MENU

राजनीति

ujyaalo forign call inside

​माओवादीका भाग्यमानी महरा अब सभामुखको भूमिकामा

विष्णु विश्वकर्मा/उज्यालो ।

काठमाडौं, फागुन २५ – माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख बन्नु भएको छ । तर यसको औपचारिक घोषणा शनिबार मात्रै हुनेछ ।

प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर २ बाट विजयी महराको जन्म २०१५ असार १५ मा रोल्पाको लिवाङ ७ धारापानीमा भएको हो ।

स्नातक पास गर्नुभएका महरालाई झण्डै दशक बढीको शिक्षण अनुभव छ । उहाँ यसअघि तीन पटक उपप्रधानमन्त्रीसहित ५ पटक मन्त्री भैसक्नुभएको छ।

२०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री बन्नु भएको थियो । 

२०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा गृहसहित उपप्रधानमन्त्री, २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अर्थसहित उपप्रधानमन्त्री र २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रसहित उपप्रधानमन्त्री गरी तीन पटक उपप्रधानमन्त्री बन्नु भएको हो । 

माओवादी केन्द्र शान्ति प्रक्रियामा आएको ११ बर्षमा महरा तीन पटक उपप्रधानमन्त्री गरी पाँचपटक मन्त्री बन्ने भाग्यमानी नेता हुनुहुन्छ । यस्तो अवसर माओवादीका अरु नेताले बिरलै पाएका छन् । 

प्रचण्डका प्रिय पात्र, राजनीतिक खेलाडी 

महरा तत्कालीन जनयुद्धदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रियपात्र हुनुहुन्छ । प्रचण्डका प्रियपात्र मात्रै नभई पछिल्ला १० वर्षमा उहाँले पार्टीभित्र राजनीतिक खेलाडीका रुपमा पनि भूमिका निर्वाह गर्दै आउनु भएको छ । 

२०५८ सालमा तत्कालीन सरकारसँग वार्ता गर्न प्रचण्डले महरालाई नै पठाउनु भएको थियो । त्यसपछिका वार्तामा भने बाबुराम भट्टराईले महराको ठाउँ लिनु भएको थियो ।  

त्यसपछि लगातारजसो महराले प्रचण्डको दाहिने हातका रुपमा काम गर्दै आउनु भएको छ । पहिलो संविधानसभा चुनावपछि मोहन बैद्यले पार्टी फुटाउँदा पनि महरा प्रचण्डसँगै रहनुभयो । मोहन बैद्यपछि बाबुराम भट्टराईले समेत माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेपछि महरा प्रचण्डको झन् नजिक पुग्नु भएको हो ।

यसबीचमा वर्षमान पुन, जनाद्र्धन शर्मा, शक्ति बस्नेत लगायतका नेता प्रचण्डका वरिपरी बढी रहने भएपनि सत्ता भित्र बाहिर गर्दा महरा नै बढी निर्णायक देखिनु भएको छ । जसका पछाडि महरामाथि प्रचण्डको विश्वास प्रमुख कारण हो । 

विवादका दुई रुप 

पार्टी भित्र र बाहिर स्वच्छ छवी बनाएका महरा पछिल्ला दुई विषयमा बढी विवादिन बन्नुभयो । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री बन्नु अघि माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको थियो । तर अध्यक्ष प्रचण्ड र कांग्रेसका रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि प्रतिष्पर्धामा रहिरहँदा नेकपा एमाले भने तटस्थ बसिदियो । 

एमालेले भोट नदिएपछि प्रचण्ड प्रधानमन्त्री बन्न त पाउनु भएन नै । रामचन्द्र पौडेलले १७ पटकसम्म संसदमा चुनाव लड्दा पनि प्रधानमन्त्री बन्न सक्नु भएन ।

यसबीचमा तत्कालीन माओवादीका विदेश विभाग प्रमुख समेत रहेका महराले चीनसंग सांसद किनबेचका लागि ५० करोड रुपैयाँ माग गरेको ‘टेप रेकर्ड’ सार्वजनिक भयो । यसले लामो समय महरालाई विवादमा तान्यो । 

नेपालको अस्थिर राजनीतिका पछाडि सांसद किनबेच पनि प्रमुख कारण हो भन्दै देश विदेशमा चर्चा भएपछि स्वंयम महरा आफै र चीनले समेत विज्ञप्ती निकालेर टेप रेकर्डको खण्डन गरेका थिए ।

महरा दोश्रो पटक विवादमा आउनुको कारण उहाँ आफैले फुत्काएको बोली हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको अवैध ३३ किलो सुन प्रकरणमा उहाँको पनि संलग्नता रहेको चर्चा चल्यो ।

पोखरामा भएको एक कार्यक्रममा महराले ‘म त सानो भुरा माछा न हुँ’ भनेपछि उहाँमाथि ३३ किलो सुन प्रकरणमा सलंग्न रहेको आरोप लागेको थियो । उहाँमाथि लागेको आरोप पुष्टि नभएपनि भीआइपीहरुकै संलग्नता रहेको कारण ३३ किलो सुन प्रकरणका मुख्य दोषीलाई कारवाही गर्न नसकिएको प्रहरीले जनाएको थियो ।

यी बाहेक समग्रमा महराको राजनीतिक र व्यक्तिगत जीवन भने सफलता उन्मुख नै रह्यो । 

अब सभामुखको भूमिकामा !

सत्ताका माहिर राजनीतिक खेलाडी मानिने महरा अब पाँच वर्षका लागि सभामुखको भूमिकामा रहनु हुनेछ । राज्यको वरियताक्रमको पाँचौं स्थानमा रहने सभामुख पद आफैमा स्वच्छ, न्यायिक, तटस्थ र साझा संस्थागत पद हो ।

महराको सार्वजनिक छवी र व्यक्तित्वलाई ध्यान दिंदै नेपाली कांग्रेसले उम्मेदवारी समेत नदिएर निर्विरोध निर्वाचितको बाटो खुल्ला गरिदियो । कांग्रेसको यो सद्भावलाई ‘धन्यवाद’ भन्दै महराले संविधान कार्यान्वयन र नयाँ कानुन निर्माणका लागि विशेष भूमिका खेल्ने बताउनु भएको छ ।

यसअघि पार्टी अध्यक्ष प्रचण्डका प्रियपात्र बनेर राष्ट्रिय राजनीतिका खेलाडी महरालाई पाँच पाँच वर्षसम्म बोली र व्यवहार दुबैमा विवाद रहित बन्नु मुख्य चुनौती छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया