MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

फेसबुक नै गर्भपतनको माध्यम

फागुन २४ – एम्फोले ह्वाट्सएपमा अपरिचित नम्बरमा प्रश्न सोधिन् जुन उनले कहिल्यै सोचेकी थिइनन् । 

एम्फोले सीएनएनसँग आफ्नो वास्तविक नाम नखुलाइदिन आग्रह गरिन् । उनलाई थाहा थिएन उनी कोसँग कुरा गर्दैछिन् । उनले फेसबुकमा ‘एबर्सन पिल्स, लेसोथो’ टाइप गर्दा भेटेको नम्बरमै प्रश्न सोधिरहेकी थिइन् । उनले प्रश्न सोध्दै गरेको व्यक्तिले आफू डाक्टर भएको दावी गरेको थियो ।

भ्mण्डै २२ लाख नागरिक भएको लेसोथोलाई चारैतर्फबाट दक्षिण अफ्रिकाले घेरेको छ । यहाँ गर्भपतनलाई अवैधानिक मानिन्छ । यदि जीवन नै खतरामा छ भने मात्रै लेसोथोका महिलालाई गर्भपतन गराउने छुट रहेको छ । लेसोथोमा गर्भपतन गराउने महिलालाई कि त पक्राउ गरिन्छ कि त समुदायबाट नै बहिष्कार गरिन्छ । 

त्यसैले पनि यहाँका महिलाहरु इन्टरनेटको सहारामा पुगेका छन् । २७ वर्षीया एम्फोले नै आफूलाई डाक्टर बताउने र गर्भपतनका चक्कीहरुको दलाली गर्नेहरुको सम्पर्क फेसबुकमा फेला पारेकी थिइन् । फेसबुकमा गर्भपतनसँग सम्बन्धित केही कुरा खोज्ने बित्तिकै दर्जनौँ विज्ञापन देखा पर्नेछन् । फेसबुकमा गर्भवती महिलाका तस्बिरसहित गर्भपतनका चक्कीका विज्ञापन देख्न सकिन्छ । फेसबुकमा देखिने त्यस्ता पोस्टले ‘सुरक्षित गर्भपतनको  सेवा’ दिने दावी गरेका हुन्छन् । सबैको लक्ष्य नै लेसोथोका युवतीहरुलाई गर्भपतनका चक्की बेच्ने रहेको हुन्छ । 

लेसोथोमा फेसबुक नै सर्वाधिक लोकप्रिय रहेको छ । ठूलो संख्यामा फेसबुकमा विज्ञापन गरिएको हुन्छ । केही अन्य साइटहरु पनि यस्ता विज्ञापनका लागि प्रयोग भएको पाइन्छ ।

सीएनएनले यस बारेमा बुझ्न खोज्दा फेसबुक र ह्वाट्सएपले प्रतिक्रिया दिन चाहेनन् ।

सीएनएनले नौ जना युवती (जसले अवैधानिक प्रकारले गर्भतन गराएका थिए) सँग कुरा गरेको थियो । १७ देखि ३० वर्षबीचको उमेर समूहमा ती सबैको कथा उस्तै थियो । सबैले फेसबुकबाट गर्भपतन सेवाका बारेमा थाहा पाएका थिए ।  उनीहरु फेसबुकबाट नै अनलाइनमा आफूलाई डाक्टर बताउनेहरुसँगको सम्पर्कमा पुगेका थिए । सीएनएनसँग कुरा गर्ने सबै युवतीले आफूले गराएको गर्भपतनको प्रक्रिया सुरक्षित नभएको बताएका छन् । सबैले चक्की प्रयोग गरेपछि एकदमै रक्तश्राव भएको र चक्कर लागेको बताएका छन् । कसैले चिकित्सकको सल्लाह लिएनन् । 

लेसोथोका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले गैरकानुनी गर्भपतन देशमा ठूलो समस्याका रुपमा रहेको बताए । उनका अनुसार अस्पतालमा भर्ना हुनेहरुमा धेरै महिला र युवती रहेका छन् । १३ र त्यसभन्दा माथिका युवतीहरु गर्भपतनकै कारण अस्पताल भर्ना हुने गरेका छन् । 

सरकारसँग यसको यकिन तथ्यांक पनि छैन किनकि धेरै महिलाले आफूले गराएको गर्भपतनका बारेका बताउँदैनन् । ‘हामीले अपूरो गर्भपतन गराएमा महिलाहरु अस्पतालमा भर्ना भएको देखेका छौँ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर लिम्फो मैलेले भने, ‘तर विरामीले आफूले गरेको गैरकानुनी र असुरक्षित गर्भपतनका बारेमा नबताउँदा हामीलाई साधारण विरामी हो कि गर्भपतनका कारण विरामी भएको हो भन्ने छुट्टाउनै कठिन भएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता लिम्फोले आफूलाई फेसबुक पेजमा गर्भपतनका विज्ञापन भएको बारेमा जानकारी नभएको बताए । उनले स्थानीय पत्रपत्रिकामा भने गर्भपतनका विज्ञापन भएको थाहा पाएको बताएका छन् । 

यो मेरो जीवनको सबैभन्दा असहज र घृणित दश मिनेट थियो ।

सन् २०१७ को नोभेम्बरमा पाँच महिनापछि एम्फोले गर्भपतन गराएकी थिइन् । राजधानी मासेरुमा रहेको एउटा क्याफेबाहिर सीएनएनसँग कुरा गरिरहँदा उनी कसैले सुनिहाल्छ कि भन्ने कुराले एकदमै डराएकी थिइन् । 

उनी सामाजिक सञ्जाल प्रयोग गरेर गर्भपतनका चक्की मगाउन एकदमै असहज महसुस गरिरहेकी थिइन् । तर उनका केही साथीहरुले आफूहरुले त्यसै गरेको बताएपछि उनी ढुक्क भएकी थिइन् । अनलाइन गर्भपतन सेवा लेसोथोका महिलाका लागि ओपन सेक्रेट हो, छरछिमेकमा होस् वा साथीहरुका बीच होस् गर्भपतनकै बारेमा कानेखुशी हुने गरेको पाइन्छ ।

‘मैले कुनै डाक्टरलाई विश्वास गरिन’, उनले ह्वाट्सएपमा भएको कुराकानी सम्झँदै भनिन्, ‘सबै पैसाका लागि मात्रै काम गरिरहेका थियो जस्तो लाग्यो, उनीहरु चाहन्थे कि तत्कालै गएर म फर्किहालूँ । मसँग अरु कुनै विकल्प पनि त थिएन ।’

ह्वाट्सएपमा डाक्टर भनाउँदा केही व्यक्तिहरुसँगको कुराकानीपछि एम्फोले एक जनालाई भेट्ने निर्णय गरिन् । जुन व्यक्तिसँग अरुसँगभन्दा भेट्नलाई पायक पर्थ्यो । उनले लेडीब्रान्ड शहर जाने सबै बन्दोबस्त मिलाइन्, जुन राजधानी मासेरुबाट ३० मिनेटको ड्राइभिङपछि पुगिन्थ्यो । 

उनले फिजिसियन ठानेको व्यक्तिलाई एउटा खाली कोठमा भेटिन् । विदेशी लवजमा बोल्ने त्यो व्यक्ति अग्लो थियो । जब एम्फो सिंगल बेडमा पल्टिइन्, उ उनीमाथि पल्टियो । त्यहाँ एउटा बाल्टी राखिएको थियो, त्यसैको पर एउटा टेबलमा रिसिप्ट बुक पनि थियो । 

‘उसले मलाई पिल्सहरु दियो तर उसले ती के हुन् भनेन’, एम्फो सम्झिन्छिन्, ‘त्यसपछि उसले जबरजस्ती मेरो योनीमा दुई वटा चक्की घुसार्यो ।’

‘उसले मलाई नआत्तिन भन्यो, उसले मैले गर्भधारण गर्दा कति आनन्द लिएँ भन्ने कुरालाई मजाक बनायो । मलाई एकदमै दुखिरहेको थियो । उ आनन्द लिइरहेको थियो । यो मेरो जीवनैकै सबैभन्दा असहज र घृणित दश मिनेट थियो । 
सबै प्रक्रिया सकेपछि डाक्टरले मूल्य बढायो । पहिले ६७ अमेरिकी डलर भनेकामा उसले एकैपटक १२६ डलर भन्यो । वर्ल्ड इकोनोमिक फोरमका अनुसार लेसोथोमा महिलाहरुको औसत आय प्रतिवर्ष मात्रै २ हजार २ सय ५८ अमेरिकी डलर रहेको छ । यस्तो अवस्थामा धेरै महिलाले गर्भपतनका लागि यत्रो रकम तिर्न सक्ने अवस्था छैन ।  

एम्फोले उसलाई पैसा दिइन् र त्यहाँबाट हिँडिन् । 

तर त्यसले काम गरेन । एम्फो अझै गर्भवती थिइन् । 

उनले फेरि प्रयोग गरिन् । यसपटक भने उनले साथीमार्फत भेटेको व्यक्तिसँग गर्भपतनको चक्की किनिन् । चक्की प्रयोग गरेको केही घण्टापछि उनी ब्वाइफ्रेन्डको बेडमा ब्युँझिइन् । त्यो रगतको स्वीमिङ पूलजस्तै थियो । उनी दिउँसैदेखि बेहोजस्तै थिइन्, त्यसैले उनी आफूले काम गर्ने कलसेन्टरदेखि घरमा नगएर ब्वाइफ्रेन्डको घरमा पुगेकी थिइन् । केही घण्टापछि साँझ ७ बजेतिर रक्तश्राव रोकियो । तर उनको शरीर चिसो थियो । उनी निकै कामेकाले ब्वाइफ्रेन्डले ब्ल्यांकेटले बेरिदियो । 

‘मलाई लाग्छ रगतले २० लिटरको बाल्टी भरिन्थ्यो होला’, एम्फोले भनिन्, ‘केही समय म उभिन खोजेकी भए म त्यहीँ सकिन्थेँ होला । यति धेरै रक्तश्राव न मेरो जीवनमा कहिल्यै भएको थियो न त यति धेरै दुखाई नै ।’

हामी सहयोग गर्न सक्दैनौँ किनकि यो गैरकानुनी छ 


एम्फोले ब्वाइफ्रेन्डलाई अस्पताल जान आग्रह गरे पनि उनी जान सकेनन् । यदि एम्फोलाई अस्पताल लगिएको भए त्यहीँ बाट उनी पक्राउ पर्थिन् । 

अब उनीहरुको आफूले गरेको कामको नतिजाबाट डराइरहेका छन् ।

‘मलाई थाहा छैन म ठिक छु कि नाइँ । मैले अहिलेसम्म डाक्टरलाई देखाएकी छैन । उनीहरुले के भन्लान् म त्यही कुराले डराइरहेकी छु । के हुनेछ म खोक्रो भएको भए ? यदि भविष्यमा मैले बच्चा जन्माउन नसक्ने भएको भए के हुन्छ ?’ एम्फोले भनिन् ।

लेसोथोमा धर्म नै गर्भपतनको प्रमुख बाधकको रुपमा उभिएको छ । ९० प्रतिशत नागरिक क्रिस्चियन रहेका छन् । क्याथोलिक चर्चहरुनै देशको संस्कृतिको रुपमा रहेका छन् । 

सीएनएनले कुरा गरेका सबै युवतीले आफूहरु क्याथोलिकका रुपमा हुर्कँदै गर्दा गर्भपतन गलत हो भन्ने लागेको बताए । ‘जबसम्म तपाईँ आफु पर्नुहुन्न, तपाईँलाई थाहा हुँदैन मान्छे किन यस्तो गर्छन्’, एम्फोले भनिन् । 

गर्भपतन गराउने महिलाका बारेमा लगातार प्रहरीकोमा रिपोर्ट पुगिरहेको हुन्छ । तर धेरैले अवैधानिक रुपमा चलाइएका गर्भपतन सेवा र डाक्टरहरुलाई कारवाही गरिनुपर्ने माग गरेका छन् । 

लेसोथो प्रहरीका प्रवक्ता एस लेसुपी उनीहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउछन् । तर बदमास डाक्टरहरु लुकेर यस्तो काम गरिरहेको उनी बताउँछन् । 

‘हाम्रा अदालत यी विषयमा एकदमै नरम छन्’, लेसुपीले सीएनएनसँग इमेलमा भने, ‘प्राय डाक्टरहरु विदेशी हुन्छन् र भागिहाल्छन् ।’

उनका अनुसार धेरै नाइजेरिया, कंगो, जिम्बावेबाट आउने गरेका छन् । उनले एक जना चिनियाँ डाक्टरलाई पनि चिनेको बताउँछन् । तर उनले सबै विदेशी डाक्टर नभएको पनि बताए । 

‘हामीले गर्न सक्ने भनेको काम नियमित रुपमा क्लिनिक्सहरुमा छापा मार्ने र त्यस्ता अवैधानिक क्लिनिक्सहरुमा आउने पार्टीहरुमा पुग्ने नै हो’ लेसुपीले भने । 

लेसुपीका अनुसार प्रहरीले अहिलेसम्म फेसबुकका माध्यमबाट गर्भपतन सेवा उपलब्ध गराउने कसैलाई पनि समातेको छैन । 

‘हामी उनीहरुलाई समर्थन गर्न सक्दैनौँ । किनकि यो गैरकानुनी छ । हामी पोलिस अफिसर हौँ । हामीले देशको कानुनको संरक्षण गनुपर्छ, त्यसैले कोही युवती वा महिलाले गर्भपतन गराएको पाइएमा हामीले पक्राउ गर्छौँ लेसुपीले भने । 

सीएनएनसँग कुरा गरेका कसैले पनि आफूले जो डाक्टरसँग गर्भपतन गराएका थिए, ती डाक्टरको वैधानिकता पुष्टि गर्न सकेनन् । 

सीएनएन आफैले १५ वर्षीया युवती बनेर एक जना डाक्टर भनाउँदो व्यक्तिलाई सम्पर्क गर्यो । तर सीएनएनले त्यो व्यक्ति डाक्टर भएको प्रमाणित गर्न सकेन । 

ह्वाट्सएपमा गरिएको कुराकानीमा त्यो व्यक्तिले गर्भपतनको चक्कीका लागि ८६ अमेरिकी डलर तिर्नुपर्ने बतायो, उसले यसले नदुखाउने पनि भन्न छुटाएन । 

पाखण्डीपन डरलाग्दो छ 

मासेरुका रेडियो स्टेसनका समाचार बुलेटिनमा असुरक्षित गर्भपतनका कारण महिला तथा युवतीको ज्यान गएको खबर निरन्तर आइरहेको हुन्छ । सीएनएन लेसोथोबाट फर्केको एक हप्तामा १५ वर्षीया विद्यालय पढ्दै गरेकी युवतीको असुरक्षित गर्भपतनका कारण ज्यान गयो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले देशमा गर्भपतले निकै ठूलो समस्या उत्पन्न गरेपछि मन्त्रालय आफैले महिलालाई सुरक्षित गर्भपतनका बारेमा बताउन थालेको बताए । ‘देशमा सुरक्षित गर्भपतन गर्ने व्यवस्था नभए पनि छिमेकी देशमा यस्तो सुविधा भएको र कानुनी रुपमै गर्भपतन गराउन सकिने जानकारी हामीले महिलाहरु गराइरहेका छौँ’, प्रवक्ता मैलेले भने । 

केही महिलाले छिमेकी देशमा गएर  गर्भपतन गराएको पनि स्वीकारे ।

मानव अधिकारकर्मी लिनेखो सिकोनेले  अवस्था सामान्यभन्दा पनि जटिल हुँदै गइरहेको बताइन् । उनी त्यस्ता कथा समुदायको कथा भन्छिन् जहाँ गर्भपतन गरेको भन्दै महिलाहरुलाई भ्रुण फिर्ता लिन दबाब दिइन्छ । 

‘यदि भ्रुण  शौचालयमै छ भने पनि त्यसलाई लिन भनिन्छ र प्रहरी प्रमाणका रुपमा उपस्थित हुन्छ’ सिकोनेले भनिन् । 

स्वास्थ्य मन्त्रालयले सिकानेलाई देशभन्दा बाहिर गएर भए पनि सुरक्षित गर्भपतन गराउन युवतीहरुलाई सल्लाह दिन आग्रह गरेको छ । उनी त्यो पनि गैरकानुनी मान्छिन् । पाखण्डीपन डरलाग्दो छ, उनी भन्छिन् । 

‘उनीहरुलाई थाहा छ गर्भपतन गैरकानुनी छ, तर पनि उनीहरुले युवतीहरुलाई बाहिर गएर भए पनि गर्भपतन गराउन सल्लाह दिएका छन्, हाम्रो आफ्नै कानुन चाहिँ परिवर्तन गर्दैनन्’, उनी भन्छिन् । 

‘उनीरुले लेसोथोका महिलालाई बैंक चोरी गर्न योजना बनाए जस्तै गरी गर्भपतन गर्न सिकाइरहेका छन् ।’

गिरफ्तार हुन सक्ने भयले सधैँ एम्फोलाई पनि सताइरहेको हुन्छ । ‘मैले जे गरेँ, त्यसका लागि मैले जीवनभर एउटा अपराधीका रुपमा बाँच्नु पर्ने अवस्था रहेको छ’, एम्फोले भनिन् ।

–रोजालिन वारेनले युरोपियन जर्नालिज्म सेन्टरको सहयोगमा सीएएनले लैंगिक समानताका लागि सुरु गरेको ‘एज इक्वेल्स’ श्रृङ्खलाका लागि तयार पारेको सामग्रीको अनूदित अंश

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया