक अन्य समय नदीमा पानी छोडिएको छैन । बिटुलेस्थित बाँधस्थलमा पानी जम्मा गरी आवश्यक परेको बेला विद्युत उत्पादन भइरहेको छ ।

सुख्खायाम भएकाले नदीमा पानीको सतह निकै कम छ । चमेलियामा अहिले बगिरहेको पानीबाट बढीमा ६–७ मेगावाट मात्र विद्युत उत्पादन हुन सक्छ । तर नदीको पानी बाँधस्थलमा जम्मा गरी आवश्यक भएको बेला पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

चमेलियाको उद्घाटन भयो तर हस्तान्तरण बाँकी

सात नम्बर प्रदेशमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजना चमेलियाको एक महिनाअघि औपचारिक उद्घाटन गरिएको छ । तत्कालीन प्रधानमन्त्री शेरशहादुर देउवाले माघ २७ गते उद्घाटन गर्नुभएको चमेलियाले व्यवसायिक विद्युत उत्पादन पनि थालिसकेको छ । तर जलविद्युत आयोजना निर्माणमा संलग्न चिनियाँ र कोरियाली कम्पनीले आयोजना हस्तान्तरण गर्न बाँकी छ ।

आयोजनामा सिभिल निर्माणमा संलग्न चीनको सीजीजीसी कम्पनी र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यमा संलग्न कोरियाको केएनएचपी कम्पनीले हस्तान्तरण गर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्व रहेको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि दुवै कम्पनीले हस्तान्तरण गर्नुपर्नेछ ।

आधारभूत कार्यहरु सकिएपछि तत्काल विद्युत उत्पादन सुरु गरिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो । केही कागजी प्रक्रिया र सामान्य कार्य मात्र पूरा हुन बाँकी भएकाले तत्काल औपचारिक उद्घाटन मात्र गरिएको उहाँको भनाइ छ ।

अहिले आयोजनास्थल बलाँचमा रहेको पावरहाउस अगाडिको आगन कंक्रिट गर्ने कार्य भइरहेको छ । सिभिलतर्फको यो कार्य चिनियाँ कम्पनीको जिम्मामा छ । यसैगरी पावरहाउसभित्रै इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल कार्यको पनि फिनिसिङ भइरहेको छ ।

पावरहाउस अपरेट गर्नका लागि नयाँ जनशक्तिलाई सिकाउने कार्य समेत भइरहेको आयोजना दाहालले बताउनुभयो । आयोजनाको निर्माणमा संलग्न दुवै कम्पनीहरुले निर्माण कार्य सम्पन्न भएपछि सम्पूर्ण कार्यको प्रगति विवरण प्राधिकरणलाई बुझाउनुपर्ने उहाँको भनाई छ । सबै उपकरण प्रयोगको अवस्थासहितको विवरण प्राधिकरणलाई बुझाएसँगै हस्तान्तरण कार्य सम्पन्न हुनेछ ।

आयोजना निर्माणमा संलग्न कोरियाली कम्पनी केएनएचपीसँगको सम्झौताअनुसार हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यमा आयोजना हस्तान्तरण भएपछि एक वर्षसम्मको अवधिमा कुनै समस्या आए कम्पनी जिम्मेवार हुन्छ । एक वर्षको डिफेक्ट लायबिलिटी पिरियड अर्थात डिएलपी हुने भएकाले यसको गणना हस्तान्तरण भएको दिनदेखि हुने आयोजन प्रमुख अजयकुमार दाहालको भनाई छ ।

आयोजनामा संलग्न कोरियाली कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गर्न अझै एकदेखि डेढ महिनासम्म लाग्ने उहाँले बताउनुभयो । सिभिल निर्माणमा संलग्न चिनियाँ कम्पनीले पनि केही हप्ताभित्रै आफ्नो कार्य पूरा गर्दैछ ।

देउवालाई उद्घाटनको हतारो

तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलियाको उद्घाटन गर्ने अवसर पाएका छन् । गृहक्षेत्र रहेको सात नम्बर प्रदेशमा निर्माण सम्पन्न भएको चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने अवसरलाई देउवाले आफ्नो कार्यकालको अन्तिम समयमा उपयोग गरे ।

चमेलियाको उद्घाटनमा सम्बोधन गर्दै देउवाले चमेलियाको सुरुवाति पनि आफैले गरेको बताएका थिए । नेपालमा आयोजनाको सुरुवाती गर्ने र निर्माण सम्पन्न भएपछि उद्घाटन गर्ने एउटै व्यक्ति आफु भएको दावी समेत देउवाले उद्घाटन कार्यक्रममा गर्नुभएको थियो ।

देउवा नेतृत्वको सरकारको आयु सकिन लागेकाले तत्काल उद्घाटन कार्यक्रम आयोजना गर्न राजनीतिक वृतबाट नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनलाई दबाव आएको बुझाइ धेरैको छ । यद्यपि चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजयकुमार दाहाल आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न भइसकेको र व्यवसायिक उत्पादन सुरु भएकाले तत्काल उदघाटन गरिएको बताउनुहुन्छ । मुलुकमा भइरहेको ऊर्जाको मागलाई सम्बोधन गर्न पनि आयोजना उद्घाटन गरी तत्काल विद्युत उत्पादन थालिएको आयोजना प्रमुख दाहालको भनाई छ ।
  
आयोजनाका कतिपय निर्माण कार्य पूरा नहुँदै हतारोमा उद्घाटन गरिएको स्थानीयवासीको समेत भनाई छ । अहिले पनि आयोजनास्थलमा निर्माण कार्य भइरहेको नेकपा माओवादी केन्द्रका नेता एवं चमेलिया आयोजनास्थल बलाँचका स्थानीयवासी लालवहादुर विश्वकर्माले बताउनुभयो ।

चमेलियाको उद्घाटन गरी राजनीतिक फाइदा लिन र आयोजना निर्माणको श्रेय लिन देउवाले हतार हतारमा उद्घाटन गरेको शैल्यशिखर नगरपालिका - १ का वडाअध्यक्ष भरतवहादुर खडायतले बताउनुभयाे ।

चमेलियाको उद्घाटनका लागि हतार गर्नु राजनीतिक फाइदा लिने र आफुले उद्घाटन गरेको भनेर नाम लेखाउने काम मात्रै भएको नेकपा एमालेका नेता गंगादत्त जोशी बताउनुहुन्छ । चमेलिया उद्घाटनको एक हप्तापछि नयाँ सरकार आएकोले नयाँ सरकारका प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन गर्नुपर्ने उहाँको भनाइ छ । पाँच वर्ष स्थायी सरकार हाँक्ने नेतृत्वले चमेलियाको उद्घाटन गरेको भए स्थानीयका माग पनि तत्काल र प्रभावकारी ढंगले सम्बोधन हुनसक्ने जोशीको भनाइ छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया